०४ साउन २०८३, सोमबार

स्थायी सरकारको विश्वासमा पर्यटन उद्योग उत्साहित

स्थायी सरकारको विश्वासमा पर्यटन उद्योग उत्साहित

काठमाडौं, ६ पुस- स्थानीय तह र प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएसँगै पर्यटन क्षेत्रमा उत्साह देखापरेको छ । होटल व्यवसायमा प्रशस्त लगानी गरेका व्यवसायी मुलुकमा राजनीतिक स्थिरता सँगै विदेशी पर्यटकको आगमन बढोस् भन्ने अभिलाषामा छन् ।  होटल एशोसिएसन अफ नेपाल (हान) का अनुसार अहिले होटल क्षेत्रमा मात्रै पाँच खर्बभन्दा बढी लगानी भइसकेको छ । सरकारी विवरणअनुसार अहिले ४५ हजार शय्या पुगेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक एक प्रतिवेदनमा आव २०७३÷७४ अनुसार मुलुकभर होटलमा साना, ठूला गरी ६७ हजार ४८९ शय्या पुगेका छन् । यसबाट वार्षिक २५ लाख पर्यटकलाई धान्न सकिन्छ । 
पर्यटनमा निजी क्षेत्रको लगानी बढिरहेको सन्दर्भमा सरकारकातर्फबाट हवाई सेवा विस्तार, विमानस्थल र सडकको स्तरोन्नति जस्ता काम भइदिए अधिक पर्यटक भित्रने निश्चित छ । 
    
हानका महासचिव विनायक शाह चीन र भारत जोड्ने बाटोघाटोको स्तरोन्नति, त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको गुणात्मक विस्तार तथा निर्माणाधीन भैरहवा अन्तर्रा्ष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थलको निर्माण शीघ्र भएको खण्डमा त्यसले पर्यटन उद्योगलाई मद्दत पुग्ने बताउछन् । 

पर्यटन क्षेत्रका छाता संगठन ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान), प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा नेपाल च्याप्टर), नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल (नाट्टा), होटल एशोसिएसन अफ नेपाल (हान), नेपाल पर्वतारोहण संघलगायत संस्थाले पर्यटनसँग सम्बन्धित राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय गतिविधि सञ्चालन गर्दै आएका छन् । 

निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाउँदै नेपाल पर्यटन बोर्डले पनि प्रवद्र्धनात्मक गतिविधिलाई तीव्रता दिएको छ । बोर्डका प्रमुख कार्यकारी निर्देशक दीपकराज जोशी नयाँ ‘भिजन र मिसन’का साथ बोर्डले बजारीकरणलाई तीव्रता दिएको बताउछन् । 


‘नेपाललाई युनिक एक्सपेरियन्सियल एण्ड लाइफ भ्यालु डेस्टिनेसन’ भन्ने सोचका साथ ‘डिजिटल मार्केटिङ’ लाई प्रभावकारी बनाउने योजनामा बोर्ड लागिपरेको उनले उल्लेख गरे ।  पर्यटनमा निजी क्षेत्रको लगानी बढिरहेको सन्दर्भमा अब राज्यको तर्फबाट पर्यटकीय पूर्वाधार निर्माणमा तीव्रता देओस् भन्ने आशा राखेर बसेका निजी क्षेत्र नेपालमा पर्यटकीय गतिविधि र अन्तर्राष्ट्रियस्तरका ‘इभेन्ट’ आयोजना गरी प्रवद्र्धनात्मक गतिविधि बढाइरहेका छन् । 

नेपालको पर्वतीय र पदयात्रा पर्यटनलाई अन्तर्रा्ष्ट्रिय जगत्मा फैलाउन सक्रिय रहिआएको पाटा नेपाल ‘भिजन फाइभ मिलियन’ भन्ने नाराका साथ प्रवद्र्धनात्मक अभियानमा जुटिरहेको छ ।  पाटाको हालै सम्पन्न ४१औँ वार्षिक साधारणसभाले उक्त नारालाई आत्मसात् गरी राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय पर्यटकीय गतिविधिमार्फत नेपालमा ठूलो संख्यामा विदेशी पर्यटक भित्र्याउने लक्ष्य तय गरेको छ । 

अहिलेसम्मको ठूलो र अन्तर्राष्ट्रियस्तरको पर्यटकीय कार्यक्रम ‘हिमालय ट्राभल मार्ट–२०१७’ आयोजनाबाट हौसिएको पाटाले त्यसको प्रारम्भिक सफलतापछि अबका गतिविधिलाई थप तीव्रता दिने भएको छ । 
पाटाका नवनिर्वाचित अध्यक्ष सुनिल शाक्यले राज्यका तर्फबाट पर्यटकीय पूर्वाधार निर्माण, विमानस्थल र सडक सञ्जालको थप विस्तार गर्ने काम भइदिए निजी क्षेत्र लगानी बढाउन तयार रहेको बताए ।
निजी क्षेत्रले होटल व्यवसायमा खर्बौं रुपैयाँको लगानी गरिसकेको सन्दर्भमा बढी भन्दा बढी विदेशी पर्यटक भित्रिने वातावरण बनाउन सरकार र निजी क्षेत्रले हातेमालो गर्नपर्नेमा उनले जोड दिए ।


टानका अध्यक्ष नवराज दाहालले पदयात्रा र पर्वतीय पर्यटन प्रवद्र्धनका लागि पर्यटन क्षेत्रका सबै संगठनहरु एकताबद्ध ढंगले अघि बढ्नुपर्ने खाँचो रहेकोमा जोड दिए । नेपाल पर्वतारोहण संघ (एनएमए)का अध्यक्ष सन्तवीर लामाले निर्वाचनका बेला जे जस्ता समूह बनाए पनि अबको व्यावसायिक यात्रामा सबै पर्यटकीय संस्था एकजुट हुनुको विकल्प नरहेको बताउछन् । भूकम्प र नाकाबन्दीबाट शिथिल बनेको नेपालको पर्यटन उद्योग पछिल्लो समय तङ्ग्रिन लागेको देखिएको छ । नेपाल भ्रमणमा आउने पर्यटकको आँकडालाई आधार मान्दा त्यसको पुष्टि हुन्छ । सन् २०१७ को वर्ष १० लाख पर्यटक भित्रने अनुमान गरिएको छ । 


यसअघि सन् २०१२ मा सबैभन्दा बढी आठ लाख पर्यटकले नेपाल भ्रमण गरेका थिए । सरकारले सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्