
धनगढी, १९ पुस– प्रदेश नम्बर ७ को अस्थायी राजधानी कैलालीको धनगढीलाई तोक्ने तयारी भइरहेको समाचार बाहिरिएसँगै पहाडी क्षेत्रमा आन्दोलन चर्किएको छ ।
सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम रहेको दीपायललाई नै प्रदेशको राजधानी बनाइनुपर्ने भन्दै आन्दोलन शुरु भएको छ । सरकारले धनगढीलाई अस्थायी राजधानी तोक्ने तयारी गरेका बेला दीपायलमा टायर बालेर बिरोध प्रदर्शन शुरु भएको छ ।
शहरी विकास मन्त्रालयले गरेको अध्ययनअनुसार सरकारले धनगढीलाई प्रदेश नम्बर ७ को अस्थायी राजधानी तोक्ने तयारी गरेको छ ।
भौतिक संरचना तथा सुगमताको हिसावले धनगढीलाई प्रदेशको राजधानी तोक्ने निर्णय हुन लागेको समाचार सार्वजनिक भएसँगै डोटीका स्थानीयहरु विरोधमा उत्रेका हुन् । उनीहरुले विरोधसँगै विभिन्न संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।
आज (बुधवार) बिहान बसेको संघर्ष समितिको बैठकले अनिश्चितकालीन जिल्ला बन्द गर्ने निर्णय गरेको हो । बन्द आहृवान गरेसँगै दीपायल, पिपल्लालगायतका मुख्य बजारहरु बिहानैदेखि बन्द भएका छन् । सरकारी कार्यालय, बजार, गैरसरकारी संस्था, शिक्षण संस्थाहरु समेत बन्दले प्रभावित भएका छन् ।
एम्वुलेन्स, दमकल, प्रेस, शववहान, निलो प्लेटका अत्यावश्कीय सवारी साधनलाई भने चल्न दिइएको छ ।
संघर्ष समितिका सदस्य दीपकबहादुर खड्काले पहाडको अधिकार खोस्ने गरी धनगढीलाई प्रदेश ७ को अस्थायी मुकाम तोक्न लागिएकाले संघर्षमा उत्रिएको बताए ।