०७ साउन २०८३, बिहीबार

एउटा जहाजबाट शुरू भएको बुद्ध एयरको गौरवमय यात्रा

माघ १३, २०८२
काठमाडौं
एउटा जहाजबाट शुरू भएको बुद्ध एयरको गौरवमय यात्रा
फाइल फोटो

नेपालको आन्तरिक हवाई उडानको इतिहासमा ‘बुद्ध एयर’को महत्त्वपूर्ण योगदान छ । आन्तरिक क्षेत्रमा क्रान्ति ल्याएको बुद्ध एयरले हिमाल, पहाड र तराईलाई हवाई सञ्जालमार्फत जोड्दै यातायात क्षेत्रमा ठूलो योगदान पुर्‍याएको छ । झण्डै तीन दशकको योगदान पुर्‍याएको बुद्ध एयर नेपालको अग्रणी वायुसेवा कम्पनी हो ।

नेपालको सबैभन्दा पुरानो वायुसेवा प्रदायक कम्पनी मात्र नभएर बुद्ध एयर मुलुकको भौगोलिक विकटतालाई जोड्ने मानका रूपमा स्थापित भएको छ ।

नेपालको पर्यटन र अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बुद्धले स्थापनादेखि हालसम्म २ करोड ७० लाखभन्दा बढी यात्रुलाई सेवा दिइसकेको छ । नेपालको विदेशी मुद्रा सञ्चितिमा पनि योगदान पुर्‍याएको बुद्धले १५ सयभन्दा बढी कर्मचारी र १३५ भन्दा बढी पाइलटहरूलाई प्रत्यक्ष रोजगारी दिएको छ ।

बुद्ध एयरको शुरूआत र इतिहास

बुद्ध एयर आजभन्दा करिब २७ वर्ष अगाडि सन् १९९७ बाट शुरू भएको थियो । स्वर्गीय सुरेन्द्रबहादुर बस्नेत र उनका जेठा छोरा वीरेन्द्रबहादुर बस्नेतको परिकल्पनाबाट बुद्ध एयर शुरू भएको थियो ।

‘बीचक्राफ्ट १९००डी’ विमानबाट शुरू भएको बुद्ध यात्रुहरूलाई ‘एभरेष्ट एक्सपेरियन्स’ दिने प्रारम्भिक लक्ष्य थियो । माउन्टेन फ्लाइटबाट शुरू भएको हवाई यात्रा समयसँगै आम सर्वसाधारण नेपालीको लागि हवाई यात्रा सुलभ र पहुँचयोग्य बनाउनु बुद्धको लक्ष्य बन्यो ।

तीन दशकदेखि बुद्ध एयरले नेपालको आन्तरिक उड्डयन क्षेत्रको झण्डै ६० प्रतिशतभन्दा बढी बजार हिस्सा ओगट्दै आएको छ । आर्थिक मन्दी र प्राविधिक कठिनाइका कारण धेरै निजी वायुसेवा कम्पनीहरू धराशायी भइरहँदा बुद्ध एयरले भने आफ्नो क्षेत्र विस्तार गर्दै १८ वटा अत्याधुनिक एटीआर विमानहरू सञ्चालनमा ल्याएको छ ।

यसको सफलताको मुख्य कडी भनेकै सुरक्षा र विश्वसनीयताप्रतिको अटुट प्रतिबद्धता रहेको कम्पनीको भनाइ छ । हाल बुद्धले भारतको कोलकाता र वाराणसीमा अन्तर्राष्ट्रिय उडान समेत गर्दै आएको छ ।

बुद्ध एयरको सफलताको पछाडि यसको अत्याधुनिक प्राविधिक पूर्वाधारको ठूलो हात छ । सन् २०१२ देखि सञ्चालनमा आएको बुद्धले आफ्नै ‘क्लोज्ड–डोर ह्याङ्गर’ दक्षिण एसियाकै उत्कृष्ट मध्ये एक मानिन्छ । २५ लाख डलरभन्दा बढीको लगानीमा निर्मित यो सुविधामा विमानको पूर्ण मर्मतसम्मका कामहरू हुन्छन् । यो प्राविधिक दक्षताकै कारण भुटानको ‘ड्रुक एयर’ र बंगलादेशको ‘नोभो एयर’ले समेत आफ्नो विमान मर्मतका लागि बुद्ध एयरमाथि भरोसा गर्ने गरेका छन् ।

भौगोलिक बनावट र मौसमको अस्थिरता नेपालको उड्डयन क्षेत्रका मुख्य चुनौती छन् ।  उच्च इन्धन कर र विमानस्थल शुल्कका बाबजुद बुद्ध एयरले ‘नेक्स्ट जेन वेदर प्रोग्राम’ र ‘फ्लाइट डाटा मोनिटरिङ’ जस्ता अत्याधुनिक प्रणाली अपनाएर सुरक्षालाई प्राथमिकतामा राखेको छ । त्यसैले अहिलेसम्म बुद्ध एयर नेपालको अग्रणी वायुसेवा कम्पनीका रूपमा स्थापित छ ।

नेपालको यातायात र पर्यटन क्षेत्रमा योगदान

कुनै समयमा नेपालको हवाई यात्रा सधैं काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्र निर्भर थियो । बुद्ध एयरले यो ‘बोटलनेक’ लाई तोड्दै अन्तर–प्रादेशिक उडानको अवधारणा ल्यायो । बुद्ध एयरले पोखरालाई आफ्नो दोस्रो केन्द्र बनाउँदै भैरहवा, भरतपुर र नेपालगन्जजस्ता शहरहरूमा सिधा उडान शुरू गर्‍यो । यसले पर्यटक र तीर्थयात्रीलाई काठमाडौं नआई एक ठाउँबाट अर्को ठाउँ जान सहज बनाइदिएको छ ।

यसका साथै वीरगञ्ज, भद्रपुर र जनकपुरजस्ता आर्थिक केन्द्रहरूमा बुद्ध एयरको बाक्लो उडानले व्यापारिक क्षेत्रलाई ठूलो राहत दिएको छ । सडक मार्गबाट १० घण्टा लाग्ने दुरी ३५ मिनेटको उडानले छोट्याइदिएको छ ।

यसका साथै माता सीताको जन्मभूमि जनकपुर र भगवान् बुद्धको जन्मस्थल लुम्बिनी (भैरहवा) लाई हवाई सञ्जालले जोडेर बुद्ध एयरले ‘रिलिजियस सर्किट’लाई बलियो बनाएको छ ।

बुद्ध एयर एउटा निजी कम्पनी मात्र नभएर नेपालको सार्वजनिक सेवाको अभिन्न अङ्ग बनेको छ । ‘पहिले सुरक्षा’ र ‘क्षेत्रीय पहुँच’ को नारालाई आत्मसात गर्दै ‘नीलो पुच्छर’ भएको बुद्ध एयरका विमानहरूले नेपाली आकाशमा एउटा बलियो भरोसाको नाम कमाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्