
कालीकोट, ८ पुस– प्रहरीसँगको झडपमा म्यादी प्रहरीको मृत्यु भएको घटनाका बिषयमा प्रहरीले छानबिन अघि बढाएको छ । घटना रहस्यमय भएको भन्दै प्रहरीले छानबिन अघि बढाएको हो ।
शुक्रबार दिउँसो भएको झडपमा म्यादी प्रहरी विवेक ऐडीको मृत्यु भएको थियो । प्रहरीले हवाईफायर मात्र गरेको जनाएको छ । तर, प्रहरीकै गोलीबाट ऐडीको मृत्यु भएको स्थानीयले बताएका छन् ।
ऐडीको टाउकाको माथिल्लो भागमा चोट लागेको थियो । ‘प्रहरीले हवाईफायर मात्र गरेको छ, त्यसकारण प्रहरीको गोलीबाट म्यादी प्रहरीको मृत्यु भएको जस्तो देखिदैन, ५ नम्बर प्रदेशका प्रहरी प्रमुख एआईजी रण बहादुर चन्दले भने, ‘गोली चागेको हो कि ढुङगाले लागेर मृत्यु भएको हो पोष्टमार्टम रिपोर्टपछि प्रष्ट हुनेछ ।’
कालीकोटमा म्यादी प्रहरीले ५५ दिनको ५८ हजार तलब तथा राशनभत्ता पाएका थिए । सबैलाई बैंकमार्फत नै दिइएको प्रहरीले जनाएको छ । गलत हल्लाको भरमा केही धेरै तलब माग्दा विवाद भएको बताइएको छ ।
प्रहरीले स्थानीय तहमा म्यादी प्रहरीको मृत्युको अनुसन्धान अघि बढाएको छ भने प्रदेश प्रहरी कार्यालयले प्रहरीको कमजोरीमाथि पनि छानबिन थालेको छ ।