१० साउन २०८३, आइतबार
कोशीमा सरकार पुनर्गठनको किचलो

कांग्रेसलाई ‘धम्क्याउन’ मुख्यमन्त्री कार्कीले फाले नेकपा कार्ड !

पुस १०, २०८२
विराटनगर
कांग्रेसलाई ‘धम्क्याउन’ मुख्यमन्त्री कार्कीले फाले नेकपा कार्ड !

कोशी प्रदेश सरकार पुनर्गठनको किचलो बढ्न थालेपछि मुख्यमन्त्री हिक्मत कार्कीले‘नेकपा कार्ड’ फालेका छन् । सत्ता सहयात्री नेपाली कांग्रेसलाई साइजमा ल्याउने रणनीति अनुसार उनले नेकपा कार्ड फ्याँकेका हुन् ।

भ्रष्टाचार र विभिन्न काण्डमा मुछिएका कांग्रेसका मन्त्रीलाई हटाउन पार्टीले अटेर गरेपछि मुख्यमन्त्री कार्कीले नेकपालाई सरकारमा आउन आग्रह गर्दै नयाँ राजनीतिक चाल चालेका छन् ।  

कांग्रेसले मन्त्री फेर्ने विषयमा कुनै ठोस निर्णय नदिएपछि निरीह देखिएका मुख्यमन्त्री कार्कीले अब कांग्रेसी मन्त्रीलाई बोकेर संसद्को सामना गर्न नसकिने निष्कर्ष निकाल्दै नेकपाका नेताहरूलाई प्रस्ताव पठाएको खुलासा भएको छ । 

नेकपाका एक नेताका अनुसार मुख्यमन्त्रीले अहिलेका मन्त्रीबाट सरकार चल्न नसक्ने भन्दै नेकपालाई सत्ता साझेदारीको प्रस्ताव राखेका हुन् ।

नेकपा माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्रीको यो कदमलाई कांग्रेसलाई धम्काउने अस्त्रको संज्ञा दिएका छन् ।  उनले केही नेताहरूसँग सरकारमा जाने प्रस्ताव आएको स्वीकार गरे पनि आफूहरू तत्काल सरकारमा जाने मनस्थितिमा नरहेको स्पष्ट पारेका छन् ।  

आङ्बोले मुख्यमन्त्री आफ्नै सत्तारूढ गठबन्धन र पार्टीभित्रका नेताहरूको अगाडि पूर्णत: निरीह देखिएको र मन्त्रीहरू नै भ्रष्टाचारका मुद्दामा जोडिँदा समेत फेर्न असफल भएको भन्दै आलोचना गरेका छन् ।  मन्त्रीका यस्ता हर्कत मुख्यमन्त्री कार्यालयले नै बाहिर ल्याउने गरेको दाबी गर्दै आङ्बोले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।

यता नेकपा एमालेभित्रैबाट पनि मन्त्री फेर्ने दबाब बढेको छ ।  एमालेका प्रदेश इन्चार्ज शेरधन राईले अब धेरै दिन नपर्खिने र कांग्रेसले मन्त्री फिर्ता नबोलाए मुख्यमन्त्रीले नै कठोर कदम चाल्ने चेतावनी दिइसकेका छन् ।  

तर, कांग्रेसका प्रदेश सभापति उद्धव थापा भने महाधिवेशनको ढाल थापेर मन्त्री फेर्ने कुरालाई टारिरहेका छन् । मुख्यमन्त्री कार्कीले भने बाहिर गठबन्धन नटुट्ने बताए पनि भित्रभित्रै नेकपासहितको सहमतिय सरकारको कार्ड फालेर कांग्रेसलाई पेल्ने रणनीति बनाएका नेताहरू बताउँछन् ।  

मुख्यमन्त्री कार्की भने नेकपालाई फालेको कार्डको विषय गलत भएको दाबी गर्छन् । ‘यो गलत कुरा हो’, उनले भने ‘कांग्रेस-एमालेको गठबन्धन तत्काल टुट्दैन । तर परिस्थतिका कारण नेकपासहितको सरकार पनि बन्न सक्छ ।’  

केन्द्रमा पनि तीन ठूला दल एकठाउँमा उभिन थालेको बताउँदै उनले कोशीमा समेत तीन दलको सरकार भने बन्न सक्ने बताए ।

कांग्रेसका एक राज्य मन्त्रीसहित ४ जना मन्त्री कोशी प्रदेश सरकारमा सहभागी छन्  । दुई जना मन्त्री भने धेरै विवादित छन् । पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल र उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन्द्र सिंह हाङ्गाम कुटपिट तथा सचिवको गाडीको साँचो खोस्ने जस्ता विवादित काण्डमा फसे पनि कांग्रेसले उनीहरूलाई फिर्ता बोलाउन सकेको छैन भने मुख्यमन्त्रीले समेत हटाउन सकेका छैनन् । 

अहिले मन्त्री फेरबदल हुने हल्ला चलेपछि कोशीका केही मन्त्रालयका कर्मचारी भने बहालवाला मन्त्रीले भनेको नटेर्ने अवस्थामा पुगेका छन् । मन्त्री फेरबदल हुन्छ भन्ने हल्लाका कारण केही सरुवाका फाइल समेत अगाडि नबढेको एक मन्त्रालयका कर्मचारीले बताए । 

‘अहिले हामीले सरुवाको कागज अगाडि बढाउँला तर नयाँ मन्त्री आएपछि बदर भइहाल्छ । अनि किन दु:ख गर्ने’, ती कर्मचारीले भने । 

salt training

कमेन्ट गर्नुहोस्