
काठमाडौँ, १४ पुस- राष्ट्रपति विद्यादेवी भण्डारी र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेशको विषयमा उनीहरूबीच डेढ घन्टा छलफल भएको हो । प्रचण्डसँगको भेटपछि राष्ट्रपति अध्यादेश स्वीकृत गर्ने मुडमा पुगेकी छिन् । जनमतको सम्मान गर्दै विवादको समाधान खोज्नुपर्ने पक्षमा राष्ट्रपति र प्रचण्डबीच कुराकानी भएको राष्ट्रपतिका प्रेस संयोजक माधव शर्माले बताए ।
राष्ट्रिय सभासम्बन्धी अध्यादेशलाई लिएर विवाद बढ्दै जाने स्थिति देखिएपछि राष्ट्रपति स्वीकृत गर्ने मनस्थितिमा पुगेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । राष्ट्रपतिले २८ मंसिरदेखि प्रधानमन्त्री शेरबहादुर देउवासहित एमाले, राजपा, संघीय समाजवादी फोरमका अध्यक्षसँग निरन्तर परामर्श गर्दै आएकी थिइन्, नयाँ पत्रिकाले खबर छापेको छ ।