०१ साउन २०८३, शुक्रबार

जाडोमा हृदयघातको खतरा बढी, यी हुन् जोगिने उपाय

पुस १३, २०७४
जाडोमा हृदयघातको खतरा बढी, यी हुन् जोगिने उपाय

काठमाडौं, १३ पुस– जाडोको समयमा हाम्रो शरीरले न्यानोपनाको आवश्यकता महशुस गरिरहन्छ । जाडोको समयमा बिहानीपखको वातावरण चिसो हुने हुँदा धेरैले आफ्नो  नियमित व्यायाम छाड्छन् या नियमित गर्दैनन् । जाडोको समयमा निश्क्रिय जीवनशैलीले हृदयघातको जोखिम बढ्न सक्ने शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका मुटु रोग विशेषज्ञ डाक्टर चन्द्रमणी अधिकारी बताउँछन् ।
 
‘मुटु हाम्रो शरीरको संवेदनशील अंग हो । मुटुमा संक्रमण हुन नदिन हामीले स्वास्थ्य खानपान र स्वास्थ्य जीवनशैली अपनाउनु पर्ने हुन्छ,’ डा. अधिकारीले लोकान्तरसँग भने, ‘अहिले जाडोको समय छ । प्रतिकुल मौसममा चिसोका कारण मुटुमा संक्रमण बढ्न सक्छ ।’ जाडो मौसम सुरु भएसँगै अस्पतालमा हृदयघातका विरामीको चाप बढेको उनी बताउँछन् ।

‘जाडो याममा चिसोका कारण शरीरको नशाहरु साँघुरिने हुन्छ । शरीरका नशाहरु साँघुरिदा मुटुको कार्यभार बढी हुन्छ । जसका कारण मानिसहरुमा हृदयघातको जोखिम उच्च हुने गर्छन्,’ डा. अधिकारीले लोकान्तरसँग भने । 

प्रतिकुल मौसमका कारण छातीको संक्रमण छिटो हुने हुँदा जाडोमा मुटुरोगीहरुले विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ ।

छाती दुख्ने समस्या हृदयघातको लक्षण हुनसक्छ 

स्वस्थ्य रहनको लागि समय समयमा स्वास्थ्य परीक्षण गराउनु पर्छ भने पनि रोगले थला पर्ने अवस्था नभएसम्म अस्पताल नजाने नेपालीहरुको बानी अझै गएको छैन । अधिकांश विरामीहरु रोगले च्यापेपछि मात्रै उपचारको लागि अस्पताल आउने गरेको चिकित्सकको गुनासो छ । डा. अधिकारी पनि मुटुरोगीहरु रोगले च्यापेपछि मात्रै अस्पतालमा आउने गरेको बताउँछन् । 

‘वेहोस भएमा मात्रै हृदयघातको लक्षण हो भन्ने सोचाइ छ । तर छाती दुख्ने समस्या छ भने पनि हृदयघातको लक्षण हुनसक्छ । मानिसहरु निको भइहाल्छ भनेर उपचार नै गराउँदैन । जसले हृदयघातको जोखिमलाई झन् बढाउछ’ डा अधिकारी भन्छन, ‘त्यसैले छाती दुख्ने समस्या छ भने तुरुन्त अस्पतालमा स्वास्थ्य परीक्षण गराउनु पर्छ ।’
नेपालीहरुको अस्वस्थ्यकर जीवनशैलीको कारण नेपालमा दिन प्रतिदिन हृदयघातको समस्या बढ्दै गएको छ । गंगालाल अस्पतालमा मात्रै वार्षिक एक हजार हृदयघात विरामीहरु उपचारको लागि आउँने गरेको अस्पतालको तत्थ्याङ्क छ ।
पछिल्लो समय युवाहरुमा हृदयघातको समस्या बढ्दै गएको डा. अधिकारीले बताए । ‘उपचारका लागि अस्पतालमा आउँने विरामीहरुमा  १० प्रतिशत विरामीहरु ४५ वर्षमुनिका छन् । उनले लोकान्तरसंग भने, ‘नेपामा दिन प्रतिदिन युवाहरुमा हृदयघातको समस्या बढ्दै गएको छ ।’

यसकारण बढ्दैछन् हृदयघातका विरामी

– निश्क्रिय जीवनशैली अपनाउनु ।
– शरीरमा कोलेस्टेरोलको मात्रा बढि हुनु ।
– उच्च रक्तचाप 
– सुर्तिजन्य पदार्थ तथा धुम्रपान र अत्याधिक मदिरा सेवन 
– मोटोपना 
– वंशाणुगत गुण
– मानसिक तनाव
– अस्वस्थ्यकर खाना

हृदयघात हुन नदिन डा अधिकारीका सुझाव

– छाती दुख्ने समस्या छ भने समयमै अस्पतामा स्वास्थ्य परीक्षण गराउने ।
– उच्च रक्तचाप, माटोपना र सुगरलाई  नियन्त्रण गर्ने ।
– दैनिक आधा घण्टा शारीरिक व्यायम गर्ने ।
– आफुलाई तनावमा नराख्ने ।
– समय समयमा मुटु परीक्षण गराउने ।

salt training

कमेन्ट गर्नुहोस्