२८ असार २०८३, आइतबार
फेरियो मतदाताको माग

‘सडक र पुलको युग सकियो, अब स्वास्थ्य, शिक्षा र रोजगारीको पालो’

माघ १२, २०८२
विराटनगर
‘सडक र पुलको युग सकियो, अब स्वास्थ्य, शिक्षा र रोजगारीको पालो’

निर्वाचनको मिति नजिकिँदै गर्दा मोरङ क्षेत्र नम्बर ४ र ६ अन्तर्गत पर्ने ग्रामथान र बुढीगंगाका ग्रामीण बस्तीमा यसपटक एउटा गम्भीर र शक्तिशाली सन्देश गुन्जिरहेको छ‍- ‘सडक र पुल त जसले जिते पनि बनाउँछ, अब हाम्रा छोराछोरीले राम्रो पढ्न र काम गर्न पाउनुपर्छ ।’ 

दशकौंदेखि भौतिक पूर्वाधारलाई मात्रै विकासको मानक मान्दै आएका यहाँका मतदाताले यसपटक नेताहरूका अगाडि स्वास्थ्य, शिक्षा र रोजगारीको कडा शर्त तेर्साउने बताउँछन् । 

मोरङको क्षेत्र नम्बर ४ र ६ का ग्रामथान–५ शान्तिपुर, गिदनिया टोल र बुढीगंगाको कन्याथानमा सोमबार पु्ग्दा दलका झण्डा वा नारामा भन्दा पनि जनताका आधारभूत आवश्यकतामा बढी केन्द्रित देखिन्थ्यो । 

कुनै समय यो क्षेत्रको सबैभन्दा ठूलो चुनावी एजेन्डा ‘सिघिया खोलाको पुल’ हुन्थ्यो । सुनसरीको दुहबी जोड्ने यो पुल पूर्वमन्त्री विजय गच्छदारको पालामा धेरै पटक शिल्यान्यास भयो तर काम अघि बढेन । अन्तत: पूर्वमन्त्री अमनलाल मोदीको कार्यकालमा यो पुल बन्यो । 

null

अहिले टोल-टोलमा सडक कालोपत्रे भएका छन्  । यी टोलमा घर बाँसका टाँटीले बेरेका छन् तर सडक भने चिल्ला छन् । अब सडक, पुल बनिसकेकाले आफूहरूका माग पनि पनि फेरिएको गिदनिया टोलका ७० वर्षीय तुलाराम विश्वासले बताए । 

उनले भने ‘गाउँका युवाहरू बेरोजगारीका कारण ऋण लिएर विदेश गएका छन्, कतिपय त बाकसमा फर्किएका छन् । अब हामीलाई पुल देखाएर भोट माग्ने दिन सकिए, अब रोजगारी दिने नेता चाहियो ।’

यसपटकको निर्वाचनमा यो क्षेत्रबाट नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे, नेकपा एमालेका केन्द्रीय सदस्य जीवन घिमिरे, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अमनलाल मोदी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सन्तोष राजवंशी लगायतका उम्मेदवार चुनावी मैदानमा छन् । 

८१ वर्षीय ज्येष्ठ नागरिक फोक्सु विश्वास थारूको भोगाइ अर्कै छ । उनी भन्छन्, ‘मैले धेरै चुनाव देखेँ, कांग्रेस, एमाले, सद्‌भावना सबैलाई भोट हालेँ । अहिले चुनाव पैसा, मासु र रक्सीले जित्ने माध्यम बनेको छ । पार्टी राम्रा भए पनि व्यक्ति खराब हुँदा जनताले दु:ख पाए ।’

null

ग्रामथानकी काजवती थारूले उठाएको मुद्दा झन् गम्भीर छ । उनले गाउँमा व्याप्त बेरोजगारी र जनचेतनाको अभावलाई मुख्य समस्याका रूपमा प्रस्तुत गरिन् । 

‘हाम्रो टोलमा धेरै बेरोजगार छन्, उनीहरूको कुरा सुनिदिने कोही छैन । स्वास्थ्य बीमा गर्नुपर्छ भन्ने समेत धेरैलाई थाहा छैन,’ उनले भनिन्, ‘बिरामी भएपछि ऋण खोज्नुपर्ने बाध्यता छ । जितेर गएपछि नेताहरू म सबैको जनप्रतिनिधि हुँ भन्ने कुरा बिर्सन्छन्, उनीहरू दलको मात्रै मान्छे बन्छन् ।’

बुढीगंगा क्षेत्रका मतदाताहरूको आक्रोश झन् चर्किएको छ । बुढीगंगा मोरङ क्षेत्र नम्बर ६ मा पर्छ । यस क्षेत्रमा नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला, एमालेका विनोद ढकाल, नेकपाका ओपेन्द्र राय, रास्वपाकी रुविना आचार्य लगायतका उम्मेदवार छन् ।

बुढीगंगा–७ का डल्लु ऋषिदेवले खानेपानीको एउटा धारा जोड्न १२ हजार रूपैयाँसम्म तिर्नुपरेको पीडा सुनाइन्  । उम्मेदवारहरूले धारा जडान नि:शुल्क गर्ने ग्यारेन्टी नगरेसम्म भोट नदिने मूडमा यहाँका बासिन्दा छन् । 

null

त्यस्तै, गणेशबहादुर मगर र खुदिलाल चौधरीले किसानका समस्यालाई मुख्य चुनावी मुद्दा बनाएका छन् । ‘सडक र पुल त बन्दै गर्छन्, तर खेतीको समयमा मल र बीउका लागि सधैँ विदेशको मुख ताक्नुपर्ने बाध्यता कहिले अन्त्य हुन्छ ?’ खुदिलालको प्रश्न छ । 

सरकारी विद्यालयको शैक्षिक स्तर खस्किँदै जानु र गरिबका छोराछोरीले गुणस्तरीय शिक्षा नपाएकाले यो मुद्दा उठाउने उनीहरू बताउँछन् । 

शान्तिपुर, सीताराम चोक र कन्याथानका मतदाताका अनुसार अहिलेसम्म उम्मेदवार गाउँ छिरेका छैनन् । शहरका होटल र चिया पसलमा चुनावी रणनीति बने पनि ग्रामीण बस्तीका वास्तविक समस्या सुन्न कोही आइनपुगेको उनीहरूको गुनासो छ । 

शान्तिपुरका बलराम माझीका अनुसार खर्च बढ्ने डरले नेताहरू अन्तिम समयमा मात्र भोट माग्न आउने दाउमा छन् । तर, यसपटक मतदाता सचेत छन् । उनीहरू पार्टीको चिन्ह वा नेताको अनुहार भन्दा पनि उसको भिजन र विगतको काम हेरेर मात्र मतदान गर्ने तयारीमा छन् ।

null

मोरङ ४ र ६ का मतदाताले भौतिक विकास अब नियमित हुने काम भएकाले चुनावी एजेन्डा नहुने बताउन थालेका छन् ।  अबको निर्वाचनको कसी भनेको गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य र स्थानीय स्तरमै रोजगारीको सुनिश्चितता रहेको उनीहरू बताउँछन् । 

जुन उम्मेदवारले यी मुद्दामा ठोस प्रतिबद्धता र कार्ययोजना ल्याउँछ, उसैलाई मात्र यसपटक जनताले आफ्नो अमूल्य मत दिने यहाँका मतदाता बताउँछन् । 

क्षेत्र नम्बर ४ मा १ लाख १९ हजार २५५ जना मतदाता रहेका छन् भने ६ नम्बर क्षेत्रमा १ लाख ३७ हजार ८३२ मतादाता रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्