
काठमाडौं, १४ पुस– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक स्थीरता र समृद्धि वाम गठबन्धनका एजेण्डा भएको बताएका छन् ।
व्रह्मा कुमारी राजयोग सेवा केन्द्रले शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले राष्ट्रलाई एकतावद्ध गर्ने, राष्ट्रमा शान्ति कायम गर्ने, सुशासन कायम गर्ने, समृद्धितिर देशलाई लैजाने कामको निम्ति नै वाम गठबन्धनको एजेण्डाहरु केन्द्रित गरेको बताए ।
अहिले जनताको चाहना राष्ट्रको समृद्धि र विकास नै भएको बताउँदै प्रचण्डले भने, ‘मैले त निर्वाचनको बेला पनि भनेको छु मेरो बाँकी जीवन शान्ति, समृद्धि, राष्ट्रको एकता र स्वाभिमानको निम्ति ।’
देशमा लामो समयसम्म राजनीतिक उतारचढाव, खिचातानी भएकाले जनताको चाहना तथा राष्ट्रको आवश्यकता पनि शान्ति, समृद्धि र विकास नै भएको उनले बताए ।
१० वर्षे सशत्र युद्धको नेतृत्व गरेर शान्तिपूर्ण राजनीतिमा आएका प्रचण्डले युद्धमा लाग्ने मान्छेहरुले नै शान्तिको महत्व सबभन्दा बढी बुझ्ने र शान्ति कायम गर्न पनि भूमिका खेल्नेसमेत बताए ।
बुद्धको शान्तिको सन्देश संसारभरि फैलाउनको लागि अशोकाले खेलेको भूमिकाको स्मरण गर्दै प्रचण्डले भने, ‘जबकी उनी पहिले ठूलो कमाण्डर, हजारौं मान्छे मर्ने र मार्ने गरेका थिए, तिनै मान्छे शान्तिका त्यत्रा ठूला प्रवर्तक भएर आए ।’