झण्डै दुईतिहाइको सरकार बन्ने तयारी भइरहे पनि मन्त्रीहरू बस्ने आवासको अझै टुंगो छैन ।
ललितपुरको भैँसेपाटीस्थित मन्त्री आवास अहिले पनि पुनर्निर्माणको पर्खाइमा छ ।
गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा भएको आगजनीले अधिकांश भवन ध्वस्त बनायो ।
अहिले त्यहाँ एउटा ब्लक मात्रै सुरक्षित छ । त्यही एउटा ब्लकमा वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाईं बसिरहेका छन् । अरू मन्त्रीहरू भने निजी घर वा भाडामा बस्न बाध्य भएका छन् ।
सरकारले अझैसम्म नयाँ आउने मन्त्रीहरूका लागि आवास व्यवस्थापन गर्न सकेको छैन ।
शहरी विकास मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका अनुसार पहिलो चरणमा ११ वटा भवन पुनःनिर्माणका लागि प्रक्रिया अघि बढाइएको छ ।
मन्त्री आवासमै भेटिएकी संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयकी साइट इन्जिनियर तुलसा रेग्मीका अनुसार आगजनी तथा तोडफोडबाट झन्डै ६५ करोड रूपैयाँ बराबरको क्षति भएको छ ।
झन्डै ११ करोड लागत अनुमान गरी भवन रिस्टोरेसन गर्ने काम शुरू गरिएको छ । त्यस कार्यको ठेक्का प्रक्रिया अघि बढेको हो ।
बोलपत्र प्रस्तावको आर्थिक मूल्यांकनको काम भैरहेको छ । चैत दोस्रो साताबाट काम शुरू गरेर असारभित्र सक्ने योजना छ । बाँकी भवनहरूको क्षतिको मूल्यांकन अझै भइरहेको छ । ती भवनको 'डिटेल ड्यामेज एसेसमेन्ट'को काम जारी छ ।
अबको एक महिनामा त्यसको रिपोर्ट आइसकेपछि बाँकी भवनको पनि ठेक्का आह्वान हुने संघीय सचिवालय तथा व्यवस्थापन कार्यालयका सूचना अधिकारी अरुण भुजेलले बताए ।
अब प्रश्न उठ्छ— नयाँ मन्त्रीहरू कहाँ बस्ने ? काठमाडौंमा आफ्नै घर हुनेलाई घरमै सुविधा दिने तयारी छ । तर, घर नभएकाहरूका लागि भाडामा घर खोज्ने योजना बनेको छ ।
तर कति भाडा दिने ? कुन स्तरको घर दिने ? अहिलेसम्म टुंगो छैन ।
सूचना अधिकारी भुजेल नयाँ मन्त्रीहरूको हकमा भाडाको घरमा व्यवस्थापन गर्ने कि अन्य विकल्प रोज्ने भन्ने निर्णय हुन बाँकी रहेको बताउँछन् ।
कस्तो घर हो, कति तल्लाको हो, कुन एरिया हो , ती सबै कुराको मूल्यांकन गरेर घर भाडा दिइने उनको भनाइ छ ।
कतिपय अवस्थामा मन्त्रीहरूलाई उनीहरूकै निजी घरमा व्यवस्थापन गर्न मुस्किल हुन्छ ।
सुरक्षाकर्मी र पार्किङका लागि पर्याप्त स्पेस नहुँदा समस्या हुने गरेका विगतका अनुभव छन् ।
सोही कारण कर्मचारीहरू निकै अन्योलमा देखिन्छन् ।
नयाँ आउने मन्त्रीहरू कहाँ बस्छन्, त्यसको निधो अब केही दिन पछि मात्र हुने देखिन्छ ।
हेर्नुहोस्, भिडियो: