
दश दिनअघि पूर्वी पहाडी जिल्ला ताप्लेजुङबाट झापा झर्नासाथ मैले पुराना पत्रकार राजकुमार रेग्मीलाई फोन गरेँ । उनी विगत केही महिनायता चुनावी माहोल र सम्भावित नतिजाको सर्वेक्षणमा सर्वाधिक व्यस्त सञ्चारकर्मी हुन् भन्ने थाहा पाएको थिएँ ।
रेग्मी भेट्न तयार भए । हामीले झापा–५ को दमक चोकको एउटा क्याफेमा करिब साढे दुई घण्टा बितायौं । ‘तपाईं यति धेरै जिल्ला घुमिसक्नुभयो । चुनावको पछिल्लो माहोल बताउनुस् न’ मेरो प्रश्न सुन्नासाथ उनले भने– ‘विमलजी, धेरैले यसपालि नयाँ अर्थात् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पक्षमा वेभ (लहर) आएको भन्छन् । तर मेरो बुझाइमा यसपटक लहर होइन, सुनामी आउँदैछ ।’
‘सुनामी ? अलि बढी भएन ? सुनामीले त सबै बढार्छ नि ?’ के रास्वपाले यसपटक सबैलाई बढार्दै छ ?’ मैले सोधें । ‘हो, सुनामी आउँदैछ । मैले त्यही बुझेको छु । अरू कसले के भन्छ, मतलब छैन’ उनले थपे ।
सुनामीवाला उनको त्यो शब्दले अतिरिक्त खुल्दुली बढायो । रास्वपाको पक्षमा लहर बढेको आभास काठमाडौंमै थियो । तर, उनले दाबी गरेजस्तो अलि होइन कि भन्ने लागिरह्यो । भोलिपल्ट बिहानैदेखि हामी (सहकर्मी सुशील पन्त र लोकान्तरका विराटनगर प्रतिनिधि उत्तम पोखरेलसहितको टोली) दमक चोक हुँदै विभिन्न स्थानमा मतदातासँग कुरा गर्न निस्कियौँ । करिब ५०–६० जनाजतिसँग कुरा गरेपछि मैले बुझेँ– राजकुमारजीको ‘सुनामी’ शब्द चयन सही छ ।
हामी झापा– ५ मा तीन दिन बस्यौँ । त्यहाँको ग्रामीण भेगदेखि शहरी क्षेत्रका सातसय नौजना मतदातासँग कुरा गर्यौं । सकभर तटस्थ मतदातासँग बढी कुरा गर्ने प्रयास भयो । सबै उमेर समूहका र विभिन्न पृष्ठभूमिका व्यक्ति प्राथमिकतामा थिए । हाम्रो स्थलगत अध्ययनले भन्छ– यसपटक काठमाडौंमा बसेर सौरभ (दिनेश सत्याल) या मुमाराम खनालहरूले गरिरहेको विश्लेषण फ्लप खानेछन् । चाहे झापामा बालेनलाई जिताउन मतपेटिका साटिन सक्ने विश्लेषण होस् या कांग्रेस पहिलो पार्टी बन्छ भन्ने हचुवा तर्क । चाहे बंगलादेशको चुनावी नतिजासँग जोडेर गरिएका बोक्रे विश्लेषण हुन् या भुइँको यथार्थ बुझ्दै नबुझी गरिएका एकपक्षीय टिप्पणी, यसपटक कुनै विश्लेषण/अनुमान मिल्नेवाला छैनन् । केवल एउटै विश्लेषण मिल्नेछ–रास्वपाले नसोंचेको नतिजा निकाल्दैछ ।
पढ्नुहोस्, यो पनि
विशेष रिपोर्ट : सात सय मतदातासँग कुरा गरेपछि झापा-५ मा जे देखियो...
यद्यपि, दमकमा रहँदासम्म मेरो मनमा एउटा प्रश्न चाहिँ थियो–यस्तो लहर कतै झापामा मात्रै त होइन ? किनभने झापा ५ यसपटक विशेष चर्चामा छ । दुई हेभिवेट (बहुचर्चित ओजनदार उम्मेदवार) एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएर बालेन्द्र (बालेन) शाह प्रतिस्पर्धामा उत्रिएकाले झापाको माहोल भिन्न देखिएको पो हो कि भन्ने लागेको थियो ।
तर, झापा छोडेर जब हामी पूर्वी तराईका अन्य जिल्लाका हुलाकी मार्ग, भित्री बस्ती, दर्जनौं ग्रामीण स्थानमा प्रवेश गर्यौं, घण्टीप्रतिको आकर्षण उस्तै पायौं । शहरका गल्ली हुन् या चोक । गाउँका बस्ती हुन् या चिया अड्डा । तपाईं टक्क अडिनुस् र सोध्नुस्– यसपटक यहाँको चुनावी माहोल के छ ? कुन दलप्रति बढी चासो या रुचि छ ? विना संकोच र हिच्किचावट फ्याट्ट उत्तर आउनेछ– यसपालि नयाँलाई हेर्ने हो ।
बुढा, वयस्क, युवा, धनी, गरिब, शिक्षित, कम शिक्षित या लेखपढ गर्न नजान्ने । जोसुकैलाई सोध्नुहोस् । उनीहरू सहजै भन्छन्– पुरानालाई धेरै हेरियो, यसपटक नयाँलाई हेर्ने हो ।
१३ दिनमा १९ जिल्लाको व्यक्तिगत स्थलगत अवलोकन र कर्णालीबाहेक अन्य प्रदेशका जिल्लाहरूमा लोकान्तरको चारवटा छुट्टाछुट्टै टिमले गरेको अध्ययन (जुन जारी नै छ)पछि लुम्बिनी प्रदेशको रुपन्देहीमा पुगेर यो आलेख लेख्दै गर्दा म के निष्कर्षमा पुगेको छु भने यसपटक परिवर्तनको पक्षमा मतदाताले अभूतपूर्व मत प्रकट गर्दैछन् । अर्थात्, रास्वपाले धेरैले कल्पना गरेभन्दा बढी (उत्कृष्ट) नतिजा निकाल्दैछ । मेरो बुझाइमा रास्वपाले एकल बहुमतको सरकार बनाउन सक्ने नतिजा आरामले निकाल्दैछ । अझै बढी सिट जित्ने सम्भावना उच्च छ । निर्वाचन आचार संहिताका कारण मसँग भएका तथ्याङ्क जस्ताको तस्तै यो आलेखमा प्रकट गर्न म असमर्थ छु । त्यसका लागि आदरणीय पाठक समक्ष क्षमा चाहन्छु ।
यो चुनावमा नेकपा (एमाले)ले सबैभन्दा ठूलो (कल्पना गरेभन्दा धेरै नै) क्षति व्यहोर्दैछ, जुन धेरैलाई अपत्यारिलो लाग्न सक्छ । बुढा नेतालाई पन्छाएर युवाको नेतृत्वमा चुनावमा होमिएको नेपाली कांग्रेसले अपेक्षित परिणाम ल्याउने छैन । खासमा कांग्रेस पार्टी युवाको हातमा आइसक्यो भन्ने सन्देश गाउँ–गाउँमा पुगेकै देखिएन । सायद, नेतृत्वमा आएका युवा कांग्रेसीले समय अभावका कारण त्यस्तो सन्देश पुर्याउन भ्याएनन् । या, युवाको हातमा कांग्रेस आएको थाहा पाए पनि त्यो पुरानै पार्टी त हो नि ! भनेर जनताले पत्याउने अवस्था बनेन । यसको प्रत्यक्ष फाइदा रास्वपाले उठाउँदैछ । मधेश केन्द्रित दललाई पनि घण्टीले आच्छु–आच्छुु पारेको छ । रास्वपाले मधेशबाट राम्रो नतिजा हात पार्ने स्पष्ट सम्भावना छ । समग्र चुनावी नतिजामा रास्वपाले प्रत्यक्षमा भन्दा समानुपातिकबाट धेरै सिट जित्ने मेरो विश्लेषण छ ।
नयाँलाई हेर्ने हो भन्दै गर्दा केही रोचक प्रसंग भेटिए । केही मतदाताले आफ्नो निर्वाचन क्षेत्रमा रास्वपाको उम्मेदवार को हो वा कस्तो पृष्ठभूमिबाट आएको छ भन्ने जानकारी नै लिएका छैनन् । तर उनीहरू भोट चाहिँ घण्टीलाई दिने हो भन्छन् । घण्टीको नाम लिँदा उनीहरूमध्ये धेरैले बालेनको नाम लिए । त्यसपछि रविको । धेरैलाई पत्यार लाग्दैन र लेखक पूर्वाग्रही भएजस्तो देखिएला तर भुइँको वास्तविकता के छ भने ५० जनासँग कुरा गर्दा एक/दुईजना मतदाता मात्र पुराना दलको नाम लिन्छन् । बाँकी सबै घण्टीको पक्षमा खुल्छन् ।
कुनै कुनै स्थानमा मतदाताको कुरा सुन्दा यस्तो लाग्थ्यो, मानौं घण्टी चुनाव चिन्हमा यस क्षेत्रमा पात, पतिङ्गर उठाइएको भए पनि पनि उसले चुनाव जित्दैछ । जनतामा रास्वपाप्रति त्यो हदको उत्साह या लहर छ ।
मासुभात, पैसा या प्रलोभनले छुने देखिँदैन
मतदाता यति प्रतिबद्ध भएर बसेको पाइयो कि उनीहरूको निर्वाचन क्षेत्र या टोल समाजमा पैसोको खोलो बगाए पनि, आकाश खसे पनि या जमिन भासिए पनि हत्तपत्त आफ्नो निर्णय फेर्ने पक्षमा देखिँदैनन् । काठमाडौंबाट मित्रहरू फोन गरेर भन्छन्– ‘साथी, यो निर्वाचन हो । अनि मतदाता नेपाली हुन् । अन्तिम दिनसम्म पुग्दा कता लाग्छन्, थाहा हुन्न । धेरै कुराले प्रभावित हुन सक्छन् । धेरै नबहकिनु ।’
अरे यार, म किन बहकिनु ? न म रास्वपाको सदस्य हो । न मैले रास्वपालाई खुसी पार्ने उद्देश्यले रिपोर्टिङ गरिरहेको छु ? न मलाई कांग्रेस, एमालेको चित्त दुखाउनु छ ? एउटा सञ्चारकर्मीको नाताले सत्य र तथ्यलाई ‘हाइड’ (ढाकछोप) गर्न मिल्छ र ? आफूले बुझेको सत्य उजागर गर्दा बहकिएको हुन्छ र ?
हामीसँग कुरा गर्नेमध्ये कतिपय मतदाताले चुनावको अन्तिम दिनसम्म मुड परिवर्तन गरिहालेछन् भने पनि त्यो सयमा ५ जना मात्र हुनेछन् । त्यसले चुनावी नतिजामा ठूलो फरक पार्ने छैन । यसको अर्थ, यसपटक मतदाता एकोहोरिएका छन् । मासुभात या पैसामा बिक्ने पक्षमा छैनन् ।
मतदाता यसपटक पुराना दलप्रति साँच्चिकै रिसाएका छन् । कारण विविध देखिए । ३५ वर्षसम्म कांग्रेस, एमाले र माओवादीलाई निरन्तर समर्थन गर्दा समाजमा खोजेजस्तो सुधार नआएको, आफूहरूका दु:ख ज्युँका त्युँ रहेको र नेताहरूले वर्षौंसम्म देश लुटेको धेरैको गुनासो देखिन्थ्यो । धेरै मतदाताले पुष्पकमल दाहाल (प्रचण्ड) र उनकी छोरी गंगा दाहाल, शेरबहादुर देउवाकी पत्नी आरजु राणा र केपी ओलीको कोर टिमका केही पात्रप्रति वर्षौंसम्म देश लुटेको, अकुत सम्पत्ति थुपारेको र कुशासन बढाउन प्रमुख भूमिका खेलेको भन्दै आक्रोश व्यक्त गरे । (नोट: मतदाताले हामीसँग गरेका सबै कुराकानीको अडियो/भिडियो र फोटाहरू हामीले जस्ताको त्यस्तै रेकर्ड गरेका छौं र सुरक्षित राखेका छौं)
पुरानादलप्रति असन्तुष्ट हुनुको कारणमा धेरैले कुशासन, महँगी, गरिबी, स्वास्थ्य, शिक्षा, बाटो अभाव, बेरोजगारीजस्ता कारण देखाए । आफ्ना छोराछोरी रोजगारीको लागि विदेशिन बाध्य पारिएकोप्रति पनि धेरैको गुनासो देखियो । बाटोको प्रसंग केही फरक रहेछ । गाउँका कुना काप्चामा बाटो नपुगेका होइनन् । तर, कच्ची बाटोले जनतालाई निकै सास्ती दिएका छन् । बाह्रैमास उड्ने धुलोले जनता हैरान छन् । वर्षातको समयमा हिलोका कारण आजित रहेछन् ।
बालेनको इन्ट्रीले मधेशमा छुट्टै तरङ्ग
यसपटक तराईका मतदाताको मनोविज्ञान पनि परिवर्तन भएको पाइयो । शाहको छोरा प्रधानमन्त्री बन्छ भने एकपटक हेरौं भनेर धेरैले बालेनप्रति समर्थन जनाएको हामीसँगको कुराकानीमा खुलेर बताए । हामीले चुनावी रिपोर्टिङको सिलसिलामा मुख्य राजमार्ग होइन, भित्री सडकको यात्रा गरेका थियौं ।
जस्तो कोशी ब्यारेज कटेर सप्तरी आउनासाथ हामी मुख्य राजमार्ग छोडेर हुलाकी राजमार्ग हुँदै धनुषा पुग्यौँ । कारण थियो– गाउँ बस्तीका मतदाताको मनोविज्ञान बुझ्नु । प्राय: हामी गाउँ बस्तीका चोकहरूमा गाडीबाट ओर्लन्थ्यौं । मतदातासँग कुरा गर्नासाथ थाहा हुन्थ्यो यहाँ पनि घण्टी घुसिसकेको छ । मधेशी मतदाताले बालेनका कारण आफूहरूको घण्टीप्रति अतिरिक्त आकर्षण बढेको सहजै खुलाए ।
जति आरोप लगाए पनि जनता सुन्ने पक्षमा छैनन्
रास्वपा, रवि र बालेनलाई मन नपराउने पनि यो समाजमा छन् । उनीहरू सामाजिक सञ्जालमा भिडियो या शब्दमार्फत् यी दुवैले विगतमा गरेका नराम्रा कामको प्रचार गरिरहेका भेटिन्छन् । हामीले रवि/बालेनबारे आइरहेका त्यस्ता प्रचारलाई के भन्नुहुन्छ भनेर पनि मतदातासँग बुझ्ने प्रयास गर्यौं ।
मतदाता रवि/बालेनबारे जतिसुकै, जुन तहको किन नहोस्, नराम्रा कुरा सुन्ने या उनीहरूप्रतिको समर्थन बदल्ने मुडमा देखिँदैनन् । मतदाताले बालेनले मेयरका रूपमा काठमाडौंमा कायापलट गरेको दाबी गरे । त्यस्तो के गरेछन् भनेर सोध्दा उत्तर आउँथ्यो– काठमाडौं चम्काए । देशभरि एम्बुलेन्स बाँडे ।
गरिबका छोराछोरीले बालेनकै कारण देशभर सित्तैमा पढ्न पाउने भएका छन् रे ! बालेनको कामबारे आफूहरूले सामाजिक सञ्जालबाट धेरै कुरा थाहा पाएको उनीहरूको भनाइ छ । जसरी मतदाता बालेन या रविबारे नराम्रा कुरा सुन्न तयार छैनन्, त्यति नै पुराना दलका सांसदले विगतमा उनीहरूका निर्वाचन क्षेत्रमा गरेका राम्रा कामको प्रशंसा गर्न पनि तयार देखिएनन् ।
मतदाताको निर्वाचन क्षेत्रमा भएका विकासका विभिन्न उदाहरण देखाएर यसलाई के भन्नुहुन्छ ? भनेर सोध्दा उनीहरूलाई त्यो कुराले पटक्कै छोएको देखिएन । अर्थात्, मैले विगतमा यति बाटो बनाए, यति बजेट ल्याए, यस्तो गरेँ, उस्तो गरेँ भनेर कुनै पूर्व सांसदले गर्ने दाबीले पनि मतदाताको मन पगाल्ने देखिएन ।
घर–घरमा युवा सदस्यको दबाब
मतदाता यति एकोहोरिएका पाइए कि धेरै स्थानमा उनीहरूलाई यहाँ पहिले कांग्रेस या एमालेको गढ थियो, फलानाको विरासत हो भन्ने कुराले पटक्कै छोएको देखिँदैन । युवा पुस्तामा रास्वपाप्रति अति नै आकर्षण देखियो । त्यसको प्रत्यक्ष असर घरका बुवा, आमा, दाजुभाइ, दिदीबहिनीमा परेको देखिन्छ । घरको युवा उमेरको सदस्यले आफ्ना पाका बुवा, आमा वा अन्य सदस्यलाई घण्टीमा भोट हाल्न दबाब दिइरहेका दर्जनौं प्रसंग हामीले भेट्यौं ।
त्यसका अलावा विदेशमा रहेको सदस्यले घरमा फोन गरेर यसपटक घण्टीमा मतदान गर्नुपर्छ भनेर व्यापक दबाब दिइरहेका प्रसंग धेरै भेटिए । पूर्वी पहाड र मधेशमा जातीय एवं क्षेत्रीय रंग बदलिएको देखियो । मधेशी भएकाले मधेशी उम्मेदवारलाई या जनजाति भएकाले जनजाति उम्मेदवारलाई जिताउनुपर्छ भन्ने पक्षमा मतदाता देखिएनन् ।
मतदाता धेरै सचेत भइसकेका देखिन्छन् । उनीहरू विगतमा कांग्रेस, एमाले या माओवादी भए पनि यसपटक चुपचाप घण्टीमा मतदान गर्ने मुडमा छन् । त्यस्ता मतदाताले हामीसँगको कुराकानी भने अनुसार यदि रास्वपाले पनि राम्रो काम गरेन भने अर्को चुनावमा उनीहरू फेरि भोट परिवर्तन गर्ने तहमा पुग्नेछन् ।
.....अनि आफैंले गरिरहेको सञ्चारकर्मलाई गिज्याउने प्रसंग
सामाजिक सञ्जाल र अल्गोरिदमले मतदातामा व्यापक प्रभाव पारेको पाइयो । मूलधारका समाचार माध्यम जस्तै अनलाइन न्यूज पोर्टल, पत्रपत्रिका, रेडियो, टिभीका समाचारले जनतालाई छुन छोडेछ । शहर होस् या गाउँ, पढेका युवा, युवती होऊन् या बूढापाका, धेरैलाई प्रभाव पार्ने माध्यम बनेको छ– फेसबुक, टिकटक र युट्युब ।
उनीहरू फेसबुकको रिल्स, युट्युबको सर्टस् र टिकटकमा आउने भाइरल भिडियोलाई सूचनाको अन्तिम सत्य ठान्दा रहेछन् ।
सामाजिक सञ्जालमा आउने सबै सूचना सत्य नहुन सक्छन् नि भनेर सम्झाउन खोज्नुभयो भने जवाफ पाउनुहुनेछ– ‘तपाईंले भनेर हुन्छ? फेसबुकले लेखिसक्यो ।’
झापा ५ मा पर्ने गौरीगञ्ज गाउँपालिकामा लोकान्तर टिमले त्यहाँको चुनावी माहोलबारे कुराकानी गर्दै थियो । जेरी, समोसा, मिठाइ पसल सञ्चालन गर्ने स्थानीय व्यापारी किशोरकुमार साह तेलीसँग पनि यो पंक्तिकारले चुनावी माहोलबारे केहीबेर कुरा गर्यो । उनी खुलेर घण्टीको पक्षमा उभिए । कुराकानी सकिएपछि हिँड्ने बेला उनले सोधे– मैले बोलेको कुरा टिकटकमा आउँछ कि फेसबुकमा सर? मैले उत्तर दिएँ– ‘होइन, लोकान्तरमा आउँछ ।’
‘त्यो त थाहा भएन । के मा आउँछ ? टिकटकमा कि फेसबुकमा ?’ उनले दोहोर्याएर सोधे । त्यसपछि मैले लोकान्तर भनेको अनलाइन न्यूज पोर्टल हो । यसरी खोल्न र पढ्न सकिन्छ भनेर उनकै मोबाइलमा देखाएर बुझाउने प्रयास गरेँ ।
बुझेँ झै गरेर टाउको त हल्लाएका थिए तर, छुट्टिने बेला उनले अन्तिमपटक सोधे– सर, हामी कि त फेसबुक हेर्छौँ, कि टिकटक । अरू त हेर्दै, हेर्दैन । मेरो कुरा टिकटकमा हालिदिनु होला है ।’
तेली त एउटा प्रतिनिधि पात्र हुन् । चुनावी रिपोर्टिङका क्रममा यस्तो समस्या हामीले धेरै ठाउँमा झेल्नुपर्यो । अहिले आफैंले आफैंलाई प्रश्न सोधिरहेको छु– हामीले खासमा कस्तो पत्रकारिता गरिरहेका छौ ? फेसबुक र टिकटकको अगाडि हाम्रो पत्रकारिताको स्थान सकिन लागेको हो ?
...र, अन्त्यमा भन्छु– नयाँ पनि नसच्चिए अर्कोपटक अर्कै
२०७९ को चुनावमा चितवन पुग्नुअघि मैले जे सुनेको थिएँ, त्यहाँ पुगेपछि त्योभन्दा बढी चुनावी लहर देखेँ– रवि लामिछानेको पक्षमा । जसलाई सोध्यो रवि । जता सोध्यो रवि । व्यक्तिगत रूपमा रविको पक्षमा मात्र होइन, पुराना नेताहरूप्रति मतदाताको आक्रोश बढी देखिन्थ्यो । चितवन आसपासलगायत ३० बढी जिल्लाको अवलोकन गर्दा अब नयाँलाई हेर्ने हो भन्ने लहर शुरू भइसकेको थियो । त्यो देखेपछि मैले लोकान्तरमा एउटा लेख लेखेको थिएँ । जसको शीर्षक थियो– नेताज्यूहरू माफ गर्नुस्, यो चुनाव तपाइँहरूको आखिरी चिट्ठा हुनसक्छ ।
पुराना राजनीतिक दलका बुढा नेताहरूप्रति बढेको मतदाताको आक्रोशको नाडी छामेपछि मैले त्यो लेख लेखेको थिएँ र, त्यही लेखको अन्तिममा भेनेको थिएँ– यदि पुराना दल सच्चिएनन् भने सकिन्छन् । अहिले अवस्था झण्डै त्यस्तै आइपरेको छ । पुरानामध्ये कांग्रेसका शेरबहादुर देउवा यो चुनावी मैदानमै छैनन् । प्राविधिक हिसाबले केपी ओली र प्रचण्ड मैदानमा छन् । तर, यथार्थ के हो भने ओली र प्रचण्ड दुवैलाई जनताले कत्ति पनि मन पराएका छैनन् । खासमा यी दुवै नेता चुनावी दौडबाट बाहिरिएको भए पुरानाप्रति मतदाताको आक्रोश यो तहमा बढ्ने थिएन भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।
यस पटकको चुनावमा रास्वपाको पक्षमा व्यापक माहोल देखिएको छ । अबको चुनावपछि रास्वपा नेतृत्वको सरकार बन्ने स्पष्ट छ । यही आलेखमार्फत् भन्न चाहन्छु–यदि रास्वपाले पनि राम्रो गर्न सकेन भने अर्कोपटक मतदाताले उसलाई पुन: समर्थन गर्ने छैनन् । सम्भवतः मानिसहरूको मन बरु राजा नै ठिक रहेछन् भन्दै ज्ञानेन्द्र शाहका नाति हृदयन्त्रतिर मोडिन सक्छ या त्योभन्दा अन्य कुनै भिन्न परिस्थिति बन्न सक्छ ।