०८ साउन २०८३, शुक्रबार
सन्दर्भ : प्रतिनिधिसभा निर्वाचन

बदलिएको कांग्रेसको पक्षमा माहोल छ, पहिलो पार्टी मात्र होइन, बहुमत ल्याउँछौं– गुरु घिमिरे [अन्तर्वार्ता]

'मोरङको कटहरी-ग्रामथान क्षेत्रलाई मिनी सौराहाको रूपमा विकास गर्ने लक्ष्य छ'
माघ १५, २०८२
मोरङ
बदलिएको कांग्रेसको पक्षमा माहोल छ, पहिलो पार्टी मात्र होइन, बहुमत ल्याउँछौं– गुरु घिमिरे [अन्तर्वार्ता]

नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे यतिबेला मोरङ क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन् । पार्टीको १४ औँ महाधिवेशनबाट आएको नेतृत्व विशेष महाधिवेशनबाट परिवर्तन भएपछि त्यसले कार्यकर्तामा जगाएको अभूतपूर्व उत्साहलाई उनले चुनावी जीतको मुख्य आधार मानेका छन् ।

विशेष गरी, सभापति गगन थापाको मधेश यात्रा र नेतृत्वको नयाँ कार्यशैलीले कांग्रेसलाई देशकै पहिलो शक्ति बनाउने उनको दाबी छ । आसन्न निर्वाचन, कांग्रेसको चुनावी गणित र मोरङ– ४ को समृद्धिका योजनाबारे महामन्त्री घिमिरेसँग लोकान्तरका उत्तम पोख्रेलले गरेको कुराकानीको सम्पादित अंश:

निर्वाचनको संघारमा हुनुहुन्छ,यसपटक नेपाली कांग्रेसको अवस्थालाई कसरी विश्लेषण गर्नुहुन्छ ?

अहिले देशभर कांग्रेसको एउटा ठूलो लहर, एउटा सुनामी नै आएको छ । यसको मुख्य कारण हामीले १४ औँ महाधिवेशनमार्फत पार्टीको नेतृत्वमा गरेको परिवर्तन हो । नेपाली जनता र कांग्रेसका कार्यकर्तामा एउटा उत्कट चाहना थियो कि पार्टीको पुरानो कार्यशैली र नेतृत्व बदलियोस् ।

हामीले त्यो चाहनालाई आत्मसात गर्‍यौं । नेतृत्व परिवर्तनले केवल पार्टीभित्र मात्र होइन, पार्टीभन्दा बाहिर रहेका तटस्थ र लोकतन्त्र प्रेमी शुभेच्छुकहरूमा पनि ठूलो आशा र भरोसा जगाएको छ । जो साथीहरू हिजो निराश भएर निष्क्रिय बस्नुभएको थियो, उहाँहरू अहिले हाम्रो कांग्रेस फर्कियो भन्दै उत्साहका साथ मैदानमा उत्रिनुभएको छ ।

null

तपाईंले नेतृत्व परिवर्तनको प्रभाव भन्नुभयो,यसको प्रत्यक्ष असर चुनावी परिणाममा कसरी देखिन्छ ?

हेर्नुस्, निर्वाचन जित्नका लागि कार्यकर्ताको परिचालन र जनताको विश्वास चाहिन्छ । अहिले यी दुवै कुरा कांग्रेससँग छ । हाम्रो प्रारम्भिक अनुमानअनुसार प्रत्यक्षतर्फ हामी १०० सीटको हाराहारीमा जित्दैछौं । समानुपातिकतर्फ हाम्रो मत अघिल्लो पटकभन्दा निकै बढ्ने देखिएको छ । समानुपातिकबाट ४० देखि ४२ सीट आउँदा कांग्रेसले सहजै बहुमतको सरकार बनाउने अंक प्राप्त गर्छ । यसपटक कांग्रेस पहिलो पार्टी मात्र बन्ने होइन, एक्लै देश चलाउने हैसियतमा पुग्छ ।

मधेशमा कांग्रेसको अवस्थालाई लिएर विभिन्न अड्कलबाजी भइरहेका छन्,त्यहाँको स्थिति कस्तो छ ?

मधेश कांग्रेसको पुरानो र बलियो आधार क्षेत्र हो । केही समय त्यहाँ केही अन्योल देखिएको थियो, तर अहिले परिस्थिति बदलिएको छ । विशेष गरी हाम्रो पार्टीका सभापति गगन थापाजीको मधेश भ्रमण र त्यहाँका जनतासँगको सिधा संवादले अभूतपूर्व लहर ल्याएको छ । गगनजी मधेश गएपछि त्यहाँका युवा र आम मतदातामा कांग्रेसप्रति जुन आकर्षण देखिएको छ, त्यसले विरोधीहरूलाई तर्साएको छ । सभापति गगनजीको सक्रियताले तराईमा कांग्रेसको प्रभाव निकै मजबुत भएको छ । मधेशले यसपटक कांग्रेसलाई पहिलो पार्टी बनाउन निर्णायक भूमिका खेल्दैछ ।

पार्टीभित्र कतिपय नेताहरू अझै पनि संसद् पुनःस्थापनाको विषयलाई लिएर अदालत धाइरहनुभएको छ नि ?

लोकतन्त्रमा फरक मत राख्न पाइन्छ । केही साथीहरूले अदालतमा रिट हाल्नुभएको कुरा उहाँहरूको कानूनी अधिकार हो, तर त्यो पार्टीको आधिकारिक लाइन होइन । कांग्रेसले आधिकारिक रूपमा निर्वाचनमा जाने निर्णय गरिसकेपछि अब हाम्रो सम्पूर्ण शक्ति चुनावमै केन्द्रित छ । रिट हाल्ने साथीहरू पनि अन्तत: चुनाव जिताउनै लाग्नुहुनेछ । अहिले कांग्रेसभित्र कुनै दुई धार छैन, एउटै लक्ष्य छ— चुनाव जित्ने ।

नयाँले पुराना दलप्रति वितृष्णा छ भन्दै माहोल बनाइरहेका छन्,उनीहरूले तपाईंहरूलाई असर गर्दैनन् ?

नयाँप्रति आकर्षण हुनु स्वाभाविक हो । जाडोमा नयाँ कपडा देख्दा मान्छे लोभिन्छन्, तर कपडाको गुणस्तर र पृष्ठभूमि पनि हेर्नुपर्छ । नयाँ दलहरूको पृष्ठभूमि, उनीहरूको योगदान र कार्यशैलीलाई जनताले मसिनोगरी नियाल्नुपर्छ । हामी आफैं पनि नेतृत्व परिवर्तन गरेर रूपान्तरित भइसकेका छौं । पुराना पार्टीहरूले आफूलाई सुधारेपछि नयाँको सान्दर्भिकता आफैं सकिएर जान्छ । हामी अहिले सुध्रिएर र नयाँ जोशका साथ जनतामाझ आएका छौं ।

अब मोरङ क्षेत्र नं. ४ कै कुरा गरौं,यहाँका मतदाताले तपाईंलाई किन रोज्ने ?

मोरङ–४ मा मैले भौतिक विकास (सडक, पुल, बिजुली) मात्र होइन, मानवीय विकास र रोजगारीलाई मुख्य एजेन्डा बनाएको छु । यहाँका युवाहरू रोजगारीका लागि भौंतारिनु पर्ने अवस्था अन्त्य गर्न मसँग ठोस योजना छन् ।

पहिलो, कटहरी र ग्रामथान क्षेत्रलाई मिनी सौराहाको रूपमा विकास गर्ने मेरो संकल्प छ । विराटनगर आउने पर्यटकहरूलाई यहाँ ल्याएर राख्ने वातावरण बनाउँदा स्थानीयस्तरमा हजारौं रोजगारी सिर्जना हुन्छ ।

दोस्रो, किसानहरूको ठूलो समस्या मलको अभाव हो । देशमै मल कारखाना स्थापना भयो भने रोजगारी स्वत: बढ्छ । मोरङ– ४ लाई औद्योगिक र पर्यटकीय हब बनाउने मेरो सपना छ । प्राइभेट सेक्टरमा जबसम्म हामीले रोजगारीका अवसरहरू सिर्जना गर्नेतर्फ लाग्दैनौं, उद्यमशीलतालाई प्रोत्साहन गर्दैनौं ।

उद्यमशीलतालाई प्रोत्साहन गर्नेबित्तिकै, संरक्षण गर्ने नीति ल्याउनेबित्तिकै व्यक्ति उद्यमतर्फ लाग्छ ।

अब हामीले उद्योगधन्दा, कलकारखानाको विकास गर्‍यौं भने उद्योगधन्दा, कलकारखानाले पनि रोजगारीका अवसरहरू सिर्जना गर्छन् । जस्तो नेपालमा मलको अभाव भइरहेको हुन्छ, हरेक पटक । हामीले मल कारखाना खोल्यौं भने मल कारखानामा पनि देशभरि हजारौं नेपालीहरूले रोजगारी पाउँछन् । किसानलाई पनि त्यसको लाभ हुन्छ, कृषि क्षेत्रलाई पनि टेवा पुग्छ ।

null

परराष्ट्र नीतिका बारेमा कांग्रेसको दृष्टिकोण के हो ?

हाम्रो परराष्ट्र नीति सन्तुलित हुन सकेन । कोही कता ढल्किने, कोही कता ढल्किने स्थिति देखियो । कांग्रेसले भारत र चीन दुवैसँग नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर सुमधुर सम्बन्ध कायम गर्छ ।

भारतसँग हाम्रो सांस्कृतिक र सामाजिक निकटता छ, त्यसबारे हामीले चीनलाई पनि बुझाउन सक्नुपर्छ र चीनको चासोलाई पनि सम्मान गर्नुपर्छ । कसैको मुख नताकी सन्तुलित रूपमा देशलाई अघि बढाउने हाम्रो नीति हो ।

अन्त्यमा,आम मतदातालाई के सन्देश दिन चाहनुहुन्छ ?

म सम्पूर्ण मतदातालाई आग्रह गर्छु— यो निर्वाचन देशको भविष्य बदल्ने अवसर हो । कसैको उक्साहटमा नलागी उम्मेदवारको योग्यता, पार्टीको इतिहास र भोलिको योजना हेरेर मतदान गर्नुहोस् । हामीले नेतृत्व बदलेका छौं, अब देश बदल्ने पालो तपाईंको हो ।

salt training

कमेन्ट गर्नुहोस्