०३ असार २०८३, बुधबार

आधुनिक प्रविधिमा रमाउँदै भण्डारी दम्पती

पुस ६, २०७४
आधुनिक प्रविधिमा रमाउँदै भण्डारी दम्पती
तस्वीर: रासस

पोखरा, ६ पुस– विगतमा ढिकी जाँतोमा अनुभव गरेका पोखरा लेखनाथ महानगरपालिका–२१, बांँझीपोखरीका भण्डारी दम्पतीका लागि आधुनिक कुटानी पिसानी मेसिनको प्रयोग यतिखेर दैनिकी बनेको छ । 

सात दशकको उमेर काटिसकेका ७५ वर्षीय रविलाल भण्डारी र जीवनको छ दशक यात्रा पार गर्नुभएकी उनकी श्रीमती इन्द्रकला भण्डारीले एक वर्षअघि रु ३२ हजार मूल्य तिरेर ल्याएको कुटानी पिसानी मेसिन आफ्ना लागि त सहज भएको छ नै छिमेकी पनि त्यसबाट लाभान्वित भएका छन् । 

चार छोरा र दुई छोरीका अभिभावक भण्डारी दम्पती छोरा छोरी सेवा, पेसा र व्यवसायका क्रममा घरभन्दा बाहिर रहेपनि बुढ्यौली जीवनलाई क्रियाशील बनाएर सबैका लागि अनुकरणीय बनेका छन् । “शुरुमा त आफ्नै घरको लागि मात्र भनेर यो धान कुट्ने तथा मकै, कोदो पिस्ने मेसिन किनेका हौँ,” रविलालले भने, “अहिले भने घर वरपरका छिमेकी पनि धान, मकै र कोदो लिएर आउने गरेका छन् ।” 

विगतमा रातको २ बजेदेखि घरमा आवश्यक पर्ने चामल तथा पिठोका लागि ढिकीजाँतोको प्रयोग गर्ने गरेकी इन्द्रकलालाई आधुनिक मेसिनको प्रयोग गर्न पाउँदा अचम्म लागेको छ ।  “मेसिनको प्रयोग नहँुदासम्म घरमा नै कुटानी पिसानी गर्नुपर्ने बाध्यता थियो भने गाउँमा मेसिन आए पछि पनि बोकेर टाढाटाढा पु¥याउनु पथ्र्यो,” उनले भनिन्, “अहिलेका पुस्ताका लागि भने हाम्रो देखाइ र भोगाइ एकादेशको कथा जस्तै भएको छ ।” 

आधुनिक मेसिनले एक घण्टामा तीन मुरीसम्म धान कुट्ने गरेको बताउँदै उनले एक वर्षयता मेसिन ल्याएपछि गाउँका छिमेकी पनि धान मकै लिएर आउने गरेको बताइन् । 

चीनमा निर्मित सो मेसिन आवश्यकताअनुसार जता पनि सार्न सकिने बताउँदै भण्डारी दम्पतीले धान कुटेको प्रतिपाथी रु तीन एवं मकै र कोटो पिसेको प्रतिपाथी रु पाँच लिने गरेका छन् । 

घरको नजिकै धन्सारमा राखिएको उक्त कुटानी पिसानी मेसिनबाट आर्थिकरुपमा फाइदा नभए पनि गाउँलेले समेत सुविधा पाएकोमा इन्द्रकला भने दंग छिन् ।  

ढिकी जाँतोको विकल्पमा मेसिनको प्रयोग गरेका भण्डारी दम्पतीले घरमा खेतबारी जोत्नका लागि हाते ट्र्याक्टर पनि खरिद गरेका छन् । हाते ट्र्याक्टरको प्रयोग भने उनको जेठो छोरा वसन्त भण्डारीले गर्दै आएका छन् । 
पोखराको विरौटामा बाराही नर्सरी सञ्चालन गर्दै आउनु भएका भण्डारीका अनुसार उक्त ट्र्याक्टर जिल्ला कृषि विकास कार्यालयको रु ४० हजार अनुदानसहित रु एक लाख १० हजारमा खरिद गरिएको हो । रासस
 

salt training

कमेन्ट गर्नुहोस्