
काठमाडौं, ६ पुस–मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले भारतको गोवामा आयोजित ‘२१ औं सताब्दीको नेतृत्व’ विषयक सम्मेलनलाई सम्बोधन गर्दै मित्र राष्ट्रबीच रहेको समझदारीलाई समृद्धिका लागि प्रयोग गर्नुपर्ने बताएका छन् ।
इण्डिया फाउण्डेशन नामक सँस्थाको आयोजना र निमन्त्रणामा भारत भ्रमणमा रहेका रेग्मी कार्यक्रममा अतिथि वक्ताको रुपमा सहभागी भएका थिए । रेग्मीले पुस २ गते कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
तीन दिने सम्मेलनको समापन समारोहमा विशिष्ट अतिथिका रुपमा सम्बोधन गर्दै रेग्मीले मानवीय सेवाको भावना जागृत गराई आम जनसमुदायमा सद्भाव र सद्व्यवहारको चेतना र ज्ञान प्रवाह गर्न सकेमा विश्वमा शान्ति र सद्भाव कायम गर्दै प्रगतिको पथमा अघि बढ्न सम्भव हुने विचार व्यक्त गरे ।
साथै वर्तमान समयमा विज्ञानको आश्चर्यजनक चमत्कारसँगै नैतिकता, इमान्दारिता, सदाचार र सद्भाव कायम गर्न सकेमा मात्र विकासको प्रतिफल र सामाजिक सुव्यवस्था कायम गर्न सकिने भन्दै आत्मशुद्धि र शान्तिको प्रवद्र्धन वर्तमान समयमा विशेष महत्वका विषय भएको बताए । विश्वका अति कम विकसित राष्ट्रहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक रुपान्तरणका लागि विकसित राष्ट्रहरुले सहयोग गर्न सके अति कम विकसित राष्ट्रहरुलाई स्तरोन्नती गरी दिगो विकास लक्ष्य हासिल गर्न सकिने विश्वास व्यक्त गरे ।

विश्वका राजनीतिज्ञ, अर्थशास्त्री, सामाजिक अभियन्ता, उद्यमी, सञ्चारकर्मी तथा सरकारी क्षेत्रका ख्यातिप्राप्त बौद्धिक समुदायको उपस्थितमा आयोजना भएको उक्त सम्मेलनमा सम्बोधनकै क्रममा रेग्मीले असल वैचारिक सन्देश प्रवाह गर्न र सहयोग, सहकार्य र सद्भाव अभिवृद्धि गर्न सम्मेलन अत्यन्त महत्वपूर्ण रहेको बताएका थिए ।
साथै, उनले सम्मेलनमा सहभागी मित्रराष्ट्रहरुबीच रही आएकोे असल सम्बन्ध आगामी दिनमा आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासका क्षेत्रमा सहकार्य अभिबृद्धि गर्न लक्षित हुुनुपर्नेमा जोड दिए ।