०२ असार २०८३, मंगलबार

बिहीबार दिनभर : भारतीय प्रधानमन्त्रीको बधाइदेखि एमाले–माओवादीको एकता तयारीसम्म

बिहीबार दिनभर : भारतीय प्रधानमन्त्रीको बधाइदेखि एमाले–माओवादीको एकता तयारीसम्म

काठमाडौं, ७ पुस– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका तीन शीर्ष नेतासँग छुट्टाछुट्टै टेलिफोन सम्वाद गरी निर्वाचन सम्पन्न गरेकोमा खुशी व्यक्त गरेका छन् । मोदीले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डसँग कुराकानी गर्दै संविधान कार्यान्वयनका क्रममा स्थानीय निकाय, प्रदेश सभा र प्रतिनिधिसभाको चुनाव सफल रुपमा सम्पन्न भएकोमा तीन नेतालाई टेलिफोन गरेर बधाइ दिए । मोदीले टेलिफोन वार्ताका क्रममा ओली र प्रचण्डलाई नयाँ सरकारलाई स्वागत गर्न आतुर रहेको सुनाए । 

संयोजन समितिको बैठक आज– वाम गठबन्धनमा आवद्ध नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक शुक्रबार बस्ने भएको छ । निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गरेकोले समितिको बैठक बसेर एकता प्रक्रियालाई गति दिन लागिएको हो । दुई वाम दलका शीर्ष नेता सम्मिलित सो समितिले निकट भविष्यमा पार्टी एकता गर्ने विषयमा ठोस योजना अघि सार्ने छ । समितिमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत शीर्ष नेता छन् ।

संवैधानिक जटिलता छैन– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा संवैधानिक जटिलता नरहेको स्पष्ट पारेका छन् । सरकारको नेतृत्व लिने तयारीमा रहेका अध्यक्ष ओलीले नयाँ सरकार गठन प्रक्रिया आफ्नै ढंगले अघि बढ्ने बताए । आफूलाई बधाइदिन बिहीबार बालकोट पुगेकासँग उनले सरकार गठन गर्ने प्रतिनिधिसभाको विजनेस भएकाले त्यसमा पनि दुविधा पाल्न नहुने जिकिर गरे ।

माओवादी अध्यक्ष प्रचण्ड– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा जनताले वाम गठबन्धनलाई स्पष्टरुपमा अनुमोदन गरेको बताएका छन् । नेपाल देशभक्त गणतान्त्रिक मोर्चाले बिहीबार अध्यक्ष प्रचण्डको सम्मानमा आयोजना गरेको कार्यक्रममा उनले भने– “वाम गठबन्धन जनअनुमोदित भएकाले अब जनताको पक्षमा नै काम गर्ने जिम्मेवारी आएको छ ।” पछिल्ला दिनमा राष्ट्रियसभाका सम्बन्धमा निकालिएको विवादलाई संविधान र कानूनको फरक व्याख्याका रुपमा टिप्पणी गर्दै उनले विद्यमान विवादलाई जनमतअनुसार नै समाधान गर्न सकिने स्पष्ट पारे ।

लोडसेडिङ भएको छैन–  नेपाल विद्युत् प्राधिकरणले अहिले देशमा घोषित तथा अघोषित दुवै खालको लोडसेडिङ नभएको बताएको छ । केही दिनयता प्राविधिक कारणले फाट्टफुट्ट बत्ती गएकोमा त्यसलाई गलत अर्थ लगाउँदै सामाजिक सञ्जालमा लोडसेडिङ हुन लागेको भनेर गलत प्रचार गरिएको भन्दै प्राधिकरणले यसमा आपत्ति जनाएको हो । अहिले औद्योगिक ग्राहकलाई दैनिक तीन घण्टाबाहेक अन्य ग्राहकलाई घोषित र अघोषित रुपमा कुनै प्रकारको लोडसेडिङ नगरिएको प्राधिकरणका  कार्यर्कारी निर्देशक कुलमान घिसिङले विज्ञप्तीमार्फत जानकारी गराए ।

सुनुवाइको मिति सर्यो– गत वर्ष उच्च अदालतहरुमा नियुक्त भएका ८० जना न्यायाधीशको नियुक्ति विवादसम्बन्धी मुद्दाको सुनुवाइ पुस २० गतेका लािग सरेको छ । सो मुद्दा न्यायाधीशत्रय ओमप्रकाश मिश्र, वमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको पूर्ण इजलासको पहिलो नम्बरमा राखिएको थियो । दलगत भागबण्डाको आधारमा न्यायाधीश नियुक्ति गरेको भन्दै सर्वोच्चमा मुद्दा दर्ता भएको थियो । 
यस्तै, विशेष अदालतले वैदेशिक रोजगार विभागका निलम्बित महानिर्देशक विश्वराज पाण्डेसँग १० लाख रुपैयाँ धरौटी माग गरेको छ । अदालतका न्यायधीद्वय बाबुराम रेग्मी र प्रमोेदकुमार श्रेष्ठ बैद्यको बिहीबारको संयुक्त इजलासले पाण्डेसहित उक्त मुद्दाका अभियुक्त विभागका निलम्बित शाखा अधिकृत कृतिबल्लव पौडेल र नायव सुब्बा खङ्गबहादुर केसीसँग पनि जनही १० लाख रुपैयाँ धरौटी माग गरेको छ । 


विद्युत् उत्पादन घट्यो–  मुलुककै ठूलो कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनामा विद्युत् उत्पादन घटेको छ । चिसो मौसमसँगै नदीको वहाव घटेका कारण स्याङ्जाको मिर्मीमा रहेको आयोजनाले १४४ मेगावाट उत्पादन दिँदै आएकामा यतिबेला दैनिक ८० मेगावाटमा झरेको छ । बिहान–बेलुकी पानी सञ्चित गरी पूर्णस्तरमा नै विद्युत् उत्पादनको प्रयास भए पनि दिउँसोको उत्पादन ८० मेगावाटमा झरेको छ ।  

शाह र शर्माको निधन– साहित्यकार प्रेमा शाह र संगीतकार चन्द्रराज शर्माको बिहीबार निधन भएको छ । शाहको उपचारका क्रममा अमेरिकाको साल्ट लेक सिटीस्थित इन्टर माउन्टेन अस्पतालमा ७२ वर्षका उमेरमा निधन भएको हो । सङ्गीतकार शर्माको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो  । उनासी वर्षीय शर्माको हृदयाघातका कारण उपचारका क्रममा निधन भएको हो ।

अभिभावकसँग कर उठाउन सुझाव– उच्चस्तरीय शिक्षा आयोगले निजी विद्यालयमा बालबालिका पढाउने अभिभावकसँग अतिरिक्त कर लिनुपर्ने सहित सार्वजनिक शिक्षा सुधारका लागि भावी खाका तयार गरेको छ ।     शिक्षामा बढ्दो निजीकरण तथा व्यापारीकरण रोक्न र सार्वजनिक विद्यालयको गुणस्तर सुधार्न आयोगले निजी विद्यालयप्रति कडा नीति लिएको हो । आयोगको विज्ञ समूहले तयार गरी सार्वजनिक छलफलमा ल्याइएको सो प्रारम्भिक प्रतिवेदनले निजी विद्यालयलाई आगामी १२ वर्षभित्र क्रमिक रुपमा बन्द गराई सामुदायिक विद्यालयलाई निर्विकल्प बनाउने विकल्प पनि अघि सारेको छ ।


टेलिकमको ‘विन्टर अफर’– नेपाल टेलिकमले जाडो मौसमका लागि विभिन्न प्रकारको ‘विन्टर अफर’ ल्याएको छ । कम्पनीले शुक्रबारदेखि लागू हुनेगरी विभिन्न प्रकारका डाटा प्याक र बोनसकारुपमा डाटा स्ट्रिमिङ प्याकसमेत उपलब्ध गराइएको टेलिकमले जनाएको छ । डाटा स्ट्रिमिङ प्याक युट्युब र वाउटाइम एप्समार्फत टिभी हेर्नका लागि प्रयोग गर्न सकिनेछ । जिएसएम प्रिपेड÷पोष्टपेड तथा सिडिएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा विन्टर अल टाइम डाटा प्याक प्रयोग गर्न सकिन्छ । 

सहमती खोजौं– वाम गठबन्धनका नेताहरुले राष्ट्रियसभाको निर्वाचन सम्बन्धी अध्यादेश सहमतीमै अघि बढाउन सरकारसँग आग्रह गरेका छन । वाम गठबन्धनमा आवद्ध एमाले नेता पार्वत गुरुङ र माओवादी केन्द्रका नेता अग्नि सापकोटाले सहमतीमै राष्ट्रिय सभाको निर्वाचन सम्बन्धि अध्यादेश अघि बढाउन सरकारसँग आग्रह गरेका हुन् । रिपोर्टस क्लब नेपालले आयोजना गरेको साक्षतकारमा उनीहरुले यस्तो आग्रह गरेका हुन् । 

अधिनायकवादको खतरा– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री बिमलेन्द्र निधिले चुनावमा वामपन्थी शक्तिहरुको जितले मुलुकमा कम्युनिष्ट अधिनायकवादको खतरा बढेको बताएका छन् । जनकपुरमा भएको कार्यक्रममा निधिले एमाले र माओवादी केन्द्रको चुनावमा हासिल गरेको जित र उनीहरुको पछिल्लो अभिव्यक्तिले मुलुकमा अधिनायकबाद हावी हुनसक्नेतर्फ सचेत गराए । उनले चीनमा दल र मुलुक एउटै भएको सोच रहेको र उनीहरु त्यही आधारमा सम्बन्ध तथा सिद्धान्तहरु विस्तार गर्न थालेको दावी गरे

अण्डामा आत्मनिर्भर– सरकारी घोषणा भएको तीन वर्षपछि नेपाल अण्डामा आत्मनिर्भर भएको छ । सरकारले पशु र पन्छीजन्य पदार्थबाट प्राप्त हुने मासु, अण्डा र दूधमा आत्मनिर्भर हुने योजना सार्वजनिक गरेको थियो । सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासमा उक्त घोषणा सफल भएपछि पशुपालन क्षेत्रमा युवाको सक्रिय सहभागिता रहने अण्डा उत्पादक संघले जनाएको छ । उत्पादनमा झण्डै ४६ प्रतिशतभन्दा बढी उत्पादन गरी नेपाल अण्डा उत्पादनमा आत्मनिर्भर भएको हो । 


विदेशका खवर– दक्षिण कोरियाको जेजनस्थित एक सपिङ मलमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । घटनामा १० जना घाइते भएका छन् । उक्त स्थान कोरियाको राजधानी सिओलबाट १ सय ६८ किलोमिटर दक्षिणमा पर्छ । पार्किङमा राखिएको गाडीबाट आगो सुरु भएको कोरियाको अग्नि नियन्त्रक संस्थाले जनाएको छ । 

खेल खबर– काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग क्रिकेटमा काठमाडौ किङ्स ११ र भैरहवा ग्लाडिएटर्स बीजयी भएका छन् । त्रिवि क्रिकेट मैदान कृर्तिपुरमा बिहीबार भएको खेलमा काठमाडौ किङ्स ११ ले चितवन टाइगर्सलाई ३ विकेटले हराउदै पहिलो जित हासिल गरेको हो । 
यस्तै पहिलो खेलमा भैरहवा ग्लाडिएटर्सले ललितपुर प्यट्रियट्सलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । प्रतियोगिता अन्तर्गत शुक्रबार पोखरा राइनोज र काठमाडौ किङ्स ११ तथा चितवन टाइगर्स र विराटनगर वारियर्सबीच खेल हुनेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्