१२ साउन २०८३, मंगलबार
चुनावी ग्राउण्ड जिरो

सोलुको चुनावी दृष्य : कतै भोट साट्ने चर्चा, केहीलाई सांस्कृतिक तगारो

फागुन १५, २०८२
सोलुखुम्बु
सोलुको चुनावी दृष्य : कतै भोट साट्ने चर्चा, केहीलाई सांस्कृतिक तगारो

सगरमाथाको काखमा अवस्थित हिमाली जिल्ला सोलुखुम्बुमा यतिबेला हिउँदे जाडो छ । हिउँमुनिको हिमाली जिल्लामा जाडोसँगै चुनावी चटारो बढेको छ । चुनावी चर्चा र उम्मेदवारहरूको लावालस्करले सोलुको राजनीति भने गर्माएको छ ।

बिहानको झुल्केघामसँगै चिया पसलमा तात्ने राजनीतिक गफदेखि गाउँघरका चौतारी र घाँस-दाउरा गर्ने मेलापातसम्म एउटै चर्चा सुन्न पाइन्छ– यसपटक सोलुखुम्बुले कसलाई भोट दिएर सिंहदरबार पठाउला ? ८५ हजार ८१५ मतदाता रहेको सुन्दर सोलुमा एउटा मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र छ ।

जिल्लामा परम्परागत शक्तिका रूपमा रहेका पुराना दललाई यसपटक नयाँले चुनौती दिने देखिएको छ । सोलुदुधकुण्ड नगरपालिका, थुलुङ दुधकोशी गाउँपालिका, महाकुलुङ गाउँपालिका र नेचासल्यान गाउँपालिकाका सय बढी मतदातासँग कुराकानी गर्दा यहाँ आसन्न चुनावले अत्यन्तै रोचक, अनपेक्षित र बहुआयामिक परिणाम ल्याउने संकेत गरेको छ ।

सोलुमा नेकपा (एमाले)की कल्पना राई, नेपाली कांग्रेसका प्रकाशसिंह कार्की, नेकपाका असिम राई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ऋषिधन राईसहितका उम्मेदवार चुनावी मैदानमा छन् । उनीहरूबीच नै मुख्य प्रतिस्पर्धा हुने मतदाताहरू बताउँछन् । यसमा पनि कांग्रेस र परिवर्तनको नारा बोकेको रास्वपा (घण्टी) बीच कडा टक्कर हुने देखिन्छ ।

null

पुराना दल र तिनका शीर्ष नेताहरूको कार्यशैलीबाट स्थानीय आजित देखिन्छन् । स्थानीय काले शेर्पाको मनोविज्ञानले सोलुका धेरै मतदाताको प्रतिनिधित्व गर्छ । धेरैको स्वर उनको जस्तै सुनियो । पुराना नेताहरूले आश्वासन मात्र बाँडेको उनले गुनासो गरे । ‘एमाले अध्यक्ष केपी ओलीले घर–घरमा ग्यासको पाइप जोड्ने, नेपाली झण्डा राखेर पानीजहाज चलाउने भनेर हावादारी कुरा मात्र गरेर जनतालाई ढाँटे । कांग्रेस सभापति शेरबहादुर देउवाको घरमा जलेको पैसा भेटिएको कुराले देशमा भ्रष्टाचार कतिसम्म जरो गाडेर बसेको छ भन्ने प्रमाणित गरिसक्यो ।’

null

यही आक्रोश र निराशाको परिणाम स्वरूप उनी यसपटक पुराना सबै दललाई छाडेर नयाँलाई भोट हाल्ने तयारीमा छन् । सडक सञ्जालको दुरावस्थाले आजित निमदोर्जे तामाङलाई पनि पुराना दलले सडक बनाउलान् भन्ने आस मरिसकेको छ, त्यसैले ‘नयाँले केही गरिहाल्छ कि’ भन्ने झिनो आशाले उनलाई तानेको छ । यस्तो आशा युवा पुस्तामा मात्र सीमित छैन, पाका पुस्ता र सिङ्गो परिवारमा पनि सरेको छ ।

सल्लेरी–६ का लोकेन्द्र केसीको ६ जनाको परिवार नै यसपटक नयाँलाई हेर्ने सोचमा छ । ‘पहिलादेखि बुबा–आमाको भोट पनि आफैंले हाल्ने गरेको हो, यसपटक हाम्रो सिङ्गो परिवारले नै सल्लाह गरेर नयाँलाई भोट हाल्दैछौँ ।’ त्यस्तै, दुधकुण्ड नगरपालिका–७ की माया कुमारी खत्रीले आफ्ना साना बच्चाको सुरक्षित भविष्यको कल्पना गर्दै नयाँ रोज्ने बताइन् ।

null

टेम्पो चालक इन्द्रजित मगरदेखि सोमबहादुर मगर, विमल नेपाली, सकुन्तला दयाल, बलबहादुर भुजेल र पवित्रा राईसम्मले यसपटक नयाँ रोज्ने योजना बनाएका छन् । अघिल्लो पटक एमालेलाई भोट हालेकी गीता बस्नेतले यसपटक परिवर्तनको पक्षमा उभिने बताइन् ।

लक्ष्मी विक रोजगारीको सिलसिलामा भारतको लखनउमा बस्छिन् । उनी केवल भोट हाल्नकै लागि लखनउदेखि हजारौं किलोमिटरको यात्रा तय गरेर सोलुखुम्बुको आफ्नो गाउँ आइपुगेकी छन् । नयाँ पुस्ताको नेतृत्वले देशमा केही गर्छ भन्ने विश्वास बोकेकी उनले भनिन्, ‘म बालेन शाहजस्तै नयाँ सोच भएकाले जितून् भनेर भोट हाल्नकै लागि यति टाढाबाट आएकी हुँ ।’ प्रवासमा रहेका नेपालीलाई समेत नयाँ राजनीतिक लहरले कसरी तानेको छ भन्ने यो एउटा ज्वलन्त उदाहरण हो ।

उसो त पुराना दललाई भोट दिने मतदाता नभेटिएका भने होइनन् । महाकुलुङ–२ का ज्ञानबहादुर कुलुङ नाताले भाइ पर्नेको नागरिकता बनाउन सदरमुकाम आएका थिए । सल्लेरीमा भेटिएका उनले नयाँ पार्टीलाई लिएर एकदमै फरक र रोचक सांस्कृतिक तर्क पेस गरे । उनले खुलेर नै एमालेकी उम्मेदवारलाई सघाउने बताउँदै रास्वपाको घण्टीलाई आफ्नो समुदायको संस्कृतिसँग जोडेर अस्वीकार गरे । ‘कुलुङ समुदायका मानिसले घरमा घण्टी राख्न मिल्दैन,’ आफ्नो परम्परा सुनाउँदै उनले भने, ‘हाम्रा धामीझाँक्रीले मात्रै घण्टी राख्न र बजाउन मिल्छ । फेरि उनीहरूको घण्टी त स्टिलको भइसक्यो ।’

null

यति मात्र होइन, भोटलाई लिएर मतदाताका आफ्नै नितान्त व्यक्तिगत स्वार्थ र सर्तहरू पनि छन् । अनिता राईको माग र सर्त सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ । उनी कुनै सिद्धान्त वा पार्टी हेरेर भन्दा पनि भोट साटासाट गर्नुपर्ने पक्षमा छिन् । उनकी छोरी हाल एक रियालिटी शोमा प्रतिस्पर्धी छिन् । ‘जसले मेरी छोरीलाई त्यो कार्यक्रममा भोट हाल्छ, मैले पनि चुनावमा उसैलाई मत दिने हो,’ उनले भोट बार्टर (साटासाट) को अनौठो सर्त अघि सारिन् ।

यसपटक मतदाताहरू वैचारिक रूपमा मात्र नभई व्यावहारिक रूपमा पनि निकै सचेत, चलाख र विद्रोही प्रवृत्तिका देखिएका छन् । पार्टीकै सक्रिय सदस्य भएर पनि आफ्नै पार्टीलाई भोट नहाल्ने घोषणा गर्नेहरू पनि भेटिए । सोलु बजारमै कपडा पसल गरेर बस्ने पशुपति दाहाल कांग्रेसकी क्रियाशील सदस्य हुन्, तर उनले यसपटक भोट भने नयाँलाई हाल्ने निधो गरेकी छन् । ‘भाषणले मात्र देश नबन्ने रहेछ, काम गर्ने मान्छे चाहियो, त्यसैले यसपटक पार्टीमै रहेर पनि मैले मेरो भोट बदल्ने निर्णय गरेकी हुँ,’ उनले भनिन् ।

null

उता रास्वपाभित्र पनि असन्तुष्टिको स्वर सुनिन थालेको छ । हर्कबहादुर कार्की रास्वपाका तर्फबाट समानुपातिक सांसदका लागि सिफारिस भएका थिए । तर उनी अन्तिम बन्द सूचीमा पर्न सकेनन् । इटहरी र काठमाडौंमा एक हप्तासम्म छलफलका लागि बोलाएर अन्त्यमा पहाडी जिल्लाका प्रतिनिधिलाई समानुपातिक सूचीमा नराख्दा त्यसको प्रत्यक्ष असर भोटमा पर्ने र पहाडमा रास्वपाको भोट घट्ने उनको विश्लेषण छ ।

पुराना दलहरू पूर्ण रूपमा कमजोर भइसकेका भने छैनन् । कांग्रेस अझै पनि पहिलो शक्तिको रूपमा बलियो हुनुको पछाडि केन्द्रको नेतृत्वमा गगन थापा र विश्वप्रकाश शर्माजस्ता युवा नेता पुग्नुलाई धेरै मतदाताले कारण मानेका छन् । प्रकाश श्रेष्ठ भन्छन्, ‘गगन र विश्वप्रकाशले पार्टी सञ्चालनको नेतृत्व गरेपछि कांग्रेस बलियो भएको छ र युवाहरूमा आशा पलाएको छ ।’ टिकाराम परियार, मापे दुधकोशीका पदम कार्की, नेचा सल्यानका कुवीरधन राई र सन्तनारायण श्रेष्ठ अझै पनि आफ्नो पुरानो घर अर्थात् ‘रुख’ चुनाव चिह्नमै अडिग छन् । तर, कांग्रेसभित्रको आन्तरिक कलह र गुटगत राजनीति भने भुसको आगो जस्तै भित्रभित्रै सल्किरहेको छ ।

nullआङनुरु शेर्पाको विश्लेषण अनुसार, जिल्लामा समग्रमा कांग्रेस बलियो भए पनि टिकट वितरणमा भएको पक्षपात र असन्तुष्टिले नतिजा उल्टिन सक्छ । ‘पूर्वजिल्ला सभापति आङगेलु शेर्पाले टिकट पाएको भए चुनाव जित्न एकदमै सहज हुन्थ्यो, तर टिकट वितरणकै असन्तुष्टिका कारण कांग्रेसको भोट काटिएर यसपटक एमालेले पनि जित्ने सम्भावना बढेको छ,’ उनले सुनाए ।

एमाले र माओवादीका पनि आफ्नै प्रतिबद्ध र नहल्लिने मतदाता छन् । दुर्योधन राई, रामकाजी श्रेष्ठ र महाकुलुङ गाउँपालिकाका ज्ञानबहादुर कुलुङ, विवेक कुलुङ र रमेश कुलुङलगायतले एमालेलाई नै मतदान गर्ने बताए ।​

null

अर्कोतर्फ, माओवादीका उम्मेदवार असिम राईको विगतको काम र व्यक्तिगत प्रभाव पनि गाउँस्तरमा राम्रो देखिएको छ । थुलुङ दुधकोशी–३ की डम्बर कुमारी बस्नेत र प्रमिला विकले दुई कार्यकाल स्थानीय तहको अध्यक्ष भएर असिम राईले विकास निर्माणमा राम्रो काम गरेका कारण उनैलाई समर्थन गर्ने स्पष्ट पारेका छन् । यी बाहेक धरानका मेयर हर्क साम्पाङको अभियानबाट प्रभावित हुनेहरू पनि सोलुमा भेटिए । अघिल्लो पटक कांग्रेसको रुखमा भोट हालेकी सविना राई र कमला राईले यसपटक हर्क साम्पाङले नेतृत्व गरेको श्रम संस्कृति पार्टीलाई समर्थन गर्ने बताए ।

मतदाता सचेत भएको अर्को ठूलो प्रमाण यसपटक गाउँगाउँमा देखिने क्रस भोटिङ (मिश्रित मतदान) को तयारी हो । माप्य दुधकोशीका तिनै असन्तुष्ट हर्कबहादुर कार्कीले प्रत्यक्षतर्फ कांग्रेसका उम्मेदवारलाई र समानुपातिकतर्फ नयाँलाई भोट हाल्ने योजना बनाएका छन् । त्यसैगरी रामकुमारी श्रेष्ठले प्रत्यक्षमा एमालेलाई र समानुपातिकमा घण्टीलाई मतदान गर्ने बताइन् । धेरैजसो परम्परागत पार्टीका मतदाताले प्रत्यक्षमा आफ्नै दललाई भोट हाले पनि समानुपातिकमा भने रास्वपालाई भोट हाल्ने मनस्थिति बनाएको पाइयो ।

null

तर, चुनावको यो रमझम र उत्साहले सबैलाई छुन सकेको छैन । विकट भौगोलिक अवस्था र आर्थिक मारका कारण करिब १० प्रतिशत मतदाताले मतदान केन्द्रसम्म नजाने सोच बनाएको बताए । काठमाडौं बस्दै आएका लाक्पा गेलु शेर्पा जिल्लामा काम परेर आएका थिए, तर उनले मतदानको दिनसम्म नबस्ने र अब भोट हाल्नकै लागि भनेर नआउने बताए । ‘यहाँ आउन र जान १० हजार रुपैयाँभन्दा बढी खर्च हुन्छ । यत्रो दुःख गरेर, ऋण काढेर भोट हाल्न आइँदैन । २०६४ सालमा पनि नयाँलाई हेरौँ भनेर माओवादीलाई भोट हालेकै हौँ, यसपटक पनि नयाँलाई हेर्ने रहर त छ तर खर्चले दिँदैन,’ उनले आफ्नो यथार्थ पस्किए । त्यस्तै, सविना श्रेष्ठले सानो बच्चा भएका कारण जाडोमा हिँडेर भोट हाल्न जान नसक्ने बताइन् ।

null

सोलु बजारमा पसल चलाएर बस्ने प्रकाश राईको कथा अझै फरक छ । उनी भन्छन्, ‘भोट हाल्न आफ्नो गाउँ जाँदा कम्तीमा तीन दिन लाग्छ, पसल बन्द गरेर जाँदा ठूलो व्यापार घाटा हुन्छ । स्थानीय चुनावमा पो आफ्नै गाउँको विकासको कुरा हुन्छ र गइन्छ, यो त संघीय संसद्को चुनाव हो, जसले जिते पनि उही हो, त्यसैले म व्यापार घाटा सहेर भोट हाल्न जान्नँ ।’

कमेन्ट गर्नुहोस्