०७ असार २०८३, आइतबार

ऋण काढेर सामुदायिक स्वास्थ्य भवन निर्माण

पुस १३, २०७४
ऋण काढेर सामुदायिक स्वास्थ्य भवन निर्माण

कञ्चनपुर, १३ पुस– कञ्चनपुरको कृष्णपुर नगरपालिकाको दोमिल्लामा स्थानीयले ऋण काढेर सामुदायिक स्वास्थ्य एकाइको भवन निर्माण गरेका छन् । स्थानीय ढुण्डीराज भण्डारीको संयोजकत्वमा निर्माण समिति गठन गरी ऋण काढेर रु चार लाखमा भवन निर्माण गरिएको हो । 

स्थानीयस्तरबाट रकम संकलन हुने आशमा उधारोमा सामग्री खरिद गरी भवन निर्माण गरिएको छ । स्थानीयस्तरमा सहयोग संकलन नभएपछि समितिका संयोजक भण्डारी अप्ठेरोमा परेका छन् । 

सहयोग पाउने आशमा भवन बनाइयो, ऋणमा परियो, उनले भने, “सहयोग नपाईएपछि ऋण तिर्न गाह्रो भएको छ ।” सामुदायिक वन र निर्माण व्यवसायीबाट सहयोग हुने आशा राखिएको थियो । तीन चारवटा सामुदायिक वनले सहयोग गर्ने इच्छा देखाएका थिए । 

भवन निर्माणपछि समितिका संयोजक भण्डारी कृष्णपुर नगरपालिका तथा जिल्ला समन्वय समितिमा सहयोगका लागि पुग्नुभएको छ । विभिन्न कार्यक्रममा समेत उनले भवन निर्माणको रकमको व्यवस्था गरिदिन भन्दै कुरासमेत राख्दै आउनु भएपनि हालसम्म ऋण तिर्नका लागि रकम पाएका छैनन् । 

कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण हमालले सहयोग गर्ने आश्वासन दिए । भण्डारीले नगर प्रमुख हमाललाई भवन निर्माण गर्नका लागि लिएको ऋण तिरिदिनका लागि निवेदन दिएका छन् । नगर प्रमुखले ऋण तिर्नका लागि सहयोगको आश्वासन दिएको उनले बताए ।  

स्थानीयलाई गाउँमा स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित सामुदायिक स्वास्थ्य केन्द्र बनाउने पहल गरिएको थियो । स्वास्थ्य विभागले गत वर्ष दोमिल्लामा सामुदायिक स्वास्थ्य एकाइ बनाउने निर्णय गरेको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्