
ललितपुर १८ पुस– नेकपा माओवादी केन्द्रले सरकार र पार्टीको नेतृत्व एउटै व्यक्तिले गर्न नमिल्ने निश्कर्ष निकालेको छ । प्रधानमन्त्री र पार्टी अध्यक्ष फरक फरक व्यक्ति रहनेगरी नेकपा एमालेसँग पार्टी एकता गर्ने माओवादीले निर्णय गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुलमटारमा मंगलवार बसेको केन्द्रीय कार्यालयको बैठकले सरकार र पार्टीको नेतृत्व फरक हुनुपर्ने ठहर गरेको हो ।
पार्टी र सरकारको नेतृत्व फरक व्यक्तिले गर्नेगरी तत्काल पार्टी एकता गर्नुपर्ने नेता देवेन्द्र पौडेलले बताए । माओवादीले पार्टी एकताका बिषयमा भोलि एमाले अध्यक्ष केपी ओलीसंग छलफल गर्ने निर्णय गरेको छ ।
बैठकमा चुनावमा अन्तरघात गर्नेलाई कारवाही गर्ने र आन्तरिक संगठन सुद्रीढिकरणको बिषयमा छलफल भएको नेता तिलक परियारले लोकान्तरलाई बताए । बैठकमा अध्यक्ष प्रचण्डले पार्टी एकताको गृहकार्यबारे जानकारी गराएका थिए । सरकार गठनको बिषयमा बारे बैठकमा छलफल नभएको परियारले बताए ।