
काठमाडौँ, ६ पुस -हुलाकको केन्द्रीय टिकट भण्डारमा एक अर्ब ८४ करोड ११ लाख ८१ हजार रुपियाँका टिकट थन्किएका छन् । सरकारबाट पटक पटक प्रकाशन भएका एक रुपियाँदेखि पाँच सय रुपियाँ दरसम्मका नौ करोड ९५ लाख ९९ हजार थान मौज्दात टिकटको मूल्य छ ।
यति धेरै स्रोत निष्क्रिय भए पनि हुलाक सेवा अब थला बसेकै हो त भन्ने प्रश्न उठेको छ ।
टिकटको यो अवस्था रहे पनि हुलाकले आम उपभोक्तामा हुलाक मोह मरिसकेको छ भन्ने ठानेको छैन । विद्युतीय सूचना सञ्जालले बजार ओगटिरहेको आजको अवस्थामा हुलाकको प्रयोग पनि सुस्ताएकै हो भन्ने कुरा अधिकारी मान्न तयार छैनन् । हुलाकको अझै औचित्य छ तर सिर्जनशीलता र नयाँ कार्यक्रमहरूको खाँचो रहेको कतिपय जानकारको भनाइ छ ।
केन्द्रीय टिकट भण्डार सुन्धाराबाट फिलाटेलिक ब्युरोले गत आर्थिक वर्षमा दुई करोड ८९ लाख रुपियाँको टिकट खरिद गरेको छ ।
प्रथम दिवसीय हुलाक टिकटको कारोबारमा फिलाटेलिक अग्रस्थानमा छ । केन्द्रीय टिकट भण्डार सुन्धाराका व्यवस्थापक नारायणप्रसाद पौडेलका अनुसार सुन्धारास्थित गोश्वारा हुलाक, ललितपुर, मकवानपुर, पोखरा, चितवन, मोरङ र झापा अत्यधिक हुलाक टिकट प्रयोग गर्ने अग्रपङ्क्तिमा छन् । उहाँका अनुसार हुलाकलाई नयाँ तौरतरिकाबाट पुनर्जागरण गर्न जरुरी रहेको खबर गोरखापत्रमा छ ।