
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
केही पूर्वमन्त्रीलाई समेत प्रतिवादी बनाएर अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो । सो मुद्दा रुजुको प्रक्रियामा रहेकाले दर्ता भने भइसकेको छैन ।
मुद्दा दर्ता हुने प्रक्रियामा रहेको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले लोकान्तरलाई जानकारी दिए ।
८ अर्ब बिगो दाबीसहित ५ जना पूर्वमन्त्रीलाई प्रतिवादी बनाइएको अख्तियार स्रोतले जानकारी दियो ।
पूर्वमन्त्री डा. रामशरण महत, स्व. पोष्टबहादुर बोगटी (उनको हकमा श्रीमती राममाया बोगटी), रामकुमार श्रेष्ठ, दीपक अमात्य, भीम आचार्यलगायलाई विपक्षी बनाइएको छ ।
नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीसहित क्यानका पदाधिकारीलाई पनि प्रतिवादी बनाइएको अख्तियार स्रोतले जानकारी दियो ।
विघटित प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले पोखरा विमानस्थलमा घोटाला भएको निष्कर्षसहित अनुसन्धान गर्न अख्तियारलाई फाइल पठाएको थियो ।
सहुलियतपूर्ण चिनियाँ ऋण सहयोगमा पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनेको हो ।
तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारको पालामा विमानस्थलको प्रक्रिया शुरू भएको थियो । पछि सुशील कोइराला प्रधानमन्त्री रहेको समयमा गरिएको आर्थिक निर्णयका कारण तत्कालीन अर्थमन्त्री डा. रामशरण महत तानिएका हुन् ।
२०७९ सालको चुनावलगत्तै बनेको सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस १७ गते विमानस्थल उद्घाटन गरेका थिए ।
पढ्नुहोस्, यो पनि :
गलत डिजाइन स्वीकार गरेर निर्माण, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उपादेयतामै प्रश्न