काठमाडौं, १२ पुस — क्रिसमसको भोलिपल्ट मंगलवार खेलिएको इंग्लिश प्रिमियर लीगको म्याचमा टोटेनह्यामका स्टार फर्वार्ड ह्यारी केनले साउदह्याम्पटनविरुद्ध ह्याटट्रिक गरे । टोटेनह्यामले ५–२ गोलको अन्तरले जितेको यस खेलमा डेले एली र सोङ युन मिनले पनि एक एक गोल गरे ।
केनले यस वर्ष प्रिमियर लीगमा ३९ गोल गरिसकेका छन् । उनले एकै सिजनमा एलन शियररले गरेको ३६ गोलको कीर्तिमान तोडिसकेका छन् ।
यस वर्ष केनले आफ्नो देश (इंग्ल्यान्ड) र क्लब (टोटेनह्याम) का लागि कुल ५६ गोल गरिसकेका छन् । रोनाल्डो र मेस्सीको भन्दा यो दुई गोल बढी हो ।
चौबीस वर्षीय केनले सन् २०१७ मा ३६ वटा प्रिमियर लीग म्याच खेलेका छन् र ३९ गोल हानिसकेका छन् । सन् १९९५ मा एल शियररले ब्ल्याकबर्न रोभर्सका लागि ४२ म्याचमा ३६ गोल गरेको कीर्तिमान केनले तोडेका छन् ।
मेस्सीले यस वर्ष ५४ अनि रोनाल्डोले ५३ गोल गरेका छन् ।
केनले एक क्यालेन्डर वर्षमा प्रिमियर लीगमा सबभन्दा बढी ह्याटट्रिक गर्ने कीर्तिमान पनि तोडेका छन् । साउदह्याम्प्टनविरुद्धको उनको ह्याटट्रिक वर्षको छैठौं थियो । लीगमा सबभन्दा बढी ह्याटट्रिक गर्नमा रोब्बी फाउलर (९) र एलन शियरर (११) मात्र केनभन्दा अगाडि छन् ।
एजेन्सी