१० साउन २०८३, आइतबार

नारायणी किनारमा कवि मेनका चापागाईंका दर्जन कविता

फागुन ९, २०८२
चितवन
नारायणी किनारमा कवि मेनका चापागाईंका दर्जन कविता

अक्षर समूह चितवनले कवि मेनका चापागाईं काप्रीको एकल कविता वाचन कार्यक्रम गरेको छ ।

‘एक कविका एक दर्जन कविता’ कार्यक्रममा कवि काप्रीलाई विशेष रूपमा प्रस्तुत गरिएको थियो । कार्यक्रममा उनले दश वटा कविता वाचन गरिन् भने दुई जना अतिथि कविले पनि साथ दिएका थिए ।

गत असोजमा ‘मनको अदालत’ कवितासङ्ग्रह प्रकाशनमा ल्याएर साहित्यिक यात्रामा औपचारिक पाइला टेकेकी कवि मेनका निरन्तर सिर्जनशील साधनामा सक्रिय छिन् । 

पहिलो कृतिपछि अझ परिपक्व र धारिलो अभिव्यक्तिका साथ अघि बढिरहेकी काप्रीले शनिबार गैंडाकोटमा एकल कवितावाचनमार्फत आफ्नो सशक्त उपस्थिति दर्ज गराइन् ।

काप्रीले ‘म कवि’ शीर्षकबाट वाचन प्रारम्भ गर्दै क्रमशः ‘लेखापरीक्षक’, ‘बदलिएको समय’, ‘दुश्मन फेरिएको दिन’, ‘खरानीको फूल’, ‘माइली दिदीको परिचयपत्र’, ‘माने दाइ उपसचिव बने’, ‘नथुवा चौधरी’, ‘स्त्री आह्वान’ र ‘म चेतनाको कल्पवृक्ष हुँ’ शीर्षकका कविता प्रस्तुत गरिन् । 

उनका कवितामा प्रेमका कोमल अनुभूति मात्र होइन, समाजका यथार्थ, राजनीतिक विसंगति र परिवर्तनको आकांक्षा स्पष्ट रूपमा झल्किएको थियो ।

अतिथि कवि समिता पौडेल न्यौपानेले ‘मेरो अनुपस्थिति’ र शून्य नयनले ‘जब कवितासँगै जिउन थालेँ म’ शीर्षकका कविता वाचन गर्दै कार्यक्रमलाई थप अर्थपूर्ण बनाएका थिए ।

कार्यक्रममा कवि काप्रीले सामाजिक तथा राजनीतिक चेतनाले भरिएका सिर्जनामार्फत् समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने आफ्नो उद्देश्य रहेको बताइन् ।

लेखराम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सूर्यप्रकाश कँडेलले स्वागत मन्तव्य राखेका थिए । संस्थापक अध्यक्ष भूपिनले २०६२ सालदेखि अक्षर समूहले निरन्तर कृति चर्चा, कवितावाचन तथा विविध साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको जानकारी गराए । कार्यक्रमको सहजीकरण सचिव विनोदबाबु रिजालले गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्