०६ साउन २०८३, बुधबार

दल दर्तापछि हर्क साम्पाङको शैली फेरिएको हो ?

मंसिर १०, २०८२
विराटनगर
दल दर्तापछि हर्क साम्पाङको शैली फेरिएको हो ?

कुनै समय राजनीतिक दललाई ‘क्यान्सर’ र संगठित राजनीतिलाई ‘लुटको धन्दा’को संज्ञा दिँदै सामाजिक सञ्जाल तताउने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको बोली र शैली अहिले केही फेरिएको छ । स्वतन्त्र उम्मेदवार हुँदा र मेयर जितेको शुरूआती चरणमा ‘म एक्लै काफी छु’ भन्ने साम्पाङ निर्वाचन आयोगमा ‘श्रम संस्कृति पार्टी’ दर्ता गराएसँगै केही शान्त भएका हुन् ।

हिजो आलोचकलाई भित्तैमा पुर्‍याउनेगरी शब्दवाण प्रहार गर्ने साम्पाङ आजभोलि भने निकै नापतौल गरेर र संयमित भाषामा मात्र स्टाटस लेख्न थालेका छन् । केही समयअघि मात्रै उनले निरन्तर काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन)विरुद्ध खरो टिप्पणी गर्ने गरेका थिए । तर, पछिल्लो समय उनले बालेनविरुद्ध लेख्न पनि छोडेका छन् ।

उनी अचेल पार्टीका गतिविधि र औपचारिक कार्यक्रमका तस्वीर/भिडियोहरू मात्रै फेसबुकमा हालिरहेका भेटिन्छन् । हिजो एक्लै हुँदा हर्क साम्पाङ सामाजिक सञ्जालमा एउटा ‘अराजक ब्राण्ड’जस्तै थिए । उनको आधिकारिक फेसबुक पेज कुनै जिम्मेवार जनप्रतिनिधिको सूचना पाटी होइन, एउटा खुल्ला रणमैदानजस्तो देखिन्थ्यो । बिहान आँखा नखुल्दैदेखि मध्यरातसम्म, उनले दिनमै ३० देखि ५० वटासम्म स्टाटस लेखेको रेकर्ड छ । आफ्नो आलोचना गर्ने जोकोहीलाई उनले ‘झोले’, ‘भतुवा’, ‘तस्कर’ र ‘देशद्रोही’जस्ता तल्लो स्तरका शब्दावली प्रयोग गरेर टिप्पणी गर्ने गरेका थिए । उनले गीतमार्फत् समेत गाली गर्ने गर्थे ।

दलका नेताहरूको सातो खानु र आफ्नो श्रमदान अभियानलाई नै देशको एक मात्र विकल्प ठान्नु उनको पुरानो शैली थियो । तर, अहिले उनी परिवर्तन भएका छन् । उनको परिवर्तन सामाजिक सञ्जालमा मात्र सीमित छैन । धरानका अन्य जनप्रतिनिधिहरूसँग उनको सम्बन्धमा पनि यू–टर्न हुन थालेको छ । विशेषगरी उपमेयर आइन्द्र बेघा र मेयर साम्पाङको सम्बन्ध कहिले नजिकजस्तो देखिन्थ्यो भने कहिले पानी बाराबारको स्थितिमा पुग्थ्यो । तर, दल दर्तापछि भने उनीहरूको सम्बन्धमा उल्लेख्य सुधार आएको नगरपालिकाकै कर्मचारीहरू बताउँछन् । नगरपालिकाका एक कर्मचारीले भने, ‘पहिला उपमेयरसाबका फाइल मेयरसाबले रोकेर हैरान पार्नुहुन्थ्यो, तर अहिले त्यस्तो छैन । अहिले उपमेयरका कुनै पनि फाइल रोकिएका छैनन् ।’ 

उपमेयर बेघाले पनि पछिल्लो समय मेयर साम्पाङबारे सार्वजनिक टिप्पणी गर्न छोडेका छन् । उनले मेयरसाबबारे अहिले केही टिप्पणी नभएको बताए ।

धरानका स्थानीय बासिन्दाहरू पनि मेयर साम्पाङमा ठूलो रूपान्तरण आएको महसुस गर्न थालेका छन् ।  स्थानीय राजेन्द्र राईका अनुसार उनी पहिलाभन्दा धेरै बदलिएका छन् ।  राई भन्छन्, ‘पार्टीको केन्द्रीय अध्यक्ष नै बनेपछि स्वाभाविक रूपमा आफ्नो आचरण र प्रस्तुतिमा रूपान्तरण त हुनैपर्छ ।  अहिलेको यो शान्त स्वभाव त्यसकै असर हो भन्ने मलाई लाग्छ । अचेल हाम्रो सल्लाह पनि उहाँले ग्रहण गर्न थाल्नुभएको छ ।’ उनले मेयर साम्पाङ पहिलाभन्दा निकै लचिलो र व्यवहारिक भएको आफूले महसुस गरेको बताए ।

पहिला उनको त्यो आक्रामकतामा जनताले एक प्रकारको विद्रोही चेत देख्थे, त्यसैले उनी जे बोल्दा पनि ताली पाउँथे ।  तर, आजभोलि त्यो दृश्य बदलिएको छ । हिजो जसलाई गाली गरेर उनले ‘सेलिब्रेटी क्रेज’ कमाए, आज उनी आफैं त्यही बाटोमा हिँडेका छन् । ‘श्रम संस्कृति पार्टी’को अध्यक्ष भएपछि उनीमाथि धरानको मेयरको मात्र नभई एउटा सिंगो राजनीतिक संगठन हाँक्नुपर्ने प्रमुख जिम्मेवारी थपिएकाले पनि उनी रूपान्तरण हुन बाध्य भएको विश्लेषण गर्न थालिएको छ ।

null

हिजो ‘दल चाहिँदैन’ भन्दै गर्दा उनले आर्जन गरेको लोकप्रियतालाई दाउमा राखेर दल खोल्दा उनीमाथि गम्भीर नैतिक संकट भने आइलागेको धरानकै केही अगुवाहरू बताउछन् ।  

हिजोजस्तो छाडा गालीगलौज गर्दा भोलि आफ्नै पार्टीलाई घाटा हुने र कार्यकर्ता भड्किने डर उनमा पलाएको धरानका स्थानीय बताउँछन् ।

हिजो एक्लै दौडिँदा कसैको परवाह नगर्ने साम्पाङ, आज संगठनको भारी बोक्दा भने लतारिएका छन् ।  उनी अहिले विवादित विषयमा बोल्न छाडेका छन् । आलोचकलाई जवाफ फर्काउन समेत उनले पहिलाजस्तो फर्कान छाडेका छन् । अहिले उनले पार्टीकै गतिविधिबाहेक कुनै पनि विवादित स्टाटस पोस्ट गरेका छैनन् ।

उनको पार्टीमा जोडिनेहरू भने आफ्नै ठाउँमा श्रमदान गर्न थालेका छन् । पार्टीका प्रवक्ता सत्य घले गुरुङका अनुसार भोलिदेखि तीन दिन ताप्लेजुङ तेह्रथुमसहितका जिल्लामा संगठन बनाउन मेयर हर्क साम्पाङ जाँदै छन् ।

salt training

कमेन्ट गर्नुहोस्