
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बालेन्द्र शाह (बालेन)ले आगामी फागुन ४ गतेभित्र देशका सबै १६५ वटा निर्वाचन क्षेत्रमा पुग्नेगरी आफ्नो चुनावी दौडलाई तीव्र बनाएका छन् ।
रास्वपाका केन्द्रीय सदस्य तथा मोरङ–३ का उम्मेदवार गणेश कार्कीका अनुसार, बालेनले तोकिएको समयभित्र देशभरका सबै निर्वाचन क्षेत्रमा पुगेर उम्मेदवार र कार्यकर्तामा उत्साह थप्ने तालिका तय भएको छ ।
कर्णाली र सुदूरपश्चिमको यात्रा सकेर दोस्रो पटक कोशी प्रदेश छिरेका बालेनको यो दौडमा उम्मेदवार र मतदाताबीचको ‘संवाद’ भने निकै पातलो देखिएको छ । उनले यसपटक ‘धेरै नबोल्ने तर धेरै देखिने’ अनौठो चुनावी रणनीति अख्तियार गरेका छन् ।
सोमबार बेलुका हवाई मार्गबाट भद्रपुर ओर्लिएर उर्लाबारीस्थित ससुराली घरमा बास बसेका बालेन मंगलबार दिनभर आफ्नै निर्वाचन क्षेत्र झापा–५ मा केन्द्रित थिए । बुधबार बिहानै उर्लाबारीबाट शुरू भएको उनको यात्रा लेटाङ, पथरी हुँदै मोरङको दक्षिणी भेग सुनवर्षीको डायनियाँ र रंगेली बजार भएर प्रदेश राजधानी विराटनगर आइपुगेको थियो ।
विराटनगर–२ स्थित रास्वपाको पार्टी कार्यालयमा उनलाई स्वागत गर्न समर्थक र कार्यकर्ताको बाक्लो उपस्थिति रहे पनि उनी कसैसँग बोलेनन् । सबैको अपेक्षा बालेन ओर्लिएर केही संवाद गर्नेछन् भन्ने थियो, तर उनले गाडीको छतबाटै घण्टी बजाउँदै र हात हल्लाउँदै समर्थकलाई अभिवादन गरे र सिधै सुनसरीतर्फ हुइँकिए । विराटनगरबाट दुहबी हुँदै इटहरी पुग्दा एउटा विवादास्पद दृश्य देखियो, जसले यतिबेला सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ ।
सुनसरी क्षेत्र नम्बर २ का रास्वपा उम्मेदवार लालविक्रम थापाले बालेनलाई स्वागत गर्दै माला लगाइदिन खोज्दा बालेनले उक्त माला ‘हातले हुत्याएर’ अगाडि बढेका थिए । यो घटनाको भिडियो भाइरल बनेपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आएका छन् ।
कतिपयले यसलाई ‘पुरानो माला लगाउने प्रवृत्तिको अन्त्य’ भन्दै प्रशंसा गरेका छन् भने कतिपयले आफ्नै पार्टीका उम्मेदवारको अपमान गरेको भन्दै आलोचना गरेका छन् । उक्त घटनापछि बालेन सुनसरीको बराहक्षेत्र पुगेका थिए । त्यहाँ उनले परम्परागत चुनावी शैलीभन्दा फरक ‘रुट’ रोज्दै सप्तकोशी नदीमा जेटबोट चढेर चतरास्थित बराह क्षेत्रको दर्शन गरेका थिए । प्रसिद्ध धार्मिक तथा सांस्कृतिक ढुङ्गा ‘खुवालुङ’ पुगेका थिए ।
किराँत सभ्यताको आस्थाको केन्द्र मानिने खुवालुङ पुगेर उनले यसको सांस्कृतिक महत्वबारे सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गरे । माला फालेको भिडियो भाइरल भएपछि उनले खुवालुङबारे लेख्नुलाई कतिपयले ध्यान मोड्ने प्रयास वा रणनीतिक मौनताको रूपमा बुझेका छन् ।
उनले लेखेका छन्, ‘खुवालुङ केवल एउटा ढुङ्गा होइन, यो मुन्धुमी सभ्यताको आधारस्तम्भ र जीवित सांस्कृतिक–आध्यात्मिक परम्पराको प्रतीक हो ।’ तत्कालीन सरकारले जल यातायातका लागि यो ढुङ्गा फुटाउने चर्चा चलाउँदा किराँत समुदायले यसको कडा विरोध गरेका थिए ।
पार्टीका तर्फबाट भावी प्रधानमन्त्रीको दाबेदारका रूपमा हेरिएका बालेन जहाँ पुग्छन्, त्यहाँ युवाहरूको सेल्फी लिने हानथाप हुन्छ । तर, उनले कुनै औपचारिक चुनावी सभालाई सम्बोधन नगरी केवल उपस्थितिले नै माहोल तताउने रणनीति लिएका छन् ।
राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेल बालेनको यो शैलीलाई नयाँ पुस्ता आकर्षित गर्ने रणनीतिको रूपमा व्याख्या गर्छन् । उनी भन्छन्, ‘अन्य दलका नेताहरू भाषण र घरदैलोमा व्यस्त रहँदा उनी पहाडका कुनाकाप्चा पुगेर आफ्ना उम्मेदवारहरूलाई ‘म तिम्रो साथमा छु’ भन्ने सन्देश दिइरहेका छन् । भाषणभन्दा पनि दृश्य र सांकेतिक उपस्थितिमार्फत नयाँ पुस्तालाई राजनीतिमा आकर्षित गर्ने उनको यो शैली निकै फरक र प्रभावकारी देखिएको छ ।’