१२ असार २०८३, शुक्रबार

शुक्रबार दिनभर : राष्ट्रपतिको आग्रहदेखि सर्वोच्चको आदेशसम्म

शुक्रबार दिनभर : राष्ट्रपतिको आग्रहदेखि सर्वोच्चको आदेशसम्म

काठमाडौं, ८ पुस– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान, ऐन कानून र लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात् गर्दै वर्तमान गतिरोध अन्त्य गर्न नेपाली काँग्रेससँग आग्रह गरेकी छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको भेटमा प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेपाली कांग्रेसका शीर्ष नेताहरुले राष्ट्रियसभाको अध्यादेश प्रमाणीकरण गरेर अहिलेको जटिलता हटाउन राष्ट्रपति समक्ष अनुरोध गरेका छन्  । राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेशमा दलहरुबीच सहमती बन्न नसकेपछि कांग्रेस नेताहरु राष्ट्रपति कहाँ पुगेका हुन् । 


पाँच दलको बैठक– राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेशका बारेमा छलफल गर्न बसकेको सर्वदलीय बैठक बिना सहमती टुङ्गिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बालुवाटारमा बोलाएको बैठकमा दलहरुले पूर्ववत अडान नछोडेपछि सहमती जुट्न नसकेको हो । 
बैठकपछि कांग्रेस बरिष्ठ रामचन्द्र पौडेलले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राष्ट्रपति समक्ष सरकारले पेश गरेको अध्यादेश प्रमाणिकरण नभएसम्म सहमति नहुने बताए । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सरकारले पहिला सहमती गरेर अध्यादेश राष्ट्रपति समक्ष पठाउनु पर्नेमा पहिला अध्यादेश पठाएर अहिले सहमति खोजेकोले सहमती नभएको बताए ।
बैठकमा एमाले, कांग्रेस, माओवादी, संघीय समाजवादी फोरम, राजपा नेपालका शीर्ष नेताको सहभागिता रहेको थियो ।

एमाले बैठक– नेकपा एमाले स्थायी कमिटीको बैठकले नयाँ सरकार गठनको तयारी र पार्टी एकीकरणसम्बन्धी कामलाई तीव्रता दिँदै यथाशीघ्र छिटो निष्कर्षमा पु¥याउने निर्णय गरेको छ । पार्टी उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटीमा शुक्रबार बसेको बैठकमा निर्वाचनपछि नयाँ सरकार गठन, नेकपा माओवादी केन्द्रसँगको पार्टी एकतालगायतका विषयमा छलफल भएको हो । 
बैठकले ताजा जनादेशअनुरुप नयाँ सरकार गठनका लागि छिटोभन्दा छिटो उपयुक्त वातावरण निर्माण गर्न निर्वाचन आयोग र प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । 

कुन दलको कति सिट– निर्वाचन आयोगले मंसिर १० र २१ गते सम्पन्न भएको निर्वाचनमा प्रदेशसभा समानुपातिकतर्फ दलहरुले प्राप्त गरेको प्रदेशअनुसार सिट बाँडफाँड गरेको छ । आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा शुक्रबार पत्रकार सम्मेलन गर्दै आयोगले दलहरुले प्राप्त गरेको मतको आधारमा सिट वितरण गरेको हो । 
जसअनुसार नेकपा एमालेले ७५, नेपाली कांग्रेसले ७२, माओवादी केन्द्रले ३५, संघीय समाजवादी फोरमले १३, राष्ट्रिय जनता पार्टी नेपालले  १२ सिट पाएका छन् । यसैगरी राप्रपा र विवेकशील साझा पार्टी ३÷३, जनमोर्चाले २ र नयाँ शक्तिले १ सिट पाएका आयोगले जनाएको छ।


आलोपालो प्रणाली– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादीबीच आलोपालो प्रधानमन्त्री बन्ने सैद्धान्तिक सहमति भएको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग अध्यक्ष प्रचण्डले पार्टी एकता गर्न कुनै अप्ठ्यारो नभएको बताए । राष्ट्रियसभा र सरकार गठनबारे पाँच दलमा गम्भीर छलफल भएको तर, सहमति नजुटेको उनको भनाइ छ । 


प्रहरी र म्यादी प्रहरीबीच झडप– कालीकोटमा प्रहरी र म्यादी प्रहरीबीच झडप हुँदा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । म्यादी प्रहरीले पाउने तलब सुविधामा ३ हजार कटौति गरेको भन्दै म्यादी प्रहरी आन्दोलनमा उत्रिएपछि दुवै पक्षबीच झडप भएको हो । 
स्थिती तनावग्रस्त भएपछि नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर सान्नीत्रिवेणी गाउँपालिकाका म्यादी प्रहरी बिवेक ऐडीकोे मृत्यु भएको हो ।
उता, मालपोत कार्यालय सिरहामा बम बिस्फोट हुँदा तीन जना घाइते भएका छन् । शुक्रबार दिउसो विष्फोटमा परी लेखापढी व्यवसायी संघका पवन पासमन, राजकुमार पासमन र रोसन पासमन घाइते भएको जिल्ला प्रहरी कार्यलय सिरहाले जानकारी दिएको छ । बम बिस्फोटको जयकृष्ण गोइत नेतृत्वको सशस्त्र भूमिगत समूह जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले जिम्मा लिएको छ ।


सर्वोच्चको आदेश– तनहुँ क्षेत्र नं. २ को प्रदेशसभा (क) मा पुन मतदान गर्नु पर्ने माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ । कांग्रेस नेता प्रदीप पौडेलले दायर गरेको रिटमा प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीशहरु दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्रशम्शेर जबरा र दीपककुमार कार्कीको संवैधानिक इजलासले कारण देखाउ आदेश जारी गरेको हो । पौडेल वाम गठबन्धनकी उम्मेदवार आशा कोइरालासँग ५ मत अन्तरले पराजित भएपछि रिट दायर भएको हो । 


कोइरालाको माग– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टी केन्द्रीय समितिको बैठक तत्काल बोलाउन माग गरेका छन् । नेपाल प्रेस युनियनले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा. कोइरालाले एक हप्ताभित्र केन्द्रीय समितिको बैठक नबोलाए हस्ताक्षर अभियान संकलन गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन् ।
प्रतिनिधि र प्रदेशसभामा पार्टीले भोगेको पराजयको समिक्षा गर्न, राष्ट्रिसभा गठन विवादमा आधिकारिक धारणा बनाउन र आगामी दिनमा महासमितिको बैठक बसाउन पनि तत्काल केन्द्रीय समिति बैठक बस्नुपर्ने उनले बताए । 


छानबिन समिति– वीरगञ्ज महानगरपालिकाको सुखचैनास्थित सुपर ग्यास उद्योगमा भएको भीषण आगलागी बारे छानबिन गर्न आपूर्ति मन्त्रालयले छ सदस्यीय छानबिन समिति गठन गरेको छ । उद्योगमा बुधबार भीषण आगलागी हुँदा दुईजनाको ज्यान गएको थियो ।
नेपालका प्रचलित कानूनको अधीनमा रही घटनास्थलको स्थलगत अध्ययन, स्थानीय प्रशासन तथा स्थानीय बासिन्दासँग छलफलसमेत गरी सत्यतथ्य पत्ता लगाउने तथा दुर्घटनाको कारण पत्ता लगाई दोषीमाथि कारबाहीको सिफारिस गर्ने र भविष्यमा यस्ता दुर्घटना हुन नदिन अपनाउनुपर्ने सुरक्षाका उपायका बारेमा राय सुझावसहित १५ दिनभित्र प्रतिवेदन पेश गर्न सो समिति गठन गरिएको हो । 


औषधि बिक्रीमा रोक– औषधि व्यवस्था विभागले भारतको श्रीवैद्यनाथ आयुर्वेद भवन प्रालिले उत्पादन गर्ने सात प्रकारका चूर्ण नेपाली बजारमा बिक्रीवितरण गर्न रोक लगाएको छ । विभागको अनुगमन टोलीले आफूले संकलन गरेका औषधिको नमूना परीक्षण गर्दा न्यून गुणस्तरको पाइएपछि ती औषधिको बिक्रीवितरण रोकी बजारबाट तुरुन्त हटाउन निर्देशन दिएको छ । 

खेल खबर– एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेट अन्तर्गत शुक्रबार भएका खेलमा पोखरा राइनोज र विराटनगर वारियर्स विजयी भएका छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको पहिलो खेलमा पोखराले काठमाडौं किङ्स इलाभेनलाई ६ विकेटले पराजित गरेको छ । काठमाडौंले दिएको ९९ रनको लक्ष्य पोखराले खेल सकिन १० बल बाँकी छँदा ४ विकेट गुमाएर भेट्टायो । 
यस्तै दोश्रो खेलमा विराटनगर वारियर्सले चितवन टाइगर्सलाई ७१ रनले हराएको छ । १ सय ७५ रनको लक्ष्य पछ्याएको चितवन टाइगर्सले १८ ओभर २ बलमा सबै १० विकेट गुमाएर १ सय ३ रन मात्रै बनाउन सक्यो । 

salt training

कमेन्ट गर्नुहोस्