
रास्वपाका उम्मेदवारले गण्डकीमा जति मत ल्याएर प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् त्योभन्दा बढी मत समानुपातिकतर्फ आएको छ । कांग्रेस, एमालेजस्ता दलले जति मत प्रत्यक्ष उम्मेदवारमा पाएका छन् त्यो भन्दा कम समानुपातिकमा पाएका छन् ।
कास्की १ मा रास्वपाका उम्मेदवार खडकराज पौडेल ३९ हजार ८८३ मत पाएर निर्वाचित हुँदा यस क्षेत्रमा समानुपातिकतर्फ रास्वपाले ४१ हजार ३५६ मत पाएको छ ।
उस्तै, नतिजा क्षेत्र नम्बर २ र ३ को छ । यस क्षेत्रबाट रास्वपाले समानुपातिकतर्फ क्रमशः ३३ हजार ६५७ र ३८ हजार ६१५ मत प्राप्त गरेको छ ।
प्रत्यक्ष र समानुपातिकतर्फको अन्तर एक हजारदेखि दुई हजारसम्मको छ । गोरखा १ मा रास्वपाका निर्वाचित उम्मेदवारले २९ हजार ८९६ मत ल्याउँदै यस क्षेत्रमा समानुपातिकतर्फ ३० हजार ८४८ मत आएको छ । गोरखा २ मा पनि रास्वपाले निर्वाचित उम्मेदवारले भन्दा १ हजार ४४ मतले समानुपातिकमा बढी मत प्राप्त गरेको छ ।
मनाङ र मुस्ताङको परिणाम भने फरक छ । यस क्षेत्रमा रास्वपाले सिट हात पार्न सकेन । दुवैमा कांग्रेसका निर्वाचित भयो । मनाङमा रास्वपाका उम्मेदवार थिएनन् । यद्यपि समानुपातिकतर्फ रास्वपाले ७५२ मत प्राप्त गरेको छ । कांग्रेसले समानुपातिकतर्फ १३ सय ७७ मत प्राप्त गरेको छ ।
मुस्ताङमा कांग्रेस उम्मेदवारले पाएको मत र समानुपातिकतर्फ पार्टीले पाएको मतमा अन्तर छ । ३३ सय ७ मत ल्याएर कांग्रेसका उम्मेदवार विजयी हुँदा मुस्ताङबाट जम्मा २५ सय २१ मत समानुपातिकतर्फ प्राप्त भएको छ ।
लमजुङमा पनि रास्वपाले जितेका प्रतिनिधिको तुलनामा समानुपातिकमा बढी मत प्राप्त गरेको छ । यस क्षेत्रबाट रास्वपाले ३४ हजार ५७५ मत प्राप्त गरेको छ । एमालेका उम्मेदवारले पाएको मतभन्दा हजार बढी फरकमा समानुपातिकमा मत खसेको छ । यस क्षेत्रबाट पनि अन्य दलका उम्मेदवारको तुलनामा समानुपातिकमा दलहरूको मत कम खसेको छ ।
तनहुँ क्षेत्र नम्बर १ मा भने जम्मा ७ सय ६७ मतको अन्तर छ । समानुपातिकतर्फ रास्वपाले ३८ हजार ८०७ मत पाएको छ । तनहुँ २ मा समेत उही देखिन्छ । यस क्षेत्रबाट रास्वपाले ३३ हजार ७ सय ९७ मत पाएको छ भने कांग्रेसले १३ हजार २२३ मत प्राप्त गरेको छ । एमालेले १० हजार ८६४ मत प्राप्त गर्दा नेपाल कम्युनिष्ट पार्टीले १ हजार ९०३ मत पाएको छ ।
एमाले र कांग्रेसको बलियो किल्ला मानिएको जिल्लामा हो स्याङ्जा । यस क्षेत्रमा पनि समानुपातिकमा रास्वपाले मत तानेको छ । क्षेत्र नं १ मा रास्वपाले ३३ हजार ४९९ मत पाउँदा, कांग्रेसले १६ हजार ३९९, एमालेले १४ हजार ४८५ मत पाएको थियो । यस क्षेत्रबाट श्रम संस्कृति पार्टीले ९ सय ५७ मत पाएको छ ।
क्षेत्र नम्बर २ मा २९ हजार ५०९ मत रास्वपाले ल्याउँदा कांग्रेसले १७ हजार ९३१ र एमालेले ११ हजार ६ मत ल्याएको छ । श्रम संस्कृतिले यस क्षेत्रबाट १ हजार ४७ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले १३ सय ४९ र नेपाली कम्युनिष्ट पार्टीले १ हजार ४७ मत पाएको छ ।
नवलपरासी पूर्वमा रास्वपाले ५० हजार ८४६ मत प्राप्त गर्दा कांग्रेसले १५ हजार ९० मत प्राप्त गरेको छ । एमालेले ८ हजार ८६६, राप्रपाले २४ सय २, श्रम संस्कृतिले २२ सय ५३ र नेपाली कम्युनिष्ट पार्टीले १६ सय ३० मत प्राप्त गरेका छन् ।
म्याग्दीमा पूर्व शिक्षामन्त्री महावीर पुनलाई रास्वपाले सघाएको थियो । निर्वाचनमा रास्वपाबाट कोही मैदानमा थिएनन् । यस क्षेत्रमा रास्वपाका उम्मेदवार नहुँदा समेत समानुपातिकतर्फ १९ हजार ९८७ मत प्राप्त गरेको छ ।
बागलुङ १ मा रास्वपाले समानुपातिकतर्फ २२ हजार ८५९ मत ल्याउँदा कांग्रेसले १० हजार १८५ मत पाएको छ । एमालेले ७ हजार १४७, राप्रपाले ९ सय ४३, नेपाली कम्युनिस्ट पार्टीले १९ सय १९ र श्रम संस्कृति पार्टीले ८ सय ४ मत पाएका छन् ।
बागलुङ २ मा रास्वपाले १४ हजार २६४, कांग्रेसले ११ हजार ३१०, नेपाली कम्युनिस्ट पार्टीले ७ हजार १९४, एमालेले ७ हजार १२ र श्रम संस्कृतिले ७ सय ६२ मत पाएको छ ।
पर्वतमा रास्वपाले प्रत्यक्षको तुलनामा समानुपातिकमा ४ हजार १७४ मत बढी पाएको छ । यस क्षेत्रबाट समानुपातिकमा रास्वपाले ३० हजार ७३५, कांग्रेसले १३ हजार ८७४, एमालेले १३ हजार ३४०, नेपाली कम्युनिस्ट पार्टीले ३ सय ७८३, राप्रपाले १४ सय ७७ र श्रम संस्कृति पार्टीले ५ सय ४१ मत पाएको छ ।
प्रदेशमा रास्वपाले समानुपातिकतर्फ ५ लाख २५ हजार ६३५ मत ल्याएको छ । कांग्रेसले २ लाख ७ हजार ३८७ मत ल्याएको छ । एमालेले १ लाख ५२ हजार ५८७ मत पाएको छ भने पहिलोपटकमा नै राष्ट्रिय दल बनेको श्रम संस्कृति पार्टीले १८ हजार ९९५ मत ल्याएको छ । गण्डकीबाट नेपाल कम्युनिस्ट पार्टीले ५७ हजार ८७६ मत पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले २३ हजार ५५६ मत पाएको छ ।
दुई तिहाइ नजिक पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यस निर्वाचनबाट ठूलो दलका रूपमा उदाएको छ ।