जनकपुरधाम, ८ पुस - ३० कार्तिकपछि जनकपुर अञ्चल अस्पतालमा एक सय ९६ जनाले बन्ध्याकरण गरे तर ती सबै महिला हुन्।
आजको अन्नपूर्ण पोस्ट लेख्छ- यही अस्पतालमा गत वर्ष तीन सय ५० जनाले बन्ध्याकरण गरेका थिए, जसमा पुरुषको संख्या तीन मात्रै रहेको परिवार नियोजन शाखाले जनाएको छ।
पुस सुरु भएसँगै धनुषामा परिवार नियोजनको स्थायी उपाय बन्ध्याकरण गराउन स्वास्थ्य संस्था भरिभराउ हुन थालेका छन् तर सबै माहिला मात्रै।
अञ्चल अस्पतालमा दैनिक २० देखि ३० जना बन्ध्याकरण गराउन आउने गरेकोमा पुरुष भने एक जना पनि नआएको परिवार नियोजन शाखाका प्रमुख राजकुमारी यादवले बताइन्।
स्वास्थ्यकर्मी सञ्जय चौधरी महिलाले नै बन्ध्याकरण गर्नुपर्ने सोच बनाएर पुरुष यसबाट पन्छिरहेको आंकलन गरे ।
परिवार नियोजन गर्न नहुने मान्यता राख्ने मुस्लिम समुदायका महिलासमेत मिनिल्यापप्रति आकर्षित छैनन्। गतवर्ष जिल्लाबाट आठ मुस्लिम महिलाले बन्ध्याकरण सेवा लिएका थिए।