३१ जेठ २०८३, आइतबार

पश्चिमी सभ्यता पतनको संघारमा पुग्न लागेको हो ?

पश्चिमी सभ्यता पतनको संघारमा पुग्न लागेको हो ?

राजनीतिक अर्थशास्त्री बेन्जामिन फ्राइडम्यानले आधुनिक पश्चिमी समाजलाई साइकलसँग तुलना गर्दै आर्थिक वृद्धिका कारण यसका पांग्राहरू घुमिरहेको बताएका थिए । अगाडि बढ्ने गति ढिलो वा बन्द भयो भने पश्चिमलाई परिभाषित गर्ने लोकतन्त्र, व्यक्तिगत स्वतन्त्रता, सामाजिक सहिष्णुता लगायतका आधारहरू हल्लिन थाल्छन् ।

हाम्रो संसार खराब हुँदै गइरहेको छ । अत्यन्त कम स्रोतसाधनका लागि झगडा भइरहेको र आफ्नो समूहबाहेकका सबैलाई बहिष्कार गर्ने काम चलिरहेको छ । चक्काहरू फेरि गतिमान भएनन् भने हामीहरू पूर्णरूपमा सामाजिक पतनको सामना गर्ने स्थितिमा हुनेछौं ।

यस्ता पतनहरू मानव इतिहासमा धेरैपटक देखिइसकेका छन् र जतिसुकै महान् सभ्यता पनि अन्त्यको जोखिमबाट बच्न सफल छैनन् । वर्तमान अवस्था जतिसुकै राम्रो भएपनि परिस्थिति बदलिन समय लाग्दैन । अहिले मानवता अनिश्चित मार्गमा हिँडिरहेको छ र कहिल्यै नफर्किने विन्दुको नजिक हामी पुगेका छौं ।

भविष्य यस्तै हुन्छ भनेर ठ्याक्कै भन्न त सकिन्न तर गणित, विज्ञान र इतिहासले पश्चिमी समाजहरूको भविष्यका केही संकेत चाहिँ अवश्य दिन्छन् । 

साफा मोतेशराई अमेरिकाको मेरिल्यान्ड विश्वविद्यालयमा सिस्टम्स वैज्ञानिक हुन् । उनले कम्युटर नमूनाहरूको प्रयोग गरेर स्थानीय वा विश्वव्यापी दिगोपना वा पतनका लागि जिम्मेवार संयन्त्रहरूलाई गहिरो गरी बुझ्ने प्रयत्न गर्दैछन् ।

मोतेशराई र उनका सहकर्मीहरूले सन् २०१४ मा प्रकाशन गरेको निष्कर्ष अनुसार यसमा दुईवटा तत्त्व महत्त्वपूर्ण हुन्छन् : वातावरण विनाश र आर्थिक असमानता । जलवायु परिवर्तनले ल्याएको वातावरण विनाशका कारण समाज नै सकिने सम्भावनाका बारेमा त धेरैलाई थाहा छ तर आर्थिक असमानताले पनि समाजलाई पतन गराउँछ भन्ने कुरा चाहिँ मोतेशराईहरूकै लागि पनि आश्चर्यको कुरा भयो । 

आर्थिक असमानताको कुरा गर्दा सम्भ्रान्तहरूले सम्पत्ति र स्रोतमाथि कब्जा जमाएर समाजलाई अस्थिरता र अन्ततोगत्वा पतनतर्फ धकेल्छन् । सबै सम्पत्तिमा कब्जा जमाउने सम्भ्रान्तहरूभन्दा धेरै ठूलो संख्यामा रहेका सर्वसाधारण गरीबका लागि अत्यन्तै थोरै वा पटक्कै केही नहुने स्थिति बनेको छ ।

विडम्बनाको कुरा त तिनै सर्वसाधारणले सम्भ्रान्तका लागि मजदूरी गरेर सहयोग गरिरहेका हुन्छन् । आफूसँग सम्पत्ति कम भएपछि कामदारहरू बिस्तारै हराउँदै जान्छन् अनि श्रमिकको कमीका कारण सम्भ्रान्तहरूको पनि पतन हुन्छ ।

अहिले हामीले देशभित्रै र देशहरूका बीचमा रहेका असमानता देखिरहेका छौं । उदाहरणका लागि शीर्ष १० प्रतिशत आयआर्जन गर्नेहरूले तल्लो तहका ९० प्रतिशतले गर्ने जति हरितगृह ग्यास उत्सर्जन गर्छन् । त्यस्तै संसारको करीब आधा जनसंख्या दिनको ३०० रुपैयाँभन्दा कममा जीवन गुजार्छ । 

यसरी निम्तिने पतनको असर संसारका सबभन्दा गरीब मानिसले पहिला अनुभव गर्नेछन् । जस्तो, सिरियामा केही समयका लागि उच्च अन्न उत्पादन भयो जसका कारण जनसंख्यामा तीव्र वृद्धि भयो । सन् २००० को पहिलो दशकमा सिरियामा कडा सुक्खाको स्थिति आयो ।

मानिसका कारण भएको जलवायु परिवर्तन यसका लागि जिम्मेवार थियो । पानीको अभावले गर्दा कृषि उत्पादन घट्यो । यो संकटका कारण धेरै मानिस त्यसमाथि पनि युवाहरू बेरोजगार, असन्तुष्ट र निराश भए ।

अनि धेरैजना शहरी क्षेत्रतर्फ पलायन भए र त्यहाँ भएका सीमित स्रोतसाधन र सेवाहरूमा कब्जा जमाए । यसले गर्दा पहिलेदेखि नै विद्यमान जातीय तनावहरू झन् बढे र हिंसा तथा द्वन्द्वका लागि ऊर्वर भूमि निर्माण गरे । त्यसमाथि कुशासनका कारण देश सन् २०११ मा गृहयुद्धमा फस्यो र अहिले तीव्र रूपमा पतनोन्मुख छ । सुक्खा चलिरहेको बेलामा नवउदारवादी नीति अपनाएर पानीको सब्सिडी पनि बन्द गरिएको थियो । 


सिरिया जस्तै इतिहासमा अन्य समाजको पतनका लागि एउटा मात्र नभई अनेकौं तत्त्वले योगदान गरेको क्यानाडास्थित बालसिल्ली स्कूल अफ इन्टरनेसनल अफेयर्समा ग्लोबल सिस्टम्स प्रमुख टमस होमर–डिक्सन बताउँछन् । उनका अनुसार यी शक्तिहरू बिस्तारै बढ्दै जान्छन् र एक्कासि विस्फोट हुन्छन् । समाजलाई नियन्त्रणमा राख्ने संयन्त्रहरूलाई पनि यिनीहरूले ‘ओभरलोड’ गर्छन् ।

सिरियाको मुद्दा आफ्नो ठाउँमा छँदैछ तर होमर–डिक्सनका अनुसार हामी ‘डेन्जर जोन’मा प्रवेश गरिरहेको संकेत दिने गरी संसारमा अनपेक्षित परिवर्तनहरू भइरहेका छन्, जस्तै सन् २००८ को आर्थिक मन्दी, आईएसआईएसको उदय, ब्रेक्सिट र डोनाल्ड ट्रम्पको विजय ।

पतनका लागि आप्रवासनको पनि ठूलो भूमिका रहने होमर–डिक्सन बताउँछन् । गरीब देशहरू द्वन्द्व र प्राकृतिक विपत्तिका कारण छिन्नभिन्न हुन थालेपछि ठूलो संख्यामा आप्रवासीहरू स्थिर राज्यतर्फ पलायन हुन्छन् । पश्चिमी समाजले आप्रवासनमा कडाइ र प्रतिबन्ध समेत लगाउनेछन् अनि अर्बौं डलर पर्खाल बनाउन र सीमा सुरक्षाका लागि खर्च गर्नेछन् । 

त्यसमाथि अहिले नै जोखिमको स्थितिमा रहेका पश्चिमी मुलुकमा धनी र गरीबबीचको खाडल झन् गहिरिँदै जानेछ र समाज भित्रभित्रै थप अस्थिर हुनेछ ।

‘सन् २०५० सम्ममा अमेरिका र बेलायत लगायतका देशमा दुई वर्ग हुनेछन् । सानो संख्याका सम्भ्रान्तले राम्रो जीवन बिताउँछन् भने बहुसंख्यक मानिसको जीवन खराब हुनेछ ।’

अमेरिका, बेलायत र अन्यत्र मानिसहरू जति असन्तुष्ट र त्रसित हुन्छन्, त्यति नै बढी उनीहरू आफ्नो समूहको पहिचानप्रति संवेदनशील हुन्छन् । आफ्नो धर्म, जाति र राष्ट्रियतालाई उनीहरू बढी महत्त्व दिन्छन् । 

आफ्नो समाज बिस्तारै पतन हुँदै गइरहेको कुरालाई उनीहरू स्वीकार गर्दैनन् र सबै समस्याको जड बाहिरका मानिस हुन् भनी आरोप लगाउँछन् । यसले घृणालाई जन्म दिन्छ । ‘आम हिंसाका लागि मनोवैज्ञानिक र सामाजिक पूर्वाधारहरू तयार भइरहेका छन्,’ होमर-डिक्सन भन्छन् । स्थानीय रूपमा हिंसा भड्किएपछि वा अर्को देश वा समूहले आक्रमण गर्ने सोच बनाउँछ अनि पतन रोक्न गाह्रो हुनेछ ।

अफ्रिकासँग निकटता र मध्यपूर्वसँग जमिन जोडिएको युरोपले यो दबाब पहिले महसूस गर्नेछ। अमेरिकाले चाहिँ महासागरहरूले घेरिएका कारण पतनबाट जोगिन समय लिन सक्छ । 

तर यति हुँदाहुँदै पश्चिमी समाजहरूले हिंस्रक र नाटकीय अन्त्य नबेहोर्न सक्छन् । कुनै सभ्यताहरू त्यत्तिकै बिस्तारै अस्तित्वबाट हराएर जान्छन् । बेलायती साम्राज्य सन् १९१८ देखि अन्त्यको यो मार्गमा हिँडिरहेको छ र पश्चिमका अन्य देश पनि यही बाटो हिँड्ने सम्भावना छ । समय बित्दै जाँदा पश्चिमी मुलुकहरू अर्थहीन हुन पुग्नेछन् र अहिले उनीहरूले अपनाएका मूल्यमान्यताबाट पनि हट्दै जानेछन् । 


नर्वेजियन बिजिनेस स्कूलमा जलवायु रणनीतिका प्राध्यापक योर्गेन –यान्डर्सका अनुसार, ‘पश्चिमी मुलुकहरू पतन हुने छैनन् तर काम सहजै गर्ने र मित्रवत् रूपमा रहेको पश्चिमी समाजको अस्तित्व चाहिँ विलीन हुनेछ किनकि असमानता विस्फोट हुन लागेको छ । अब लोकतान्त्रिक उदारवादी समाज असफल हुनेछ भने चीन जस्ता बलिया सरकारहरू विजयी हुनेछन् ।’

तर पश्चिमको समाज पूरै ध्वस्त भइसकेको छैन । तर्क र विज्ञान प्रयोग गरेर निर्णय लिइयो अनि असाधारण नेतृत्व तथा सदिच्छा भयो भने मानव समाजले हित र विकासका माथिल्ला स्तरलाई छुन सक्ने होमर–डिक्सन बताउँछन् ।

हाउ वेस्टर्न सिभिलाइजेसन कुड कोल्याप्सको भावानुवाद अनुवादक : विन्देश दहाल

salt training

कमेन्ट गर्नुहोस्