
काठमाडौं, १३ पुस – पछिल्लो समयका चर्चित अभिनेता दयाहाङ राईलाई लिएर निर्माण गरिएको चलचित्र ‘मिस्टर झोले’ प्रदर्शनको तयारीमा छ ।
सधै उस्तै खालको चलचित्रमा अभिनय गरेको आरोप लाग्ने दयाहाङ राई र आफ्नै चलचित्र ‘कबड्डी’ बाट प्रभावित लाग्ने फिल्म बनाएको भनेर आरोप खेपेका निर्देशक रामबाबु गुरुङ यतिबेला चलचित्रको प्रचारप्रसारमा व्यस्त छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा भेटिएका निर्देशक रामबाबु गुरुङले चलचित्र कबड्डीबाट प्रभावित भएजस्तो देखिएपनि चलचित्र ‘झोले’ झोलेहरुको कथा भएको र कबड्डीसँग नमिल्ने बताए । ‘ट्रेलर हेर्दा कबड्डीकै स्वाद लागेपनि हामीले फरक स्वादको फिल्म बनाएका छौं, यसमा दयाहाङ राई मात्र होइन, अरु पनि झोले छन्’, उनले भने, ‘एउटै टिम भएकाले कबड्डीजस्तो लागेको मात्र हो, तर फिल्म त्यस्तो छैन ।’
दर्शकको मन जितेको चलचित्र ‘झोले’ को सिक्वेल लेख्न खोजेपनि लेख्दै गर्दा कथा अर्कै भएपछि त्यही नामको अगाडि मिस्टर थपेर ‘मिस्टर झोले’ नाम राखिएपनि पहिलेको चलचित्र ‘झोले’ को सिक्वेल नभएको निर्माता टेकेन खड्काले बताए । ‘हामीले झोलेका निर्देशकसँग पनि फिल्मको सिक्वेल बनाउने बारेमा सोचेका हौं, तर उहाँको समय नमिलेपछि यो टिमसँग काम गरिएको हो’, निर्माता खड्का थपे, ‘चलचित्र झोलेका कलाकार पनि दयाहाङबाहेक अरु छैनन्, कथाले मंगोलियन अनुहार मागेकाले गर्दा पनि हामीले प्रियंका कार्कीलाई फिल्ममा ल्याउन सकेनौं ।’
साथै अभिनेता दयाहाङ राईले आफ्नो भूमिकालाई मात्र नभएर फिल्मको अन्य पक्षमा पनि आफूले सघाएको बताए । ‘मनोवैज्ञानिक आधारले हेर्दा झोलेको भूमिका कबड्डीसँग मिल्दैन, मैले हरेक चलचित्रमा आफ्नो भूमिकालाई फरक बनाउने प्रयास गरेको हुन्छु’, उनले भने ।
दयाहाङ राई, चलचित्र आउँदो पुस २८ गतेबाट देशभर प्रदर्शन हुँदैछ ।