१५ असार २०८३, सोमबार
डा. सन्तोषको चिकित्सायात्रा

सरकारी स्कूलको त्यो ठिटो : अभावका पहाड छिचोलेर हुर्किए, अस्पतालको कमान्ड सम्हाले

माघ १०, २०८२
विराटनगर
सरकारी स्कूलको त्यो ठिटो : अभावका पहाड छिचोलेर हुर्किए, अस्पतालको कमान्ड सम्हाले

खोटाङको जन्तेढुंगा गाउँपालिकाको एउटा कुना, जहाँको माटो र पसिनासँग एउटा बालकको बाल्यकाल जोडिएको थियो ।  

वरिपरि पहाडका थुम्का, तलतिर बगिरहेका साना खोला र बिहानैदेखि बेलुकासम्म खेतबारीमा पसिना बगाउने एउटा सामान्य कृषक परिवार । 

त्यही सामान्य परिवारको एउटा बालक आज धनकुटा जिल्ला अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट बनेर बिरामीको सेवामा अहोरात्र खटिएला भनेर कसैले सोचेको पनि थिएन । यो कथा हो डा. सन्तोष राईको, जसको जीवनका उकाली–ओराली कुनै चलचित्रको कथाभन्दा कम रोचक छैनन् ।

डा. सन्तोषको बाल्यकाल खोटाङको चिसो हावापानी र पहाडी गोरेटोहरूमा बित्यो ।  १० जना दाजुभाइ दिदीबहिनीको ठूलो परिवार, जहाँ बुवाआमाको मुख्य चिन्ता भनेकै बिहान–बेलुकाको छाक कसरी टार्ने भन्ने हुन्थ्यो । त्यस्तो परिवेशमा हुर्किएका सन्तोष गाउँकै सरकारी स्कूल चिसापानी माध्यमिक विद्यालयमा पढ्थे ।  उनी पढाइमा अब्बल थिए, कक्षामा जहिले पनि प्रथम हुन्थे । 

तर, सरकारी स्कूलमा पढ्ने विद्यार्थीको एउटा साझा समस्या उनले पनि भोगे- त्यो थियो आत्मविश्वासको कमी ।  उनलाई सरहरूले जहिले पनि भन्थे, ‘तिमीहरू बोर्डिङ पढ्नेहरूसँग प्रतिस्पर्धा गर्नै सक्दैनौ, उनीहरूका अगाडि तिमीहरू केही पनि होइनौ ।’ 

ती शब्दहरूले बाल–मस्तिष्कमा एउटा डर पैदा गर्थ्यो । तर सन्तोषको मनमा एउटा अठोट हुर्किरहेको थियो- जसरी पनि ठूलो मान्छे बन्छु ।

आईएसी पढ्न धरान झरेपछि उनको जीवनले नयाँ मोड लियो । उनलाई डाक्टर नै बन्छु भन्ने शुरूमा लागेको थिएन । तर उनकी दिदी, जो पटनामा नर्स थिइन् उनले सन्तोषलाई नयाँ बाटो देखाइन् ।

पत्रपत्रिकामा आउने स्वास्थ्यसम्बन्धी समाचार र दिदीको सल्लाहले उनलाई पटना पुर्‍यायो । सरकारी स्कूलबाट आएको एउटा ठिटो, जसलाई शुरूमा त आफू डाक्टर बन्न सकिएला र भन्ने शंका थियो, तर मेहेनतले असम्भवलाई सम्भव बनाइदियो । उनले छात्रवृत्तिमा नाम निकाले र चितवन मेडिकल कलेजबाट एमबीबीएस पूरा गरे । 

null

खोटाङको धुलोमा खेलेको बालकले जब स्टेथोस्कोप घाँटीमा झुन्ड्यायो, त्यो क्षण उनका लागि मात्र होइन, सिंगो परिवारका लागि गर्वको विषय थियो ।

एउटा संयोग के छ भने सन्तोषका १० जना दाजुभाइ-दिदीबहिनीमध्ये तीन जना डाक्टर बने भने चार जना सरकारी सेवामा आबद्ध छन् ।  एउटा सामान्य किसानले आफ्ना सन्तानलाई यो उचाइमा पुर्‍याउनु कुनै चमत्कारभन्दा कम थिएन । सन्तोषका भाइ र बहिनी पनि अहिले डेन्टल डाक्टर छन् । 

बाँकी दाजुभाइ-दिदीबहिनी गाउँमै खेतीपाती र घरव्यवहार सम्हालिरहेका छन् । यो एउटा यस्तो परिवार हो, जसले मेहेनत गरे जे पनि सम्भव छ भन्ने उदाहरण पेस गरेको छ ।

डाक्टर बनेपछि सन्तोषको पेशागत यात्रा पनि उत्तिकै रोचक रह्यो  । उनले भोगेका कतिपय घटना अझै पनि मानसपटलमा ताजा छन् । विशेषगरी उदयपुरको बेल्टार प्राथमिक स्वास्थ्य केन्द्रमा रहँदाको एउटा घटना उनी कहिल्यै बिर्सँदैनन् । 

एकदिन एक महिलालाई कोब्रा सर्पले टोकेर अस्पताल ल्याइयो ।  उनको अवस्था यति गम्भीर थियो कि बाँच्ने आशा लगभग सकिएको थियो । डा. सन्तोष र उनको टोलीले तत्काल ‘एन्टिभेनम’ दिए र मुखबाट पाइप हालेर उनलाई बचाउने हरसम्भव प्रयास गरे । अन्तत: ती महिलाको ज्यान जोगियो । 

पछि ती महिला उनलाई धन्यवाद दिन इनरुवासम्म आइपुग्दा डा. सन्तोषको आँखा रसाएका थिए । ‘एकजना बिरामी निको भएर मुस्कुराउँदा पाउने खुसी कुनै पनि ठूलो पद वा पैसाभन्दा धेरै गुणा बढी हुँदोरहेछ,’ उनी सुनाउँछन् ।

तर, पहाडी क्षेत्रमा सेवा गर्दा उनले जति खुसी भोगे, त्यति नै पीडा पनि देखेका छन् । विशेषज्ञ सेवाको अभावमा बिरामीहरूले पाउने दु:खले उनलाई जहिले पनि पिरोल्छ । पहाडका मानिसहरू एक–दुई दिन हिँडेर अस्पताल आउँछन्, तर त्यहाँ विशेषज्ञ नहुँदा उनीहरूलाई धरान वा विराटनगर रेफर गर्नुपर्ने बाध्यता हुन्छ । 

‘एउटा गरिब बिरामीले डायलासिस गर्न धरान धाउनुपर्दा उसको महिनाको ६०–७० हजार त गाडी भाडामै सकिन्छ’, उनी चिन्ता व्यक्त गर्छन् ।  यही समस्या समाधानका लागि राज्यले पहाडी जिल्लामा विशेषज्ञ चिकित्सक र आधुनिक उपकरण पुर्‍याउनुपर्ने उनको भनाइ छ ।

खोटाङको त्यो सानो बालकदेखि आजको मेडिकल सुपरिटेन्डेन्ट र चिकित्सकहरूको नेतासम्मको यात्रामा डा. सन्तोषले एउटै कुरा सिकेका छन्- ‘दृढ इच्छाशक्ति भए पहाड जत्रो अवरोध पनि नाघ्न सकिन्छ ।’

उनी अहिले पनि धनकुटा अस्पतालमा बिरामीको सेवा गर्दै नयाँ पुस्ताका डाक्टरलाई प्रेरित गरिरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्