
काठमाडौं, ११ पुस– पुरातात्विक महत्वको काठमाडौंको रानीपोखरी पुनर्निर्माणको विषयमा काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरबीच मै रडाको मच्चिएको छ ।
रानीपोखरीको पुनर्निर्माण गरिँदा पुरातात्विक महत्वलाई ध्यान नदिइएको भन्दै विरोध भइरहेका बेला सोही विषयमा मेयर र उपमेयरबीच पनि विवाद चर्चिएको हो ।
रानीपोखरी पुनर्निर्माणमा विरोध बढेपछि उपमेयर हरिप्रभा खड्गी मंगलवार विहानै रानीपोखरीमा भइरहेको पुनर्निर्माण कार्यको निरीक्षण गर्न निस्केकी थिइन् । त्यहाँ पुगेर उनले पुरातात्विक महत्वलाई ख्यालै नगरी पुनर्निर्माणको काम भइरहेको भन्दै रानीपोखरीको गेटमा ताला लगाएकी थिइन् ।
विहान रानीपोखरी पुगेर उपमेयर खड्कीले ‘मेयरसँग म कुरा गर्छ, अहिलेलाई काम रोकौं’ भन्दै रानीपोखरीको गेटमा रडको ‘ताला’ लगाएर फर्किएकी थिइन् ।
तर दिउँसा १२ः३० बजेतिर रानीपोखरी पुगेका मेयर शाक्यले भने उपमेयर खड्गीले लगाएको ताला तोडिदिएका छन् । रानीपोखरी पुनर्निर्माणमा संलग्न ठेकेदार कम्पनीले मेयरलाई फोन गरेर उपमेयरले काम रोक्न भनेको जानकारी गराएका थिए ।
गेटमा ताला लागेको खबर पाउनेवित्तिकै रानीपोखरी पुगेका मेयर शाक्य गेटमा लगाइएको रडको ताला फुकालेर भित्र पसेका थिए ।
मेयर शाक्यले पुरातात्व विभागकै मार्गनिर्देशनमा रानीपोखरीको पुनर्निर्माण भइरहेको भन्दै रोक्नुको कुनै अर्थ नभएको बताए ।
आफू निर्वाचित हुनुभन्दा अगाडिदेखि नै रानीपोखरीको पुनर्निर्माण शुरु भएकाले यसमा दलगत र राजनीतिक लान्छाना लगाउन आवश्यक नभएको उनको भनाइ थियो ।