
भारतको राजधानी नयाँ दिल्लीको लाल किल्ला मेट्रो स्टेशन नजिक सोमबार साँझ भएको कार बम विस्फोटले त्रास फैलिएको छ। दिल्ली अग्निशमन सेवाले पुष्टि गरे अनुसार साँझ करिब ६:५५ बजे स्टेशनको गेट नम्बर–१ नजिक पार्क गरिएको कारमा विस्फोट भएको थियो।
विस्फोटपछि आगो तीव्र गतिमा फैलिँदा करिब छवटा गाडी जलेका छन्। दिल्ली अग्निशमन सेवाका अनुसार रिपोर्ट प्राप्त भएपछि तत्काल सातवटा दमकल गाडी घटनास्थलमा पठाइएका थिए। आगो अहिले नियन्त्रणमा आएको बताइएको छ।
सीआरपीएफका डीआईजी किशोर प्रसाद पनि घटनास्थल पुगेका छन्। उनले प्रारम्भिक चरणमै कुनै निष्कर्षमा पुग्न हतार नगर्न आग्रह गर्दै घटनाको विस्तृत अनुसन्धान भइरहेको बताएका छन्।
स्थानीय बासिन्दाले भने धमाकाको तीव्रता अत्यधिक रहेको बताएका छन्। राजधर पाण्डे नामका एक स्थानीयले समाचार एजेन्सी एएनआईसँग भने, “विस्फोट यति ठूलो थियो कि हाम्रो भवन बेस्सरी हल्लियो। आगोका लप्का छतबाटै देखिन्थे।”
अर्का स्थानीय व्यापारी वली उर रहमानले भने, “म दुकानमा थिएँ, अचानक यस्तो ठूलो आवाज आयो कि म तीनचोटि लडेँ। त्यसपछि सबैजना भाग्दै बाहिर निस्कियौं ।”
समाचार एजेन्सी पीटीआईका अनुसार घटनास्थललाई सुरक्षा घेरा हालिएको छ भने एएनआईले केही घाइतेहरूलाई एलएनजेपी अस्पताल पुर्याइएको जनाएको छ।
यसैबीच कांग्रेस प्रवक्ता पवन खेडाले घटनाप्रति दुःख व्यक्त गर्दै सरकारलाई तत्काल र गहन छानबिन गर्न आग्रह गरेका छन्। उनले लेखेका छन्, “लाल किल्ला मेट्रो स्टेशन नजिकको कार विस्फोट अत्यन्त दुःखद छ। मृतकका परिवारसँग हाम्रो समवेदना छ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।”
विस्फोटको वास्तविक कारणबारे अझै केही खुलेको छैन। प्रहरीले घटनास्थल वरपरका सिसीटिभी फुटेज संकलन गरिरहेको र प्रारम्भिक अनुसन्धान अघि बढाइएको जनाएको छ। घटनामा हालसम्म ८ जनाको मृत्यु भएको छ ।