२७ असार २०८३, शनिबार
इमान्दार मतदातालाई धोका नहोस्

सुनामी शृंखला– ३ : अब निद्राबाट बिउँझनुभयो कि ?

फागुन २३, २०८२
काठमाडौं
सुनामी शृंखला– ३ : अब निद्राबाट बिउँझनुभयो कि ?

सबैभन्दा पहिला एक महिनाको चुनावी रिपोर्टिङका दौरान हामीसँग कुराकानी गर्नु हुने फरक जिल्ला र स्थानका हजारौं इमान्दार मतदाताप्रति हामी शिर झुकाएर हार्दिक नमन गर्न चाहन्छौं । अनि, आम मतदाताप्रति हृदयदेखि आभार व्यक्त गर्छौं, जसले नेपाली इतिहासका विभिन्न कालखण्डमा ‘रिभोलुसन बाइ ब्यालेट’ (मतमार्फत विद्रोह) गर्दै आउनुभएको छ ।

‘होइन के जादु गर्‍यो हो केटाहरू तिमीहरूले यो चुनावमा ? धेरै कुरा मिलायौ त ? कसरी गर्छौ रिसर्च ? साँच्चिकै सुनामी आएजस्तो छ !’ २२ फागुन बिहानदेखि आएका फोन र म्यासेज यस्तै प्रश्नले भरिएका छन् । यी सवालको जवाफ दिनुअघि एउटा प्रसंग उल्लेख गर्न चाहन्छु, जसरी धेरै सिट ल्याउन लागेकोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मात्तिनु हुँदैन, त्यसरी नै चुनावी नतिजाको विश्वसनीय विश्लेषण आमपाठक समक्ष पुर्‍याउन सकेकोमा हामीले आफूलाई के–केन ठान्नुहुँदैन । फुर्किनु हुँदैन । कामना गर्छु, यो विश्लेषणात्मक आलेख तयार गर्दैगर्दा कतै म भावनामा नबहकिऊँ । विनम्र, संयमित र शान्त रहन सकूँ । पाठकसमक्ष इमान्दार रूपमा प्रस्तुत हुन सकूँ, किनभने सफलतामा उन्माद स्वीकार्य हुँदैन/सुहाउँदैन ।  

मतदातासँग भएको कुराकानीका आधारमा हामी फिल्डबाट रिपोर्टिङ गरिरहेका हुन्थ्यौं । हाम्रा रिपोर्टहरू प्राय: आलोचनाको सिकार हुन्थे । धेरैलाई स्वीकार्य लागिरहेको हुन्थेन । हामीले बालेन शाह र रास्वपाको पक्षमा लहर आएको लेख्थ्यौं । सुनामी आउँदैछ भनेर एकपटक होइन, दुई– दुईपटक विश्लेषण पस्क्यौं । हाम्रा विश्लेषण पढेर गाली धेरै आए ।

‘मतदाताको भर हुन्न, तिमीहरूका विश्लेषण फेल खान्छन् । धेरै नबहकिनू, पछि थाहा पाउँछौं,’ भनेर चेतावनी आए । समाचार या लेख सम्प्रेषण भएपछि गाली या ताली अपेक्षित हुन्छन् नै । गालीभित्र रचनात्मक सुझाव छन् भने निशंकोच स्वीकार गर्नुपर्छ । तर, कहिलेकाहिँ कन्टेन्टमा भन्दा व्यक्तिगत रिसिइबी, इगो र इर्ष्या साँधेर आउने गालीले अब त छुन पनि छाडेछ ।   

null

एक महिनाको अवधिमा फिल्डबाट रिपोर्टिङ गर्दैगर्दा बेला–बेलाचाहिँ हामीसँग कुरा गरेका मतदाताले कदाचित मतदान केन्द्रभित्र छिरेपछि मन र मत बदल्नुभयो भने हामी बेवकुफ सावित हुने त होइनौं भन्ने चिन्ताले पिरोलिरह्यो । त्यस्तो डर हामीसँग कुरा गरेका मतदाता मत खसाल्ने बेला इमान्दार हुनेछन् या छैनन् भन्नेसँग सम्बन्धित थियो । यो आलेख तयार गर्दैगर्दा म ती इमान्दार मतदाताप्रति शिर झुकाएर पुन: नमन गर्दै भन्न चाहन्छु– तपाईंहरू सबैभन्दा निर्दोष, इमान्दार र भरोसायोग्य हुनुहुन्छ । हिजो पनि हुनुहुन्थ्यो, आज पनि हुनुहुन्छ र भोलि पनि हुनुहुनेछ । हामीले तपाईंप्रति गरेका शंकाका लागि पनि माफी माग्नुपर्छ । तपाईंहरूको जति प्रशंसा गरे पनि पुग्दैन । हृदयदेखि धन्यवाद दिएर मात्र पनि पुग्दैन ।

यसपटक हामीले जुन–जुन स्थानमा मतदातासँग कुरा गर्‍यौं र हामीसँगको कुराकानीमा उहाँहरूले जुन उम्मेदवार या निर्वाचन चिन्ह्रप्रति आफ्नो समर्थन रहने स्पष्ट धारणा राख्नुभएको थियो, मतपेटिकामा उहाँहरूको निर्णय जस्ताको त्यस्तै प्रतिविम्बित भयो । इमान्दारिताको प्रमाण यहाँभन्दा बढी के हुन सक्छ ? मैले यसबीच दुई विश्लेषणात्मक टिप्पणी लेखे : १. चुनावले नयाँको पक्षमा सुनामी ल्याउँँदैछ, कोठे विश्लेषण फ्लप हुनेछन्। २. २७ दिनको यात्रापछि फेरि भन्छु, सुनामी आउँदैछ, तयार रहनुहोस्

ती दुवै टिप्पणीमा प्रयोग भएका तीन शब्दले धेरैको ध्यान खिच्यो । ती थिए– सुनामी, असाधारण, अभूतपूर्व । ती तीन शब्दका कारण हामीलाई रचनात्मक आलोचनाभन्दा ज्यादा गालीको बर्सा भयो । धेरैले हामीलाई उत्सुकतापूर्वक नियालिरहनुभयो । कतिले त स्क्रिनसर्ट पठाउँदै पख्लास्, देख्लास् भन्नेसम्मको चेतावनी दिनुभयो । ती सबै प्रतिक्रियाका लागि हामी आभारी छौं । त्यस्ता प्रतिक्रियाले थप जिम्मेवार, होसियार र गम्भीर बन्न घच्घच्याएको पक्कै थियो । पूरै मत परिणाम नआइसकेको अवस्थामा अहिलेलाई विनम्र भएर भगवानरूपी आदरणीय पाठकसमक्ष निवेदन गर्छुु– के हामीले बहकिएर या कुनै दल विशेषप्रति अतिरिक्त झुकाव राखेर ती शब्द प्रयोग गरेका रहेछौं त ? परिस्थिति करिब–करिब हामीले ‘प्रोजेक्सन’ गरेजस्तै देखिएन र ? कि ती शब्दको प्रयोग गलत थियो ? यसमा लामो बहस पनि हुन सक्ला । तर, यतिञ्जेलको चुनावी नतिजाले रास्वपाको पक्षमा सुनामी आएको देखाउँछ । हामीले भनेजस्तै बालेन शाह र परिवर्तनप्रति आम मतदाताको असाधारण आकर्षण र अभूतपूर्व समर्थन रहेको देखाउँछ भन्ने हाम्रो बुझाइ छ ।  

सुनामी शब्द, हाम्रो रिसर्च र अनुभव

पूरापूर जानकार थियौं कि हाम्रा रिपोर्ट या विश्लेषणलाई खासगरी काठमाडौंमा बस्ने एउटा तप्काले मन पराइरहेको थिएन । हाम्रा विश्लेषणलाई ‘ठिश्लेषण’ भनेर खिसिट्युरी गरेको बारेमा पनि हामी जानकार थियौं । समुद्र नै नभएको देशमा सुनामी आउने भएछ होइन ? भनेर गरिएका व्यंग्यात्मक टिप्पणीबारे पनि अवगत थियौं, तीमध्ये सबैभन्दा बढी विवादमा तानिएको शब्द थियो– सुनामी । हुन त मैले फागुन ३ मा लोकान्तरमा प्रकाशित पहिलो विश्लेषणमै सुनामी शब्द चयनबारे थोरै उल्लेख गरेको छु । तर, आदरणीय पाठकलाई यस बारेमा अझै स्पष्ट पार्नु सान्दर्भिक हुनेछ ।

जसै हामी पूर्वी पहाडी जिल्ला ताप्लेजुङबाट माघ २४ मा झापा झर्‍यौं, सबैभन्दा पहिला मैले पाका र अनुभवी पत्रकार राजकुमार रेग्मीलाई सम्झिएँ । कतैबाट थाहा पाएको थिएँ, उनी विगत केही महिनायता नयाँ दल खासगरी बालेन शाहको सम्भावित राजनीतिक आगमनप्रति नागरिकको रुचि कस्तो छ भन्ने मिहिन अनुसन्धानमा व्यस्त छन् । उनको त्यो अनुसन्धान मतदातासँग प्रत्यक्ष केन्द्रित रहेको सूचना थियो मसँग । हामी सिधै झापा ५ को दमक पुग्यौं र रेग्मीजीलाई फोन गर्‍यौं । व्यस्त रहेछन् र तर भेट्न तयार भए ।

दमक चोक नजिकैको एउटा क्याफेमा गफिँदै गर्दा मैले फ्याट्ट सोधेँ– बालेन र रास्वपाप्रति बाहिर चर्चा भएजस्तै हो त लहर (वेभ) ? ‘विमलजी, माइन्ड नगर्नुस् ल’, अलि ठट्यौलो पारामा उनले थपे, ‘यो लहर अर्थात् वेभ भन्ने तपाईँको शब्द चयनप्रति मेरो सहमति छैन । म संशोधन हाल्न चाहन्छु ।’

संसदीय र राजनीतिक रिपोर्टिङ गर्ने पत्रकार साथीहरू ठट्यौलो पारमा बेला बखत ‘तपाईंको भनाइमा म संशोधन हाल्न चाहन्छु, मेरो नियमापत्ति छ ल’ जस्ता वाक्यांश प्रयोग गरिरहन्छन् । सुन्दा मज्जा पनि आउँछ । राजकुमारजीले पनि लामो समय संसदीय रिपोर्टिङ गरेकाले जिस्कनुभएको होला भन्ने ठानें शुरूमा ।

‘किन ? बालेनको पक्षमा वेभ छैन र ? हामीले त्यस्तै पाएका छौं ।’ मेरो प्रश्न नसकिँदै उनले थपे, ‘यसपटकको चुनावी माहोललाई मैले लहर (वेभ) होइन, सुनामी भन्ने गरेको छु ।’

सुनामी ? त्यो शब्द अलि बढि नै हो कि जस्तो लाग्यो मलाई शुरूमा । सुनामी आएपछि त्यसले सबैलाई बढार्छ । सखापै पार्छ । के यसपटक रास्वपाले सबैलाई सखापै पार्दैछ ? त्यतिसम्म त होइन होला कि ?’ मैले सोधेँ ।

करिब साढे दुई घण्टा गफिएपछि हामी होटलतिर लाग्यौं । राति कोठामा सहकर्मी सुशील पन्तसँग सुनामी शब्द चयन पछाडिको अर्थ खोज्नेबारे अझै बढी छलफल भयो । भोलिपल्ट लोकान्तरको ४ सदस्यीय टोली (जहाँ म स्वयं पनि संलग्न थिएँ) जसै मतदाताको नाडी छाम्न निस्कियौं, नयाँ दल र बालेनप्रति लहर होइन, सुनामी नै आएको छ भन्ने प्रारम्भिक निष्कर्ष निकाल्न हामीलाई एक घण्टा पनि लागेन ।

दमकका १० बढी स्थानका करिब दुई सय मतदातासँग कुरा गरेर बिहान १० बजे हामी खाना खान स्थानीय होटल छिर्‍यौं । हामी चारैजना (दुईजना स्थानीय साथीहरू, जो टोलीमा सामेल हुनुहुन्थ्यो, उहाँहरूको विवरण व्यक्तिगत गोपनीयताका कारण यहाँ उल्लेख नगरिएको) को अनुभव कस्तो थियो भने दुई सयसँग कुरा गर्दा एक जनाले पनि सूर्य, रुख या अन्य चुनाव चिह्नमा भोट हाल्छु भनेका थिएनन् । निर्वाचन आचारसंहिताका कारण उतिबेला यो डाटा लुकाउन हामीलाई बाध्य पारिएको थियो । बिहान ७ देखि १० बजेको समय । १० फरक स्थान । फरक–फरक पृष्ठभूमिका मतदाता । शुरूमा त हामी स्वयंलाई विश्वास लागिरहेको थिएन । कतै हाम्रो रिसर्च शैली सही भएन कि भनेर हामीले खाना खानै गर्दा समीक्षा पनि गर्‍यौं । सर्वेक्षणमा संलग्न चारजना फरक सदस्यको एकै खालको रिपोर्ट । ‘सुशील तिमीसँग कुरा गर्ने एक जनाले पनि सूर्यको नाम लिएन ? अनि, उत्तमजी, तपाईंसँग कुरा गर्ने एक जनाले पनि सूर्य, रुख या अरू कुनै चुनाव चिन्ह्रको नाम लिएन ?’ मैले पालैपालो प्रश्न सोधें । उनीहरूको जवाफ आउँथ्यो–‘कसैले अरूको नाम लिएनन् । सबै मिलेर सल्लाह गरेको जस्तो । जहाँ जसलाई सोध्यो एउटै जवाफ आउँछ सर, ओलीलाई धेरै हेरियो, यसपटक नयाँलाई हेर्ने । बालेन, घण्टी छाप ।’

‘अब मलाई सोध्नुस् ।’ साथीहरूलाई भनेँ । सुशीलले सोधे– ‘तपाईंले कति जनासँग कुरा गर्नुभयो ? के पाउनुभयो ? ‘करिब ३० जनाजतिसँग यसपालि भोट कता ? भनेर सोधेको एक जनाले पनि सूर्य, रूख या अन्य चुनाव चिह्नको नाम लिएनन् । तिमीहरूले भनेजस्तै सबैले सल्लाह गरेर बसेजस्तो लाग्थ्यो । सबैको उत्तर एउटै थियो, ‘यसपटक नयाँलाई ।’

हामीलाई के लाग्यो भने या त राजकुमारजीले भनेको जस्तै यो सुनामीकै संकेत हो, या हाम्रो रिसर्च शैलीमा केही गडबडी छ । खाना खाएपछि सल्लाह गर्‍यौं, ‘अब दिनभरिमा जो जोसँग कुरा गर्छौैं, सकभर सबैको फोटो, भिडियो पनि खिचौं । ता कि सम्बन्धित मतदाता कति प्रतिबद्ध छन्, कति खुलेका छन् भनेर राति होटल रूममा फर्केपछि पनि हेर्न सकियोस् । मतदातालाई शुरूमा नमस्कार गर्ने । विनम्र भएर प्रस्तुत हुने । आफ्नो पूरै परिचय दिने । भोट केमा भनेर सिधा प्रश्न सोध्ने । बोल्न रुचि नदेखाए करकाप नगर्ने । कुनै पार्टीविशेषको खाटी कार्यकर्ता लागेमा ऊसँगको कुराकानीलाई सर्वेमा समावेश नगर्ने । मतदाताको ठेगाना, पेशा, उमेर, रुचि सोध्ने । हाम्रो शैली करिब यस्तै थियो ।    

कतिपय स्थानमा मतदाता खुल्न चाहनुहुन्नथ्यो । शुरूमा भोट माग्न कुनै उम्मेदवार आए होला भन्ने ठान्नुहुन्थ्यो । हामी सम्झाउँथ्यौं । बोल्न मन नलागे कर गर्दैनथ्यौं । मतदाता कति खुलेको छ, या कति प्रतिबद्ध छ भन्ने विषयलाई विशेष चासोका साथ हामीले नियालिरहेका हुन्थ्यौं ।  

दमकपछि हामी झापा ५ मा पर्ने गौरीगञ्ज, गौरादह, कमल गाउँपालिका लगायत थुप्रै स्थानका ग्रामीण भेगका मतदाता भेट्न पुग्यौं । जहाँ गएर जसलाई सोध्यो घण्टी । जता जानुस्, जे भनेर सोध्नुहोस्, स्पष्ट जवाफ आउँथ्यो– यसपालि नयाँ । बालेन र घण्टी छाप ।’

माघ २५ गते दिउँसो ३ बजेतिर हामी चारैजना एउटा चिया पसलमा भेला भयौं । एक अर्कालाई सोध्यौं, दमक बजारमा भन्दा फरक छ कि उस्तै ? धेरैलाई पत्यार नलाग्न सक्छ, चारै जनाको उत्तर एउटै थियो, ‘केही फरक छैन । एक छापे घण्टी ।’

त्यो दिन हामी ५ बजेसम्म विभिन्न २७ फरक ठाउँमा पुगेर करिब साढे ५ सय मतदातासँग कुरा गर्न भ्यायौं । बिहान कुराकानी मात्र गरिएको थियो । दिउँसोको सर्वेक्षणमा फोटो, भिडियो खिच्ने, रेकर्ड गर्ने काम भयो । बेलुका होटलमा फर्केर हामीसँग कुरा गरेका मतदाताको भिडियो दोहोर्‍याइ तेहेर्‍याइ हेर्‍यौं, सुन्यौं, सबै साथी सँगै बसेर । वाफ रे वाफ । ठाउँ फरक छन् । मतदाता एक अर्कालाई चिन्दैनन् । तर, सबैले सामूहिक सल्लाह गरेजस्तो । उत्तर सबैको एउटै– यसपटक नयाँलाई । मतदाता अति नै प्रतिबद्ध पायौं हामीले । चुनाव नजिँकिदै गर्दा निर्णय परिवर्तन नगर्ने स्पष्ट अडान देखिन्थ्यो धेरै मतदातामा । यसपटक जनता साँच्चिकै एकोहोरिएका देखिन्थे । कतिबेला घण्टीमा भोट हाल्ने दिन आउला भनेर छटपटिएका जस्ता देखिन्थे ।

पर्सिपल्ट बिहान हामीले स्थानीय साथीहरूसँगको परामर्शमा झापा ५ मा एमालेका खास गढ भनिने स्थानका मतदातासँग कुरा गर्ने निधो गर्‍यौं । जब हामी कुरा गर्दै जान्थ्यौं । के को गढ ? कसको गढ ? कसको विरासत ? केही चिजले छोएको देखिएन । जहाँ गए पनि, जता गए पनि स्पष्ट जवाफ आउँथ्यो, यसपटक नयाँलाई ।

सात सय नौजना मतदातासँग कुरा गरेपछि पर्सिपल्ट दिउँसो नै हामी होटल फर्केर लेख्न लाग्यौं । झापा ५ को पहिलो स्टोरी लोकान्तरमा छापियो– विशेष रिपोर्ट : सात सय मतदातासँग कुरा गरेपछि झापा-५ मा जे देखियो...

निर्वाचन आचारसंहिताका कारण हामीले बालेनको पक्षमा यति प्रतिशत या ओलीको पक्षमा यति भनेर लेखेनौँ । हाम्रो त्यो स्टोरी पढ्दा स्पष्ट हुन्थ्यो– ‘बालेन कहाँ छन्, ओलीको स्थिति के छ ? झापा ५ का मतदाता यसपटक कसलाई जिताउँदै छन् ? आदि प्रश्नको जवाफ ।’

यतिबेला नम्र भएर म सोध्न चाहन्छु, वास्तवमा झुक्किएको को रहेछ ? फसेको को रहेछ ? माफी कसले माग्ने ? गाली, आलोचना र प्रश्न त ओइरिरहेकै थिए । हामी आफ्नो यात्रामा अघि बढिरह्यौं ।

झापा ५ मा कसले जित्न सक्छ भन्ने स्थलगत अध्ययन र मतदातासँगको कुराकानीका आधारमा फोटो र भिडियो/सहित प्रकाशित विस्तृत स्टोरी सम्भवतः लोकान्तरकै पहिलो थियो ।

स्टोरी प्रकाशित हुनासाथ फोन त कति हो कति, गुनासा त कति हो कति, जतिले फोन गर्नुभयो र हामीसँग गुनासो गर्नुभयो, उहाँहरू सबैको एउटै दाबी थियो, ‘तपाईंहरूलाई यहाँको स्थानीय डाइनामिक्स के थाहा ? विचरा झुक्किनुभएछ । फस्नुभयो  । अब माफी मागेर न्युज सच्चाउनुस् ।’

यतिबेला नम्र भएर म सोध्न चाहन्छु, वास्तवमा झुक्किएको को रहेछ ? फसेको को रहेछ ? माफी कसले माग्ने ? गाली, आलोचना र प्रश्न त ओइरिरहेकै थिए । हामी आफ्नो यात्रामा अघि बढिरह्यौं ।

‘कतै झापामा दुई चर्चित व्यक्ति भिडेकाले घण्टीको पक्षमा यति साह्रो सुनामी आएको त होइन ?’ हुलाकी मार्ग हुँदै मोरङ लाग्दै गर्दा सहकर्मी सुशील पन्तलाई सोधेँ ।

‘मोरङका कुनाकाप्चा छिरौं । मतदातासँग कुरा गरौं । त्यसपछि केही भन्न सकिएला,’ पन्तले जवाफ  दिए ।

हामी शेखर कोइराला, गुरु घिमिरे, सुनील शर्मालगायत चिनिएका अनुहारहरू उठेका निर्वाचन क्षेत्रका चोक, कुना, गाउँ बस्तीमा पुगेर जसै मतदातासँग कुरा गर्थ्यौं, स्पष्ट जवाफ आउँथ्यो, ‘यसपटक नयाँ । घण्टी ।’ झापा ५ को भन्दा कत्ति पनि फरक माहोल थिएन, मोरङमा । जता गएर जसलाई सोधे पनि घण्टी । बालेन, नयाँ र परिवर्तन । त्यहाँ पनि सबैले सल्लाह गरेर बसेजस्तो एकै किसिमको उत्तर । मोरङका विभिन्न निर्वाचन क्षेत्रका मतदातासँग कुरा गरेपछि लोकान्तरमा स्टोरी प्रकाशित भएको थियो ।

मोरङका ६ वटै क्षेत्र घुमेर मतदातासँग कुराकानी गरेपछि...

झापा र मोरङमा घण्टीप्रति जुन लहर थियो, सुनसरीमा पनि उस्तै । एकाध स्थानमा फट्टफुट्ट रूख, सूर्य, माटो भन्ने भेटिए पनि अत्यधिक लहर घण्टीकै पक्षमा । यतिबेलासम्म हामी करिब–करिब एउटा निचोडमा पुगेका थियौं, ‘यो सुनामी नै हो ।’।

हामी सुनसरीमा केही दिन बिताएर मध्य तराईको एकसरो नाडी छाम्दै बुटवल झर्यौं । बुटवल पुगेर मैले पहिलो विश्लेषणात्मक स्टोरी प्रकाशित गरेपछि (चुनावले नयाँको पक्षमा सुनामी ल्याउँदैछ, कोठे विश्लेषण ‘फ्लप’ हुनेछन्) हो खासमा सुनामी शब्द चर्चामा आउन थालेको ।

null

भोलिपल्ट हामी सरासर दाङ २ पुग्यौं र एकदिन पूरै सर्वेक्षणमा बितायौं । झापा, मोरङ, सुनसरी, मध्य तराईका केही स्थानमा भन्दा दाङमा घण्टी अझै बढी बजिरहेको स्पष्ट पायौं र लोकान्तरमा लेख्यौं– फलामको चिउरा चपाएसरह छ शंकर पोखरेललाई दाङ २ को चुनाव, मतदाता भन्छन्- ‘यसपटक नयाँलाई’

यतिबेलासम्म दाङको चुनावी माहोलबारे राष्ट्रिय स्तरका कुनै मिडियामा रिपोर्ट आएका थिएनन् । दाङमा शंकर पोखरेलको अवस्था छर्लङ्ग पारिदिएपछि हो हामीमाथि अझै बढी गाली बर्सिन थालेको । गाली आइरहन्थे । हामी कुँदिरहन्थ्यौ । रुकुम पूर्व पुगेर प्रचण्डको निर्वाचन क्षेत्रका मतदाताको नाडी छाम्ने निधो गर्यौं । त्यहाँ पुगेर मतदातासँग कुरा गर्‍यौं र लेख्यौं–​ रुकुमपूर्वमा पनि चलिरहेको छ नयाँको मन्द बतास, प्रचण्डलाई भने सहज

रुकुम पूर्वको नतिजा आइसकेको छ र हामीले बुझे र लेखेजस्तै प्रचण्डले जितिसकेका छन् । सम्भवत: प्रचण्डको निर्वाचन क्षेत्र पुगेर मतदाताको नाडी छामेर यथार्थ स्टोरी छाप्ने पनि लोकान्तर पहिलो सञ्चार माध्यम हो ।

एकपछि अर्को निर्वाचन क्षेत्रमा कुँद्ने क्रम चलिरहेकै थियो । उता काठमाडौंमा ठ्याक्कै उल्टा विश्लेषण र हेडलाइन आइरहेका हुन्थे । काठमाडौंका विश्लेषक र पत्रकारका निष्कर्ष थिए, ‘सामाजिक सञ्जालमा चर्चा गरेजस्तो घण्टीको पक्षमा माहोल छैन, हल्ला मात्र बढी हो । कांग्रेस पहिलो पार्टी बन्छ । झापा ५ मा बालेनलाई जिताउन मतपेटिका साट्नुपर्ने हुन सक्छ । झापामा बालेन र ओलीबीच कडा प्रतिस्पर्धा हुन्छ । प्रहरीको रिपोर्टले कांग्रेस पहिलो पार्टी हुने देखियो । लोकान्तर बिकेछ । रास्वपाले लोकान्तरलाई किनेछ । आदि इत्यादि ।’

गाडीमा यात्राका क्रममा हामीमाथि लागेका आरोप, अरू मिडियामा आइरहेका उल्टा विश्लेषण र रिपोर्टिङ लगायतबारे कुरा गर्थ्यौं, हाँस्थ्यौं, गफिन्थ्यौं । रुपन्देहीका केही निर्वाचन क्षेत्रमा घुमेर हेर्दा घण्टीको पक्षमा पत्याउनै मुश्किल पर्ने असाधारण माहोल देख्यौं । जता जानुस्, जसलाई सोध्नुस्, जति जनालाई सोध्नुस्, जवाफ उही– ‘यसपटक नयाँ । बालेन, घण्टी ।’

यही अनुभव हामीले एक साँझ नेपाली कांग्रेसका अर्बपति उम्मेदवार विनोद चौधरीलाई सुनायौं । कांग्रेसको पक्षमा माहोल नभएको, घण्टीको पक्षमा सुनामी आइरहेको र उनी स्वयंले पनि चुनाव हार्ने विश्लेषण सुनाइदियौं हामीले । चौधरी र हाम्रो विश्लेषण आनका तान फरक पर्‍यो । उनी हामीसँग कत्ति पनि सहमत भएनन् । हामी धेरै बेर कुरा नगरी निस्कियौं । शायद यतिबेला उहाँ हामीसँगको कुराकानी सम्झँदै हुनुहोला कि ? 

भुइँको यथार्थ त्यस्तो थियो । मानिसहरू हाम्रा रिपोर्ट पढेर आगो भैरहेका देखिन्थे । हामी भुइँको जे यथार्थ हो, त्यसलाई जस्ताको त्यस्तै प्रकाशित गरिरहेका हुन्थ्यौं । हामीमाथि चाहिँ एकपछि अर्को प्रहार थपिँदै गए । हाम्रा रिपोर्ट मन नपराउनेबाट व्यापक गालीगलौज र आलोचना आइरहेकै थियो । निर्वाचन आयोग र प्रेस काउन्सिलबाट न्यूज नहटाए कारबाही गर्ने धम्कीको पनि सामना गर्नुपर्‍यो । स्पष्टीकरण, जवाफ, फेरि स्पष्टीकरण अनि जवाफ । कति चल्यो, कति । तर, अहँ, हामी रोकिएनौं । कुँदिरह्यौं ।

त्यही बीचमा शुभचिन्तकहरूबाट सुझाव आइरहेका थिए– ‘तपाईंहरूका सर्वे अलि अगाडि भए । लोकान्तरले दाबी गरेजस्तो परिणाम आउँदैन । अब झापा ५ मा पुग्नोस् त, परिस्थिति फरक भैसक्यो ।’ हुँदाहुँदा काठमाडौंका कतिपय मिडियामा समेत झापामा ओलीको स्थिति सुध्रेको, विभिन्न पार्टीका नेताले ओलीलाई सघाउने रे ! यस्तो, उस्तो अनेक खालका प्रचार हुन थाले ।

त्यसपछि हामी मध्य तराई हुँदै फेरि झापा पुग्ने निचोडमा पुग्यौं । हामीले जति–जति घण्टीको पक्षमा सुनामी आइरहेको आभास पाउँथ्यौं, काठमाडौंले उति नै बढी हाम्रा रिपोर्टलाई हावा ठान्थ्यो । अति भएपछि बुटवलबाट चितवन पुग्नासाथ मैले फेसबुकमा स्टेटस लेखेँ– फागुन २३ गते दिउँसोसम्म निद्रामा रहने छुट सबैलाई रहेको स्मरण गराउँछु.....।

त्यति के लेखेको थिएँ, गालीको वर्षा शुरू भैहाल्यो ।

अरे बाबा, हामीसँग खुलेर कुरा गरेका प्रतिबद्ध देखिने झापाका ती मतदाताको मन यति छिट्टै परिवर्तन भयो ? साँच्चिकै सुधारिएको हो ओलीको अवस्था ? हामी हानियौं मध्य तराई हुँदै झापा ५, मोरङ र सुनसरीमा दोहोर्‍याएर सर्वे गर्ने हुटहुटीसहित ।

रौतहट, महोत्तरीका सीमित क्षेत्रका मतदाताको नाडी छाम्दै धनुषा पुग्यौं । धनुषामा तीन दिन बितायौं । सिराहा र सप्तरीका केही क्षेत्रको पनि अवलोकन गर्‍यौं । धनुषाका मतदाताको नाडी छामेपछि हाम्रो स्टोरी थियो–मधेशका ३२ वटै क्षेत्रमा रास्वपाको एक्लो उम्मेदवार बालेन !

त्यो स्टोरीको सब–हेडलाइन सहकर्मी सुशील पन्तले निकालेका थिए । हो, मधेशमा बालेनप्रति असाधारण लहर देखेपछिको हाम्रो ठम्याइ त्यही थियो, ‘मधेशका ३२ वटै क्षेत्रमा रास्वपाका एक मात्र उम्मेदवार हुन् बालेन ।’

धनुषा ३ को स्टोरी मात्र होइन, चुनाव सकिएलगत्तै फागुन २१ को साँझ केही प्रि–इलेक्सन पोल पनि प्रकाशित गर्‍यौं–

लोकान्तर 'प्रि-इलेक्सन पोल' : झापा ५ मा बालेनले जित्दैछन् चुनाव

लोकान्तर 'प्रि-इलेक्सन पोल'- २ : विपिन आचार्यले जित्दैछन् दाङ २ मा चुनाव

लोकान्तर 'प्रि-इलेक्सन पोल' – ३ : मनिष झाले जित्दैछन् धनुषा ३ मा चुनाव

नतिजा हामीले लेखेजस्तै, बुझेजस्तै सार्वजनिक भैसकेको छ । धनुषा ३ को चुनावी माहोलबारे लोकान्तरले समाचार छाप्नुअघि कुनै पनि राष्ट्रिय मिडियामा त्यसको चर्चा भएको हाम्रो जानकारीमा थिएन ।

मध्य तराईको नाडी छामेपछि हामी सोझै सुनसरी १ पुग्यौं जहाँ धरान उपमहानगरपालिकाको मेयरबाट राजीनामा गरेर हर्क साम्पाङ चुनावी मैदानमा उत्रिएका थिए । उनको अवस्थाबारे पहिले पनि रिपोर्टिङ भएको थियो । दोहोर्‍याएर सर्वे गर्‍यौं हामीले । शहरी र ग्रामीण क्षेत्रका मतदातासँग कुरा गरेपछि हामीले निकालेको हेडलाइन थियो– १३ दिनपछि दोहोर्‍याएर धरान पुग्दा : हर्कलाई छैन सजिलो

सुनसरीपछि हामी मोरङका निर्वाचन क्षेत्रमा पुग्यौं– दोहोर्‍याएर चुनावी माहोल बुझ्न । घण्टीको पक्षमा माहोल पहिलाभन्दा झन् बढ्दो पाइयो । त्यसपछि हामी सोझै झापा ५ तिर लाग्यौं । हामी यसअघि कुरा गरेका स्थानमा उनै मतदातासँग कुरा गर्न चाहन्थ्यौं । त्यसै गर्‍यौं । कतिपयले हामीलाई तुरुन्तै चिन्नुभयो र सोध्नु पनि भयो, ‘तपाईंहरू फेरि आउनुभयो ? यसअघि के–के लेख्नुभएछ । हामीलाई कत्रो प्रेसर दिइराखेका छन् ।’

null

लोकान्तरमा झापा ५ को पहिलो स्टोरी छापिएपछि त्यहाँ पत्रकारहरूमाथि विशेष निगरानी बढाइएको रहेछ । ठाउँ–ठाउँमा एमालेको तर्फबाट युवाहरू खटाइएको रहेछ । हामी सोझै गौरीगञ्ज पुग्यौं र पुरानै अनुहारलाई सोध्न थाल्यौं, ‘अहिले माहोल कस्तो छ ?’ मतदाता झन् बढी खुलेर कुरा गर्न खोज्थे । तर, मास्क लगाएका युवाहरू आएर हामीलाई केरकार गर्थे । किन प्रश्न सोधेको ? कहाँबाट कुन प्रयोजनका लागि आएको ? इत्यादि ।

मानिसहरू घण्टीप्रति झन–झन् खुल्दै गएको पायौं । घण्टीप्रति यसअघि भन्दा अहिले अझ बढी माहोल बढेको स्पष्ट आभास मिल्थ्यो । यसपटक पनि हामीले फोटो, भिडियोसहित नौसय बढी मतदातासँग कुरा गर्‍यौं, र लेख्यौं– विशेष रिपोर्ट :  नयाँका पक्षमा झन् खुल्दै मतदाता, थप अप्ठ्यारोमा ओली [१२९ को भिडियो]

झापा ५ को उक्त समाचारमा ओलीले हार्ने स्पष्ट विश्लेषण थियो, छ । एउटै स्टोरीमा एक सय २९ जनाको भिडियोसहित ‘इनडेफ्थ स्टोरी’ सम्भवत: लोकान्तरमा मात्र प्रकाशित भएको थियो । र, एउटै निर्वाचन क्षेत्रमा दोहोर्‍याएर सर्वे गर्ने पनि सम्भवत: लोकान्तर मात्र थियो । थुप्रै साथीहरू रिसाउनुभयो झापा ५ को दोस्रो स्टोरी प्रकाशित भएपछि । फेरि पनि हाम्रो निष्कर्ष नमिल्ने भन्दै अनेक प्रसंग र उदाहरण दिनुभयो । हामीले कुनै प्रतिक्रिया जनाएनौं । त्यतिबेला हामीलाई लोकल डाइनामिक्स र अनेक उदाहरण दिने ती साथीहरू अहिले के सोच्दै हुनुहोला ? सानो जिज्ञासा नि !

जब–जब चुनाव आउन थाल्छन्, नेपाली जनतामाथि आपत्तिपूर्ण आरोप समेत लगाउने गरिन्छ– जनता भेडा छन्, केही भर छैन । यो आरोपप्रति यो पंक्तिकारको चाहिँ गम्भीर असहमति छ । वास्तवमा नेपाली जनता भेडा होइनन्, संसारकै अति उच्च चेत भएका विवेकी, इमान्दार र सहनशील छन् । तर, यिनै नेपाली जनता पटक–पटक झुक्याइएका छन्, ठगिएका छन्, खासगरी पुराना राजनीतिक दल, सरकार र नेताहरूबाट ।

इमान्दार नेपालीलाई धोका नहोस्

जब–जब चुनाव आउन थाल्छन्, नेपाली जनतामाथि आपत्तिपूर्ण आरोप समेत लगाउने गरिन्छ– जनता भेडा छन्, केही भर छैन । यो आरोपप्रति यो पंक्तिकारको चाहिँ गम्भीर असहमति छ । वास्तवमा नेपाली जनता भेडा होइनन्, संसारकै अति उच्च चेत भएका विवेकी, इमान्दार र सहनशील छन् । तर, यिनै नेपाली जनता पटक–पटक झुक्याइएका छन्, ठगिएका छन्, खासगरी पुराना राजनीतिक दल, सरकार र नेताहरूबाट ।

२०४६ सालको परिवर्तनपछि जनताले नेपाली कांग्रेस र नेकपा एमालेलाई धेरैपटक मौका दिए । धेर–थोर विकास भए पनि जनताको जीवनमा अपेक्षित सुधार आएन । २०५२ मा नेकपा माओवादीले सशस्त्र युद्ध शुरू गरेपछि उक्त पार्टीबाट सबैभन्दा पीडित हुने नेपाली जनता नै थिए । माओवादीको तीव्र ज्यादती खेपेका नेपालीले माओवादीप्रति चुनावका बेला रिस पोख्न सक्थे । तर, जति पीडा दिए पनि एकपटक मौका दिऊँ न भनेर २०६४ को निर्वाचनमा सशस्त्र युद्ध लडेर आएको पार्टीलाई अत्यधिक मतसहित (पहिलो दल बनाएर) संसदमा पठाए । छोटो समयमै माओवादी वा उसले नेतृत्व गरेको सरकारबाट पनि आफूहरू ठगिएको महसुस मतदाताले गरे ।

जनता कति सचेत छन् भनेर बुझ्न २०७० को चुनावमा माओवादीले प्राप्त गरेको नतिजा काफी थियो, छ । ०६४ मा २४० सिटमध्ये प्रत्यक्षमा एक सय २० सिट एक्लैले जितेको माओवादीलाई जनताले २०७० को चुनावमा प्रत्यक्षतर्फ २६ सीटमा खुम्च्याइदिए ।

पढ्नुहोस्, यो पनि :

२७ दिनको यात्रापछि फेरि भन्छु– ‘सुनामी’ आउँदै छ, तयार रहनुहोस् !

जनता वर्षौैंसम्म चुप बस्छन्, तर सबै सूचना केलाएर, अनि रेकर्ड राखेर । जब चुनाव आउँछ, उनीहरू मतपेटिकामार्फत आफ्नो तागत देखाउँछन् । २०७४ मा तत्कालीन माओवादी र एमालेबीच तालमेल भयो । सबै वाम पार्टी एक हुँदा देशमा देखिने गरी विकास हुन्छ, स्थायित्व हुन्छ भन्ने दाबी गर्दै ती पार्टी चुनावमा होमिए । जनताले एकपटक मौका दिऊँ न त भनेर नेकपालाई झण्डै दुईतिहाइ नै दिएर संसदमा पठाए । तर, अफसोस, जनताले फेरि पनि आफूहरू ठगिएको, झुक्क्याइएको महसुस/अनुभव गरे ।

पुराना राजनीतिक दल, सरकार र नेताहरूबाट वाक्क–दिक्क भएका इमान्दार नेपाली मतदाताले यसपटक मतमार्फत चुपचाप क्रान्ति गर्दै नयाँ दललाई मौका दिएका छन्– अभूतपूर्व समर्थनका साथ । ‘प्राइममिनिस्टर इन वेटिङ’ (भावी प्रधानमन्त्री) बालेन शाहलाई शुभकामनासँगै यही आलेखमार्फत एउटा सुझाव छ, ‘नेपालीहरू संसारकै सबैभन्दा बढी इमान भएका नागरिकमा पर्छन् । उनीहरूलाई तपाईंको नेतृत्वमा बन्ने सरकारले धोका नदेओस् ।’

देशव्यापी रिपोर्टिङपछि लेखिएका १०१ स्टोरी:

चुनावमार्फत् बदलिन लागेको अभिमत, देशभर कहाँको अवस्था कस्तो ? [लोकान्तरका १०१ स्टोरी]

salt training

कमेन्ट गर्नुहोस्