
नेपालगन्ज, ९ पुस– स्थानीय तहले टेण्डर प्रक्रियामा ढिलाइ गरेका कारण सबै स्वास्थ्य चौकीमा औषधि अभाव भएको छ । नेपालगन्ज उपमहानगरले पुनः टेण्डर आह्वान गरेको छ ।
औषधिको मौज्जात सकिँदै गएपछि जिल्ला जनस्वास्थ्य कार्यालयले स्थानीय तहको सिफारिसका आधारमा स्वास्थ्य संस्थालाई भरथेगका लागि औषधि दिँदै आएको जनाएको छ । कार्यालयका अनुसार तीन महिनादेखि जिल्लाभर एलर्जी र रुघाखोकीमा प्रयोग हुने क्लोरफिनामाइनको अभाव भएको छ । त्यस्तै छालाको रोगको निदानका लागि अधिकांश मल्हमहरु सकिएका छन् ।
एमोक्सोसिलिनलगायतका सिपरको अभाव हुँदा ग्रामिण क्षेत्रका बालबालिकालाई निजी अस्पतालमा उपचारका लागि ल्याउनु पर्ने बाध्यता छ । स्वास्थ्य संस्थाले गर्भवती महिलालाई आइरन चक्की कामचलाउ आधारमा वितरण गर्दै आएको जनाएको छ ।
स्थानीय तहले परिषदमा ढिलाइ गर्दा र पछि टेन्डर प्रक्रिया लामो भएका कारण औषधि अभाव देखिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयका स्टोर शाखा प्रमुख वेदेश्वर गौतमका अनुसार अधिकांश एनिटबायोटिकहरु वैकल्पिक रुपमा बिरामीलाई दिन सकिने भए पनि मौसमी रोगको औषधि अधिकांश स्वास्थ्य संस्थामा मौज्जात सकिएको छ। सम्झौता भएपछि निःशुलक अंकित मात्र औषधि खरिद गर्नु पर्ने भएकाले कम्पनीलाई अर्डर दिन र ढुवानी गर्न अझै एक महिना लाग्ने जिल्ला जनस्वास्थ्यले जनाएको छ, कान्तिपुरमा खबर छ ।