
बुधपुत्र पुरुरवा पैतृकभूमि ईलावर्त (हालको राजनीतिक भूगोल अनुसार रुसको दक्षिणपश्चिम तथा ईरानको पूर्वी भागदेखि गिलगिट पर्वतको आसपाससम्मको भूभाग)बाट प्रतिष्ठान नगरी (गङ्गायमुनाको सङ्गम–प्रयागराजको आसपास) तिर राजधानी कायम गरिरहन लागे ।
तत्कालीन समयमा त्यस क्षेत्रका सम्राट मानिएका पुरुरवा जति ओजस्वी राजन्य थिए यति नै वेदमन्त्रद्रष्टा ऋषिसमेत मानिन्थे । ऋग्वेदमा उनका नाममा एउटा छुट्टै सूक्त नै देखिएको छ । पछि उनलाई पैतृकभूमि ईलावर्त र पितामह (चन्द्रमा) तथा प्रपितामह (अत्रि)को उपनिवेश अत्रिपत्तन अर्थात् काश्यपसागरको आसपासको भूमि (हालको राजनीतिक भूगोल अनुसार आर्मेनिया तथा अजरवैजान) क्षेत्रको समेत स्वामित्व प्राप्त भएकाले उनको साम्राज्य निकै फैलिएको थियो ।
उनले स्वर्गकी अप्सरा उवर्शीसँग विवाह गरेका थिए । यी उर्वशी तिनै उर्वशी हुन्, जो उरप्रदेश (मेसोपोटामिया अर्थात् इराक) की सुन्दरी थिइन् तर पछि कारणवश स्वर्गप्रदेशको नगरबधुसमेत बन्न पुगेकी थिइन् ।
उर्वशीलाई विवाह गरेपछि उनको तर्फबाट पुरुरवालाई उनी जस्तै ओजस्वी आठपुत्र भएका थिए तर भागवतमा व्यासजीले भने यसको सङ्ख्या छ वटा उल्लेख गरेका छन् । यिनै पुत्रमध्ये जेठा आयुको नहुष र रजि आदि पुत्र भएका थिए, जुन एकसेएक पराक्रमी चक्रवर्ती राजन्यको शक्तिले संयुक्त थिए ।
यीमध्ये नहुष र रजि देवलोक (हालको राजनीतिक भूगोल अनुसार जर्जिया–ककेशस पर्वत शृङ्खलातिरका क्षेत्र)सम्म बेरोकटोक आतेजाते गर्ने क्षमता राख्दथे । यसैबीच आपसी लेनदेन विवादका कारण देव तथा दैत्य–दानवबीच युद्धको दावानल दनकिँने अवस्था सिर्जना भएको थियो ।
देवजाति तथा दैत्य–दानवजातिका बाबु एउटै भए पनि आमाहरू भिन्नभिन्न थिए । शायद यही सौतेनी मामिलाले होला उनीहरूबीच बरोबर युद्ध, झगडा तथा मारामार चलिरहन्थ्यो । फलत: यसअघि उनीहरूले सानाठूला गरी एघार पटकसम्म युद्ध गरिसकेका थिए ।
दानवसम्राट् हिरण्यकशिपुको पालादेखि शुरू भएको युद्धको आगो तारकामय युद्ध (बृहस्पतिपत्नी ताराको विषयलाई लिएर चन्द्रमा र बृहस्पतिबीचको झगडा) सम्म पुग्दानपुग्दै पाँच पटकसम्म दन्किसकेको थियो । यद्यपि हिरण्यकशिपुपुत्र प्रह्लादले केही नरमकरम मिलाई देवासुरबीच स्थायी शान्ति खोज्ने प्रयास नगरेका होइनन् । तथापि नजाने के हुन्थ्यो कुन्नि अलिकति तलमाथि हुने बित्तिकै कुन सड्को युद्धको स्थिति निम्तिन्थ्यो पत्तै हुँदैनथ्यो । उनीहरूको यस्तैयस्तै व्यवहारले गर्दा यतिबेला बाह्रौँ पटकको युद्धको संकेत देखिन थालेको थियो ।
जब युद्ध अवश्यम्भावी हुँदै गयो तब देवहरू पुरुरवापुत्र नहुषसित सहयोग माग्न गए । उता दैत्य–दानवहरू पनि के कम उनीहरू दुई भाइका बीचमा फुट ल्याउने विचार गरी नहुषका भाइ रजिसँग सहयोग माग्न पुगे । तर, रजि थिए कूटनीतिक चातुर्यका निकै धनी । त्यसैले उनले सक्दिनँ भनेर सिधै दैत्य–दानवलाई चिढाउन उपयुक्त देखेनन् र शर्त तेर्स्याउँदै भने, ‘ठीकै छ सहयोग गर्न तत्पर त छु तर युद्ध जितेपछि देवलोकको राजा (इन्द्र) बन्ने अवसर भने मैले पाउनुपर्छ ।’
शर्त सुनेर दैत्य–दानवहरूले झस्किँदै भने, ‘त्यो त सम्भव हुँदैन, किनकि हाम्रा इन्द्र प्रह्लाद हुन् । उनी हुँदाहुँदै उनलाई पन्छाएर अरूलाई देवलोकको राजा घोषित गर्न हाम्रो नैतिकताले दिँदैन । तथापि सत्य के हो भने तपाईंले देवजातिबाट पाउने सम्मानभन्दा बढी सम्मान भने अवश्य पाउनुहुनेछ ।’ त्यसपछि रजि उनीहरूको आग्रह अस्वीकार गरी दाजु नहुषसँगै देवहरूको पक्षमा लागेर युद्ध गर्न लागे ।
युद्ध समाप्त भयो, उनीहरूकै सहयोगको कारण देवजाति विजयी भए तर देवसम्राट् इन्द्र थिए त्यस्तै स्वार्थी र शंकालु व्यक्ति । उनले अनावश्यक शंका गरी त्वष्टापुत्र विश्वरूपको हत्या गराए । फलत: इन्द्रलाई ब्रह्महत्याको दोष लाग्यो र उनी दोषनिवारण निम्ति तपस्या गर्छु भन्दै मानसरोवरतिर लागे । त्यसपछि उनी फर्केर नआउञ्जेका निम्ति भनेर देवहरूले उनै नहुषलाई स्वर्गका राजा घोषित गरे । तर नहुष थिए अलि बढी नै कामुक स्वभावका व्यक्ति । उनले इन्द्रपत्नी इन्द्राणीमाथि आँखा लगाउन लागे, जुन कुरा देवहरूले थाहा पाए र उनलाई ऋषिहरूमार्फत् सर्प बन्ने श्राप दिलाएर गद्दी च्युत गरे । यसबाट नहुषका भाइ रजि निकै रिसाए र आफैं देवलोकमाथि आधिपत्य जमाउन मात्र पुगेनन् देवजातिको प्रतिनिधिमा आफ्नै बन्धुबान्धवहरूलाई नियुक्त गर्न थाले ।
त्यसपछि देवहरू स्वर्ग छाडेर यताउतातिर भौतारिन लागे तर सँधै यसरी चल्नेवाला थिएन । न बस्ने बासको ठेगान थियो न गाँसको । त्यसैले गुरु बृहस्पतिको शरणमा परी मार्गदशनको अनुनय गर्न लागे । फलत: बृहस्पतिले वाद, प्रतिपाद र प्रयोजनले युक्त वेदविरोधी हेतुवाद मिश्रित चार्वाक नामक छुट्टै दार्शनिक सिद्धान्त प्रतिपादन गरी रजिलाई सोहीअनुसार चल्नुपर्ने सल्लाह दिन थाले ।
त्यतिबेला राज्यसत्तामा राजगुरुको सल्लाह अनिवार्य मानिन्थ्यो, जसले गर्दा रजि नचाहँदा नचाहँदै पनि गुरुको सल्लाहमा चल्न बाध्य भए । अन्तत: यसैको कारण मति भ्रष्ट भई रजि र उनका अनुयायीहरू यति बढी अन्टसन्ट काम गर्न लागे कि, जसले देवजाति तथा ऋषिहरू र रजिका बीचमा फाटो ल्याउने बाहेक केही गरेन । यसैका कारण बाह्रौं देवासुर सङ्ग्राम हुन पुग्यो, जुन सङ्ग्रामले रजियुगको समाप्तिका साथै देव-दानवबीच दायद बन्धुबान्धवको सम्बन्ध समाप्त गरी उनीहरूबीच दुई भिन्न जाति निर्माण गर्ने काम गरेको थियो ।