२८ जेठ २०८३, बिहीबार
कांग्रेसमा विभाजन

देउवाको हठले कांग्रेसमा निम्तिएको दोस्रो विग्रह र गगनको आगामी यात्रा

‘गगनसँग जनतामा जाने एजेन्डा, देउवासँग छैन मुख देखाउने बहाना’
पुस ३०, २०८२
काठमाडौं
देउवाको हठले कांग्रेसमा निम्तिएको दोस्रो विग्रह र गगनको आगामी यात्रा

नेपाली कांग्रेसको १२ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएपछि सुशील कोइरालाले भनेका थिए– देउवाको हातमा गए पार्टी सग्लो रहन्न । २०६७ असोज ६ गते कांग्रेस सभापति निर्वाचित भएपछि पनि देउवाप्रति सुशीलको शंका मेटिएको थिएन ।

गिरिजाप्रसाद कोइरालाको शब्द सापटी लिँदै सुशीलले भन्ने गरेका थिए– कांग्रेसविरुद्ध ग्र्यान्ड डिजाइन छ । २०६४ सालमा देउवा मूलधारमा आइसकेपछि पनि २०५९ सालमा कांग्रेस विभाजनको डोब मेटिएको थिएन ।

सुशील कोइरालाले १५ वर्षअघि गरेको भविष्यवाणी २०८२ सालमा प्रमाणित भयो । देउवाकै हठका कारण देशको अग्रणी लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस विभाजित बन्न पुग्यो । कांग्रेस विभाजनका बहुआयामिक कारण छन्, क्रमश: प्रकट हुँदै जानेछन् ।

कांग्रेसमा यसपटक देखिएको संकटलाई यसअघिको विभाजन वा अन्य दलको विभाजनसँग जोड्न मिल्दैछ । कांग्रेस विभाजनको यसपटकको परिस्थिति विगतको भन्दा यसकारण भिन्न हो कि– यो विशेष महाधिवेशन हो ।

भदौ २३–२४ मा उत्पन्न परिस्थितिपछि पार्टी रूपान्तरणका लागि बहुमत (५४ प्रतिशत) महाधिवेशन प्रतिनिधिले माग गरेपछि ३ महिनाभित्र विशेष महाधिवेशन बोलाउनु बाध्यकारी थियो ।

सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतले विशेष महाधिवेशन बोलाउन इन्कार गरेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बोलाए ।

विशेष महाधिवेशन उद्घाटनको दिनसम्म पनि सभापति देउवा टसकोमस भएनन् । जब महाधिवेशन नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियामा गयो, तब देउवा ब्यूँझिए । जति बेला देउवा ब्यूँझिए त्यति बेलासम्म यसै पनि ढिलो भइसकेको थियो, त्यसैमाथि उनको हठले काम गर्‍यो ।

null

कांग्रेस विवादको निरुपण अब निर्वाचन आयोग र अदालतले गर्नेछन् । कांग्रेसको देउवा समूहले सरकारी कार्यालय बन्द हुने बेला गगन विश्वलाई कारबाहीको घोषणा गर्‍यो ।

कारबाही गर्नुअघि नै पत्र बनाएर निर्वाचन आयोगमा पठाइएको थियो । गगन–विश्वलाई कारबाहीको पत्र बोकेर निर्वाचन जाने सिखण्डी बनेका छन्, बद्री पाण्डे ।

आफूहरूलाई कारबाही गरिसकेपछि बुधबार भृकुटीमण्डपबाट गगनले भनेका छन्– ‘सधैँभरी सेटिङ चल्दैन, निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिन्छ । कांग्रेस यहीँ छ, रूख यहीँ छ, झण्डा यहीँ छ ।’

गगन–विश्वसँग छन् एजेन्डा

कांग्रेस विभाजन भएपछि कुन समूहले आधिकारिकता पाउला ? बल निर्वाचन आयोगको कोटमा पुगेको छ । निर्वाचन आयोगले निर्णय दिन नसके यो विवाद सर्वोच्च अदालतबाट निरूपण होला । २०५९ सालमा देउवाले पहिलोपटक पार्टी विभाजन गरेपछिको विवाद सर्वोच्चबाट निरूपण भएको थियो ।

संविधानविद्हरूले खुलेर भनेका छन्, कांग्रेसको यो विशेष महाधिवेशनले गरेको निर्णय वैध हुन्छ । उनीहरूको तर्क छ– ‘पार्टीको सर्वोच्च निकाय महाधिवेशन हो, तिनै प्रतिनिधिले नीति र नेतृत्व दुवै बदल्न सक्छन् ।’

पार्टीको वैधता जसले पाए पनि गगन–विश्वसँग जनतामा जान सक्ने एजेन्डा छ । देशको समस्या समाधान गर्न सक्ने रोडम्याप छ । र, सबैभन्दा ठूलो कुरा उनीहरूसँग जनताको विश्वासको पुँजी छ ।

null

आफूहरूलाई कारबाही गरिएपछि बन्दशत्रमा बोल्दै विश्वप्रकाश शर्माले भनेका थिए– ‘कांग्रेसको नेतृत्व गर्न सक्ने र देशलाई बदल्न सक्ने दह्रो मान्छे गगन थापा हो ।’

गगन–विश्वका लागि एउटै चुनौती छ– प्रतिनिधिलाई होल्ड गर्न सक्नु । निर्वाचन आयोग र सर्वोच्च अदालतले पार्टी विवादको निरूपणका लागि भोलिको दिनमा सनाखतमा बोलायो भने स–शरीर उपस्थित गराउनुपर्ने चुनौती उनीहरूसामु रहने छ ।

आधिकारिकता परीक्षणको समयसम्म प्रतिनिधि तान्नका लागि अस्वस्थ खेल हुने सम्भावना रहन्छ, यो काम गर्न देउवा समूह माहिर छ । किनभने पार्टी र राज्यसत्ता आर्जन गर्नेको वर्चश्व देउवासँग छ ।

जनतासँग मुख देखाउन सक्ने

दोस्रोपटक पार्टी विभाजनमा पुर्‍याएका देउवाले आजको दिनमा राजनीतिक र नैतिकरूपमा पराजय व्यहोरेका छन् ।

प्रजातन्त्र लगेर दरबारमा बुझाएको, कांग्रेस विभाजन गरेको कलंकको डोब बाँकी थियो । त्यसमा उनले अर्को उपाधि हासिल गरेका छन्– दोस्रोपटक कांग्रेस विभाजन गराउने पात्रको रूपमा ।

पार्टी मैले होइन, गगन–विश्वले विभाजन गरेका हुन् भनेर उम्किने छुट उनले पाउने छैनन् । देउवाको हठकै कारण कांग्रेस विभाजन भएको बुझ्न राजनीति शास्त्रको ठेली पल्टाउनुपर्दैन । ३ महिनापछि अनिवार्य अवकाशमा जानुपर्ने थाहा हुँदाहुँदै पार्टी विभाजनमा लैजाने काम देउवाले गरेका छन् । यो कांग्रेस कार्यकर्ताको मात्र होइन, देशका लागि गरिएको धोका र गद्दारी हो ।

पार्टीलाई विभाजनमा धकेलिसकेपछि देउवाको हातमा केही बाँकी छैन, न उनीसँग राजनीतिक एजेन्डा छ, न त जनतामा जाने साहस र आत्मविश्वास ।

आजको दिनमा देउवासँग त्यही छ, औचित्य गुमाइसकेको पुरानो केन्द्रीय समितिको बहुमत । यसको कुनै अर्थ छैन । तिनै पुराना र थोत्रा अनुहारले कांग्रेसलाई त्राण दिने छैनन् ।

null

देउवासँग अझै पनि देश, जनता र कांग्रेसप्रति इमान्दारिता भए गगन–विश्वमाथि गरिएको कारबाही फिर्ता गरेर कार्यकर्ताले चाहेअनुसार पार्टी रूपान्तरणमा योगदान गर्नुपर्छ ।

पार्टी विभाजन गरेर देउवाले केही उपलब्धि हासिल गरेका छैनन्, उनी हारेका छन् । केही गुट र गिरोहबाहेक कसैले ‘देउवाले पार्टी बचाए’ भनेर धन्यवाद दिने छैनन् । उल्टै विभाजनमा पुर्‍याएको अपजस मात्र दिने छन् ।

देउवाले हेक्का राखुन्, उदाएका नयाँ दललाई काउन्टर दिएर मतदाता आकर्षण गर्न सक्ने सबै अनुहार भृकुटीमण्डपमा छन् । गगन–विश्वलाई पार्टीबाट लखेटेर देउवा समूह जनतामा जान सक्ने छैन ।

ढिलो–चाँडो कांग्रेस एक ठाउँमा आउने छ, पार्टी एकता नभई सुखै छैन । अस्तित्व रक्षाका लागि साना दल मिल्ने क्रम चलिरहेको समयमा ठूला दल फुटेर अस्तित्व समाप्त गर्ने कुरा देशमा अस्थिरता निम्त्याउने काम मात्र हुनेछ ।

देउवाले नगरे पनि उनको जन्जीरबाट मुक्त भएपछि अर्को कुनै नेताले कांग्रेस एकताको पहलकदमी लिनेछ । कांग्रेस विभाजनका कारण सम्भवत: फागुन २१ गतेका लागि तोकिएको निर्वाचन समेत प्रभावित हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्