१० साउन २०८३, आइतबार

नेपाल लाइफको २६ औं वार्षिक साधारणसभा सम्पन्न,के के भए निर्णय ?

पुस २०, २०८२
काठमाडौं
नेपाल लाइफको २६ औं वार्षिक साधारणसभा सम्पन्न,के के भए निर्णय ?

जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले २६ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा शनिबार पर्साको वीरगञ्जमा साधारणसभा सम्पन्न भएको हो ।

यस अवसरमा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गरेको आव २०८१/८२  को वार्षिक कार्यप्रगति प्रतिवेदन छलफल गरि पारित गरिएको छ । 

लेखापरीक्षकको प्रतिवेदनसहितको आव २०८१/८२ को वासलात, नाफा–नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणउपर छलफल गरी स्वीकृत गरिएको छ ।

यस सभाले आव २०८२/८३ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरेको छ ।

साधारण सभाले आव २०८१/८२ को वितरणयोग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पूँजी  ९ अर्ब २ करोड ८७ लाख ६३ हजार २०९ को जम्मा २१.०५ प्रतिशतले हुन आउने रकम एक अर्ब ९० करोड ७ लाख ९२ हजार २५५ रूपैयाँ शेयरधनीहरूलाई लाभांशको रूपमा प्रदान गर्ने जसमा १६.०५ प्रतिशत नगद लाभांश (लाभांशको करसहित) र ५ प्रतिशत बोनस शेयर प्रदान गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

साधारणसभाले संस्थापक समूह अर्न्तगत गोविन्द लाल संघई, कमलेश कुमार अग्रवाल र विवेक कुमार अग्रवाललाई निर्विरोध निर्वाचित गरेको छ । साधारणसभापछि शनिबार नै बसेको सञ्चालक समितिको ४०७ औं बैठकले गोविन्द लाल संघईलाई सर्वसम्मतिबाट अध्यक्षको रूपमा चयन गरेको छ ।

अध्यक्ष संघईले जीवन बीमा क्षेत्रमा कम्पनीको व्यावसायिक हिस्सा र गरिमालाई चुनौतीबीच अझै थप उचाइमा पुर्‍याउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्वबीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रिकरण, तालिम एवं अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरि अर्को सुनौलो यात्रातर्फ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । 

कम्पनीले आफ्नो व्यापार र सेवामा अन्तर्राष्ट्रिय व्यावसायिक मापदण्डलाई समेत अवलम्बन गरिरहेको जनाए ।  कम्पनीको निरन्तर विकासका लागि दीर्घकालिन रणनीति निर्माण गर्न, Learning Management System लाई प्रभावकारी बनाउन, ग्राहकलाई थप स्तरीय सेवाको अनुभूति गराउन अटोमेसनको प्रयोगबाट कार्यक्षमता बढाउन कम्पनीलाई डिजिटल रूपमा रूपान्तरण गर्ने कार्य आरम्भ गरिसकिएको बताए ।

साथै, कम्पनीले Risk Management Framework तयार गरी व्यवसायसँग सम्बन्धित जोखिमको समेत उचित व्यवस्थापन गरिरहेको जानकारी गराए । 

अध्यक्ष संघईले निरन्तर सहयोग, संरक्षकत्व र शुभेच्छा प्रदान गर्ने सबै शेयरधनी महानुभाव र कम्पनीका सम्पूर्ण बीमितलाई सञ्चालक समितिको तर्फबाट आभार व्यक्त गरे । 

अर्थ मन्त्रालय, नेपाल बीमा प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सीडीएस एन्ड क्लियरिङ लिमिटेड र अन्य सम्बन्धित निकायबाट प्राप्त निरन्तर सहयोग र मार्ग निर्देशनका लागि कृतज्ञता व्यक्त गरे ।

कम्पनीको लक्ष्य हासिल गर्न निरन्तर कार्य गर्ने कर्मचारी, समस्त अभिकर्ता र कम्पनीको उत्थानप्रति गहन अभिरुचि, नियमित नियमन, बहुमूल्य सुझाव एवं समय प्रदान गर्ने सञ्चालक समितिका सदस्यज्यलाई पनि धन्यवाद ज्ञापन गरे ।

null

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले प्रतिकूल मौसमका बाबजुद पनि उल्लेख्य उपस्थितिका निम्ति सबै शेयरधनीलाई धन्यवाद दिए ।

विषम परिस्थितिकाबीच पनि अग्रस्थान हासिल गर्न कम्पनी सफल भएकोमा हर्षित भएको उनको भनाइ छ । वर्तमान म्याक्रो इकोनोमिक परिस्थितिले गर्दा बीमा व्यवसायको आगामी दिन थप चुनौतीपूर्ण हुने हुँदा सम्पूर्ण सरोकारवाला एक ढिक्का भएर कार्यसम्पादन गर्न आग्रह गरे ।

आर्थिक स्थायित्व नै राष्ट्रको चौतर्फी स्थायित्वको आधारस्तम्भ रहेको र सो स्थायित्व कायम गर्न हामी सबैले आआफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने अवस्था सृजित भएको बताए । 

साधारणसभालाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले  आव २०८१/८२ मा आएका चुनौतीलाई अवसरमा परिणत गरी हासिल गरिएका व्यावसायिक उपलब्धी र भावी योजना बताए ।

देशको अर्थतन्त्र साथै व्यावसायिक क्षेत्र संघर्षरत अवस्थामा रहेको परिस्थितिमा पनि यस कम्पनीले प्राप्त गरेका उपलब्धिका लागि सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गरे ।

आर्थिक स्थिति सहज नभएको अवस्थामा पनि यो लाभांश वितरण गर्न पाउँदा गौरवान्वित महसुस भएको उनको भनाइ छ । 

लगानी विविधिकरणलाई केन्द्रविन्दुमा राख्दै कम्पनी अगाडि बढिरहेको र सोलाई नै मूर्तता प्रदान गर्न विभिन्न कार्य भइरहेको बताए । प्रमुख कार्यकारी अधिकृत पराजुलीले  साधारणसभामा शेयरधनीले राखेको सुझावलाई सकरात्मक रूपमा लिइने बताए । 

२०८२ असोज मसान्तसम्ममा यस कम्पनीको लगानी २५४ अर्ब रूपैयाँ रहेको छ भने जीवन बीमाकोष २४५ अर्ब रूपैयाँ र शेयरधनी कोष १३ अर्ब बढी रहेको छ । कम्पनीले आफ्ना सेवाग्राही तथा ग्राहकका लागि देशभर फैलिएका आफ्ना हाल १ सय ९७ कार्यालय सञ्जालमार्फत जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको जनाएको छ । 

यसका साथसाथै कम्पनीले हालसम्म ३२६ अर्ब रूपैयाँ बीमाशुल्क आर्जन गरेको छ भने १०३ अर्ब जम्मा दाबी भुक्तानी गरेको छ । ग्राहकको हितलाई ध्यानमा राखी कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधासमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता पनि जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्