
काठमाडौं, ११ पुस - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल राजनीतिका ‘हट केक’ हुन् । दस वर्षे सशस्त्र द्वन्द्व, शान्तिप्रक्रियादेखि अहिलेसम्मको देशको राजनीतिमा अग्रणी भूमिका निर्वाह गर्दै आएका दाहालको दैनिकी अत्यन्त व्यस्त छ । छोरा प्रकाशको कुशल व्यवस्थापनले उनको व्यस्त दैनिकी सहज बनाएको थियो । तर प्रकाशको निधनपछि अहिले उनको सचिवालयको सहज व्यवस्थापन चुनौतीपूर्ण भएको छ । प्रकाशको ‘अब्बल’ व्यवस्थापनमा उनी निस्फिक्री र ढुक्क थिए, अन्नपूर्ण पोस्टमा खबर छ ।
दाहालले प्रकाशको अभावमा आफ्नो सचिवालय हेर्ने गरी नयाँ व्यक्तिलाई नियुक्ति गर्ने सोचेका छन् तर त्यसको टुंगो लगाइसकेका छैनन् । खुमलटार स्रोतका अनुसार उनले राजनीतिक घटनाक्रम केही सहजतामा चल्नेबित्तिकै सचिवालय व्यवस्थित गर्ने योजना बनाएका छन् । पहिलो घेरा दाहालले अहिले पार्टीभित्र सबैभन्दा बढी कृष्णबहादुर महराको विश्वास गर्छन् । पोस्टबहादुर बोगटीको निधनपछि उनले आफ्ना विश्वासपात्रका रूपमा महरालाई लिन थालेका हुन् ।
दाहालले आफूले लिने नयाँ स्टेपपछि त्यसलाई व्यवहारतः कार्यान्वयनमा लैजानका लागि भने वर्षमान पुनलाई सम्झने गर्छन् । प्रायःजसो पार्टी निर्णय वा दलीय सहमतिलाई कार्यान्वयनमा लैजानका लागि बनाइने ‘कार्यदल’ मा दाहालले वर्षमानलाई समेट्न छुटाउँदैनन् । माओवादी पार्टी एउटै हुँदासम्म दाहालको पहिलो घेराभित्रै पर्थे, रामबहादुर थापा पनि । तर बीचको केही वर्ष थापा पार्टी विभाजनमा गएपछि उनको ठाउँ ‘रिप्लेस’ गर्न आइपुगे- नारायणकाजी श्रेष्ठ ।अहिले फेरि थापासमेत एकै पार्टीमा रहेपछि दाहालले थापा र श्रेष्ठ दुवैलाई औपचारिक संवादलगायत कार्यक्रममा सँगसँगै अगाडि बढाउन थालेका छन् ।
दाहालका प्रमुख स्वकीय सचिवका रूपमा जोगबहादुर महराले काम गरिरहेका छन् । उनी दाहाल जता पुग्छन्, सँगसँगै हुन्छन् । अहिले प्रकाशको अभावमा दाहालको सम्पूर्ण दैनिक कामको व्यवस्थापन मिलाउने उनको भूमिका बढेको छ । दाहालको आफ्नै परिवारभित्र भाइ नारायण, छोरी रेणु र ज्वाईंहरू अर्जुन पाठक तथा सागर केसी पनि भेटघाटलगायतका कार्यक्रमको व्यवस्थापनमा कुनै न कुनै रूपमा जुटिरहेकै हुन्छन् ।
दाहालको दोस्रो घेरामा हरिबोल गजुरेल, जर्नादन शर्मा, अग्नि सापकोटा, चक्रपाणि खनाल, शक्ति बस्नेत, पम्फा भुसाललगायत नेता छन् ।
सुरक्षा सहयोगीका रूपमा सन्तु दराई, सरकारी तर्फबाट सुरक्षाका रुपमा दानबहादुर मल्ल, र प्रेससँगको कोअर्डिनेसनमा मनहरि तिमल्सिना भूमिका खेल्छन् । त्यस्तै कुमार विश्वकर्मा र सञ्जिवलगायत अति विश्वासिला सहयोगी पनि छन् ।