
काठमाडौं, १९ पुस– लामो यात्रा गरेर काठमाडौं आउँदा तपाईं अस्वस्थ हुनुभएको छ ? अथवा तपाईंलाई यात्रा गर्दा स्वास्थ्यसम्बन्धी समस्या देखिन्छ ? यदि त्यस्तो हो भने तपाईलाई खुसीको खबर छ, काठमाडौं बसपार्कमा अब निःशुल्क स्वास्थ्य सेवा पाउनुहुनेछ ।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले लामो यात्रा गरेर आउने यात्रुलाई लक्षित गरी काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कममा निःशुल्क आकस्मिक स्वास्थ्य सेवा सुरू गरेको छ ।
लोहत्से बहुउद्देश्यीय प्रालिसँगको सहकार्यमा ग्राण्डी अस्पतालले नयाँ बसपार्कमा आकस्मिक उपचारसहितको स्वास्थ्य सेवा संचालनमा ल्याएको हो । स्वास्थ्य सेवा केन्द्रको बुधबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गरे ।
अस्पतालको पाचौं वार्षिकोत्सबको अवसरमा अस्पतालले देशभरबाट आउने यात्रुलाई आकस्मिक सेवा छिटो उपलब्ध गराउने उदेश्यले बसपार्कमा सेवा केन्द्र संचालनमा ल्याइएको अस्पतालका निर्देशक दिपक कुँवरले बताए । ‘हाम्रो उद्देश्य नाफा कमाउने मात्र हैन । जनतालाई परेको समस्यामा हामीले पनि सहयोग गर्नुपर्छ,’ कुँवरले भने, ‘देशभरबाट आउने यात्रुलाइ आकस्मिक सेवा छिटो उपलब्ध गराउन यो केन्द्र संचालन गरेका हौं ।’
बसपार्कमा देशभरका यात्रु आउने गरे पनि आकस्मिक स्वास्थ्य सेवा उपलब्ध नहुँदा कति आकस्मिक दुर्घटनामा परेका विरामीको बाटोमै मृत्यु हुने जोखिम रहेको उनले बताए । अबको दिनमा त्यस्तो जोखिम नहोस् भनेर गोंगबु बसपार्कमा स्वास्थ्य सेवा शुरु गरिएको उनको भनाइ थियो ।
बसपार्कमा संचालित सेवा केन्द्रमा दुर्घटनामा परि चोटपटक लागेका घाइतेको निशुल्क ओषधी उपचार गरिने अस्पतालका मेडिकल इन्चार्ज डा.चक्रराज पाण्डेले बताए । केन्द्र २४ सै घण्टा खुल्ला रहने र आवश्यकता अनुसार चिकित्सकहरुको व्यवस्था गरी निःशुल्क सेवा प्रदान गरिने उनको भनाइ छ ।
अस्पतालले त्यहाँ निःशुल्क उपचार पछि थप उपचारको लागि अस्पताल लैजानुपर्ने बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवाको समेत व्यवस्था गरेको छ ।