
अर्घाखाँचीबाट पछिल्ला चार वटा संसदीय निर्वाचन जित्दै आएका नेता थिए नेता टोपबहादुर रायमाझी । जिल्लामा ‘लोकप्रिय’ र केन्द्रमा प्रभाव राख्न सक्ने नेता रायमाझीले २०६४, २०७०, २०७४ मा तत्कालीन माओवादी र २०७९ को निर्वाचन एमालेबाट जितेका थिए । एमालेका तत्कालीन सचिव रायमाझी यसपटक उम्मेदवार छैनन् । भुटानी शरणार्थी काण्डमा जोडिएर उनी जेल परेपछि यो पटक १८ वर्षपछि जिल्लामा रायमाझीविहीन चुनाव हुँदैछ ।
एउटा मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा १५ जना उम्मेदवार मैदानमा छन् । उम्मेदवार धेरै भए पनि मुख्यत: जिल्ला यो पटक चार जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिन्छ । नेकपा एमालेबाट पिताम्बर भुसाल, नेपाली कांग्रेसबाट विष्णु खनाल (मुस्कान), नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट रामबहादुर चौहान, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट हरि भुसाल र राष्ट्रिय जनमोर्चाबाट पशुपति ढकाल उम्मेदवार छन् ।
सबैजसो उम्मेदवार केन्द्रस्तरका नेता नभएको हुँदा जिल्लामा कतै स्थानीय तहको चुनावी प्रतिस्पर्धा त होइन भन्ने चर्चा पनि सुनिन्छ । सबै उम्मेदवार प्रतिनिधिसभातर्फ नयाँ उम्मेदवार हुन् । अघिल्लो निर्वाचन जितेलगत्तै रायमाझी जेल चलान भएपछि जिल्लावासी सांसदको अभाव महसुस गरेका थिए ।
पाणिनी बहुमुखी क्याम्पसका प्राध्यापक सूर्य सारू यसपटक पनि मुख्य तीन दलबीच चुनावी दौड देखिएको बताउँछन् । ‘अहिले नै कसले फड्को मार्छ भन्ने अवस्था देख्न सकिँदैन’, प्राध्यापक सारूले लोकान्तरसँग भने, ‘पार्टीको छवि र संगठन हेर्दा एमाले अघि देखिन्छ, विशेष महाविधेशनपछि कांग्रेस एकजुट हुँदै उत्साहित छ । पार्टी नबदलौं, भोट बदलौं भन्ने ‘वेभ’ले रास्वपा पनि उत्साहित देखिन्छ ।’
सारू पनि जिल्लाले अहिले टोपबहादुरको अभाव महसुस गरेको बताउँछन् । केन्द्र र संसद्मा छाप पार्न सक्ने नेता जिल्लामा चाहिने रहेछ भन्ने नागरिकले महसुस गरेका उनले बताए ।
‘अहिले उम्मेदवार जिल्लामा परिचित भए पनि केन्द्रमा प्रभाव पार्न सक्ने कुनै पार्टीबाट पनि हुनुहुन्न । अहिले पनि रायमाझी उम्मेदवार बनेको भए उहाँको विकल्प जिल्लाले खोज्ने थिएन भन्ने जस्तो मलाई लाग्छ’, सारूले भने ।
विगतको नतिजा कस्तो ?
संगठनात्मक हिसाबले जिल्लामा एमाले र कांग्रेस बलियो देखिन्छन् । दुवै पार्टीले वडा तहमा सबै कमिटी गठन गरेका छन् । २०७९ को निर्वाचनको समानुपातिकतर्फको मत हेर्दा सबैभन्दा बलियो दल एमाले देखिन्छ । यो निर्वाचनमा एमालेले ३७ हजार ४५० र कांग्रेसले २६ हजार ८६५ मत पाएको थियो । यस्तै रास्वपाले ८ हजार ९५१, तत्कालीन माओवादी केन्द्र (हाल नेकपा)ले ७ हजार ३४२, राष्ट्रिय जनमोर्चाले ५ हजार ३२७ र नेकपा (एकीकृत समाजवादी)ले १ हजार ६७ मत पाएका थिए ।
प्रत्यक्षतर्फ रायमाझीले ४२ हजार ६७५ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेस नेतृ हालकी उपसभापति पुष्पा भुसालले भुसालले ४० हजार ९४५ मत प्राप्त गरेकी थिइन् । अघिल्लो निर्वाचनमा एमाले एक्लै र कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा गठबन्धन गरी चुनावी मैदानमा उत्रिएका थिए ।
जिल्लामा कूल १ लाख ७१ हजार ६५२ मतदाता रहेका छन् । जसमा पुरुष ८७ हजार १५७ र महिला ८४ हजार ४९५ मतदाता छन् । जिल्लामा १०२ मतदान स्थल र २०९ मतदान केन्द्र छ ।
उम्मेदवार को कस्ता ?
एमालेबाट उम्मेदवार बनेका भुसाल पार्टीका जिल्ला अध्यक्ष समेत हुन् । उनले यसअघिको चुनावमा नेता रायमाझीको चुनावी नेतृत्व सम्हालेका थिए । २०५४ मा गाविस अध्यक्ष भएका भुसाल पहिलो संसदीय यात्रामा लागेका नेता हुन् । भुसाल पार्टीमा संगठन निर्माणमा राम्रो खुबी भएका नेतामा चिनिन्छन् ।
कांग्रेसका मुस्कान लुम्बिनी प्रदेशका सहमहामन्त्री हुन् । पार्टीको पूर्वजिल्ला सभापति समेत रहेका उनी पनि २०५४ मा सरकारी सेवा छाडेर गाविस अध्यक्ष भएका थिए । २०७४ मा प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका खनाल हालका मुख्यमन्त्री चेतनारायण आचार्यसँग पराजित भएका थिए ।
रास्वपाको जिल्ला संगठन निर्माणमा खटिएका रास्वपा उम्मेदवार हरि भुसाल पार्टी स्थापनाकालदेखि लागेका नेता हुन् । पार्टीको जिल्ला सभापति समेत रहेका ३७ वर्षीय भुसाल व्यवसायमा पनि जोडिएका छन् । जनस्तरमा भिजेका हरि गत निर्वाचनपछि लगातार पार्टी निर्माणमा लागिरहेका थिए ।
नेकपा उम्मेदवार चौहानको राजनीतिक यात्रा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट शुरू भएको हो । नेकपा एमालेको जिल्ला सचिवसम्म भएका चौहान पार्टी विभाजनपछि नेकपा एकीकृत समाजवादी पार्टीको जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य बने । फेरि पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्र र माधवकुमार नेपाल नेतृत्वको नेकपा एसबीच एकीकरणपछि बनेको नेपाली कम्युनिस्ट पार्टीमा चौहान केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् ।
के भन्छन् उम्मेदवार र नेताहरू ?
अर्घाखाँचीमा प्रमुख चार दलका उम्मेदवार नतिजा आफ्नो पक्षमा आउने दाबी गर्छन् । रास्वपाका उम्मेदवार हरिप्रसाद भुसालले जनताको बीचमा जाँदा पाएको सद्भाव, विश्वास र मायाले उत्साहित बनाएको बताए ।
‘संगठन कांग्रेस र एमालेको जस्तो नहोला’, भुसालले भने, ‘पार्टीका पदाधिकारी लेबलका मान्छेले आफैं फोन गरेर म फलानो पार्टीमा छु, भोट चाहिँ तपाईंलाई हाल्छु भनेर भनेका छन् । गाउँटोलमा पुग्दा रास्वपाको उम्मेदवार भन्दा जनताले हामीलाई थाहा छ योपटक घण्टीमा भोट हाल्ने हो भनेर आफैं खुलस्त भनेका छन् ।’
नेपाली कांग्रेस अर्घाखाँचीका सभापति केशव श्रेष्ठ जिल्लामा यो पटक मुख्यत: तीन पार्टीबीच मुख्य प्रतिस्पर्धा हुने देखिए पनि नतिजा कांग्रेसको पक्षमा आउने बताउँछन् ।
‘विगतमा तालमेल गर्दा कांग्रेसमा भोट हाल्न नपाएकाहरूले योपटक खुसी व्यक्त गरेका छन्’ श्रेष्ठले भने, ‘कांग्रेस, एमाले र रास्वपाबीच प्रतिस्पर्धा हुन्छ होला सायद, माहोल कांग्रेसको पक्षमा देखिन्छ । जिल्लामा कांग्रेसको संगठन र बलिया उम्मेदवार हुनुहुन्छ ।’
एमाले जिल्ला सचिवालय सदस्य खुबीराम आचार्य जिल्लाको विकासका लागि एमालेलाई जिताउनुपर्छ भन्ने जनमानसमा छाप देखिएको दाबी गर्छन् ।
‘एमालेले आफ्नो विरासत जोगाउँछ’, नेता आचार्यले भने, ‘हाम्रो प्रतिस्पर्धी कांग्रेस हो, रास्वपालाई देखेका छैनौं । घरदैलो र कार्यकर्ता भेटघाटले हामी उत्साहित भएका छौं ।’