
कालीकोट, ८ पुस– शुक्रवार प्रहरी र म्यादी प्रहरीबीचको दोहरो झडपमा एक म्यादी प्रहरीको मृत्यु भएपछि कालीकोटमा तनाव बढेको छ ।
मृतकको आफन्त र म्यादी प्रहरीले शनिवार पनि जिल्ला प्रहरी कार्यालय कालीकोट अगाडि प्रदर्शन गरेका छन् । म्यादी प्रहरीले शुक्रवार साँझदेखि नै कालीकोट सदरमुकाम मान्मा बजारमा प्रदर्शन गर्दै आएका थिए ।
शनिवार विहानैदेखि स्थानीय, राजनीतिक दलका प्रतिनिधि र म्यादनी प्रहरीले जिल्ला प्रशासन कार्यालय अगाडि पनि प्रदर्शन गरेका छन् । स्थानीयले प्रशासन कार्यालयको गेटमा तोडफोड गर्नुका साथै कुर्सी–टेबुल समेत भाँचेका छन् ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । अश्रुग्यास प्रहार पछि स्थिति थप तनावपूर्ण बनेपछि स्थानीय प्रशासनले शनिवार अपराह्न ४ बजेदेखि कालीकोट सदरमुकाममा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।
प्रशासनले अर्को आदेश नभएसम्मका लागि कालीकोट सदरमुकाम मान्मा बजारमा कर्फ्यू जारी गरेको हो ।
आफूहरुलाई दिइनुपर्ने पारिश्रमिकमा अनियमितता गरिएको भन्दै चुनावी सुरक्षाका लागि खटिएका म्यादी प्रहरीले शुक्रवार जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका थिए ।
प्रहरी र म्यादी प्रहरीबीच केही समय झडप भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन भन्दै केही राउण्ड गोली चलाएको थियो । प्रहरीले चलाएको गोली लागेर म्यादी प्रहरी विवेक ऐडीको मृत्यु भएको थियो ।
उक्त घटनापछि ६ नम्बर प्रदेशका क्षेत्रिय प्रशासक सुरेशकुमार प्रधान कालिकोट आइपुगेका छन् ।