२८ असार २०८३, आइतबार
कांग्रेसमा नेतृत्व परिवर्तन

गगन थापाले कांग्रेसको आधिकारिकता पाएपछिको राजनीतिक परिदृश्य

माघ २, २०८२
काठमाडौं
गगन थापाले कांग्रेसको आधिकारिकता पाएपछिको राजनीतिक परिदृश्य

कांग्रेसको आधिकारिकता विवादमा निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा पक्षलाई मान्यता दिएपछि नेपालको राजनीति तरंगित बनेको छ । फागुन २१ का लागि तोकिएको निर्वाचनका लागि उम्मेदवारी मनोनयनको ४ दिनअघि गगन कांग्रेसको आधिकारिक सभापति बनेका छन् ।

चुनावमा कांग्रेस उम्मेदवारको टिकटमा अब गगन थापाले हस्ताक्षर गर्नेछन्, विशेष महाधिवेशनको एउटा पेचिलो विषय यो पनि थियो ।

निर्वाचन आयोगको निर्णयपछि गगन भोलि बिहान पार्टी कार्यालयमा जान पाउने छन् । कांग्रेसको पार्टी कार्यालय अहिले केही बाहुबली व्यक्तिले कब्जा गरेर राखेका छन् ।

गगन थापालाई कांग्रेस सभापतिको औपचारिक मान्यता दिने निर्णयलाई शेरबहादुर देउवा पक्षले स्वीकार गरेको छैन । देउवा पक्षले राजनीतिक र कानूनी प्रतिवाद गर्ने प्रारम्भिक प्रतिक्रिया दिएको छ ।

शुक्रबार निर्वाचन आयोगको बहुमतबाट गगनले मान्यता पाउनुअघि नै शेरबहादुर देउवा पक्ष सशंकित बनेको थियो । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गगनले आधिकारिकता पाए देशभर आन्दोलन चर्काउने बताएका थिए ।

कांग्रेसको मूल्य, मान्यता र आदर्श बिर्सेर तरुण दलका कार्यकर्ताले निर्वाचन आयोगबाहिर हुलहुज्जत गरे । आयोगलाई स्वतन्त्र ढंगले निर्णय गर्नमा व्यवधान खडा गर्न खोजे । आयोगको निर्णयपछि गगन थापा पक्ष उत्साहित देखिएको छ भने देउवा पक्ष आक्रोशित बनेको छ ।

null

कांग्रेसभित्र पर्ने प्रभाव

देउवा पक्षका नेताहरूले प्रारम्भिक प्रक्रिया दिइसके– निर्वाचन आयोगको निर्णय मान्दैनौं । गगनलाई नेविसंघको केटो देख्ने कांग्रेसको ‘ठूल्दाइ पुस्ता’ले विशेष महाधिवेशनबाट भएको निर्णयलाई स्वीकार गर्न सकिरहेको छैन ।

देउवापक्षीय नेता डा. प्रकाशशरण महतले गगनलाई मान्यता दिने निर्णयलाई षड्यन्त्र भनेका छन् । ‘आयोगको निर्णय पार्टीको विधान, दलसम्बन्धी नियमावली र अहिलेसम्म दलमा विवाद आउँदा आयोगले गरेको नजीरको खिलाफमा छ । नियोजित र षड्यन्त्रपूर्ण छ,’ महतले लोकान्तरसँग भने, ‘पहिलेदेखिको तयारीमा यो भएको बुझ्न सकिन्छ । यो निर्णय हामी मान्दैनौं र कानूनी उपचारमा जान्छौं ।’

उनीहरूसँग जाने विकल्प भनेको अदालत हो । अदालतले पनि गगनलाई मान्यता दियो भने बाध्यताले स्वीकार गर्नुपर्नेछ । आयोगले गरेको निर्णयलाई अदालतले पनि एउटा आधार मान्ने छ, किनभने कांग्रेसको यो विवाद राजनीतिक दलको विवादमा आयोगका लागि पनि नौलो हो । सत्ताका लागि दल विभाजन हुँदा केन्द्रीय सदस्य र सांसदको टाउको गनिन्थ्यो, तर यो विशेष महाधिवेशन हो ।

देउवा पक्षले गगनलाई मान्यता नदिए पनि तटस्थ बनेको कांग्रेसको ठूलो पंक्तिले अब गगनलाई समर्थन गर्नेछ । ‘जहाँ रूख र चारतारे झण्डा, त्यहीँ म’ भन्ने तप्का कांग्रेसमा ठूलो छ ।

null

नवनिर्वाचित महामन्त्री गुरूराज घिमिरेका अनुसार विशेष महाधिवेशनमा सहभागी भएर हस्ताक्षर गरेका बाहेक १ हजारभन्दा बढी प्रतिनिधिले नयाँ नेतृत्वलाई समर्थन गरिसकेका छन् । आयोगले मान्यता दिएपछि अन्य प्रतिनिधिले पनि समर्थन गर्नुको विकल्प छैन ।

सभापति निर्वाचित भएपछि गगन सन्तुलित सुनिएका छन् । पुस ३० को मध्यराति निर्वाचित भएपछिको प्रतिक्रियामा उनले निवर्तमान सभापति देउवाको आशीर्वाद लिन जाने बताएका थिए ।

विशेष महाधिवेशनबाट कांग्रेसको नेतृत्वमा आएका गगन पूरा कार्यकालका लागि सभापति बनेका होइनन् । कांग्रेसलाई नियमित महाधिवेशनमा लैजाने उनको पहिलो काम हुनेछ । कांग्रेस विवादले गर्दा फागुन २१ का लागि तोकिएको निर्वाचन सरेन भने टिकट वितरणको काम उनले गर्नुपर्नेछ ।  

कांग्रेसको आधिकारिकता विवाद निरुपण गर्दा ४ वटा आधार लिएको आयोग स्रोतले जनायो । ‘एउटा विधानमा भएको व्यवस्थाअनुसार ९० दिनभित्र विशेष महाधिवेशन गर्नु बाध्यात्मक रहेको आधार लिइएको छ । विशेष महाधिवेशन बोलाएको दुवै पक्षलाई थाहा भएकाले बोलाउनुपर्ने दोस्रो आधार तथा महाधिवेशन सुप्रिम बडी भएकाले यसले गरेको निर्णय आधिकारिक हुन्छ भन्ने तेस्रो आधार लिइएको छ,’ आयोग स्रोतले लोकान्तरसँग भन्यो । अर्को एउटा आधार भने खुलेको छैन ।

राष्ट्रिय राजनीतिमा प्रभाव

कांग्रेसमा नेतृत्व परिवर्तन भएको विषयको बाछिटा अन्य दलमा पनि परेको छ, किनकि कांग्रेस नेतृत्व परिवर्तनले राष्ट्रिय राजनीतिलाई पनि मार्गदर्शन गर्नेछ ।

कांग्रेसमा भएको नेतृत्व परिवर्तनप्रति चर्को प्रतिक्रिया नेकपा एमालेबाट आइरहेको छ । एमाले सचिव महेश बस्नेतले तत्कालै प्रतिक्रिया जनाएका छन्– ‘गगन थापा पक्षलाई निर्वाचन आयोगले मान्यता दिनु लोकतन्त्र र विधिको शासनमाथिको नाङ्गो प्रहार हो । निर्वाचन आयोग जस्तो संवैधानिक निकायमै वैदेशिक हस्तक्षेपको नाङ्गो नाच देखिनु अत्यन्तै विडम्बनापूर्ण र चिन्ताजनक विषय हो ।’

आयोगले स्वतन्त्र ढंगले गरेको निर्णयमा एमाले सचिवको यो टिप्पणीले नै प्रस्ट्याउँछ, कांग्रेसमा गगनको नेतृत्वले ल्याएको हलचल । अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसमा भइरहेको निर्णयप्रति निरन्तर टिप्पणी गरिरहेका छन् । देउवालाई बलजफ्ती निष्कासन गरिएको प्रतिक्रिया ओलीले दिएका छन् ।

एमाले नेताहरूबाट यस्ता अभिव्यक्ति आउनुलाई पछाडि आउँदै गरेको राष्ट्रिय सभा निर्वाचन र प्रतिनिधि सभा निर्वाचनसँग जोडेर हेर्न सकिन्छ । राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस–एमालेले औपचारिक तालमेलको निर्णय गरेका थिए, गगन आएपछि त्यो धरापमा परेको छ ।

null

चुनावमा कुनै पनि दलसँग तालमेल नगर्ने गगन थापाको राजनीतिक प्रस्ताव कांग्रेसको महासमिति बैठकबाट गत वर्ष पारित भएको थियो । अहिले विशेष महाधिवेशनमा पनि गगन र विश्वका राजनीतिक प्रस्तावमा कांग्रेस एक्लै चुनाव लड्ने भन्ने उल्लेख छ ।

प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी मनोनयनका लागि ४ दिनको समय रहेको र यसबीचमा २ दिन बिदा परेका कारण देउवा पक्षको मूभले उम्मेदवार मनोनयन हुने नहुने निर्धारण गर्नेछ । शुक्रबार दिउँसो आयोगमा भएको छलफलमा उपसभापति विश्वप्रकाश शर्माले आयोगले निर्णय गरे २ दिनभित्र उम्मेदवार तय गर्ने बताएका थिए ।

विशेष महाधिवेशनपछि निर्वाचित कांग्रेसले गगनको संयोजकत्वमा चुनावी घोषणा मस्यौदा समिति र विश्वप्रकाशको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ । विश्वले कांग्रेसको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार गगन नै भनेर बोलिसकेका छन् ।

फागुन २१ अथवा त्यसपछि जहिले चुनाव भएपनि गगनलाई प्रधानमन्त्रीको रूपमा अगाडि सारेर कांग्रेस चुनावमा जानेछ । बालेनलाई रास्वपाले अगाडि सारेको अवस्थामा गगनलाई प्रधानमन्त्री प्रस्ताव गरेर जाँदा नयाँ सन्देश जाने कांग्रेसका युवा नेताहरूको बुझाइ छ ।  

salt training

कमेन्ट गर्नुहोस्