
गुल्मी, १९ पुस– राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले आगामी मनसुनसम्म भूकम्पपीडितको ६० प्रतिशत घर निर्माण भइसक्ने बताएका छन् ।
सबै गाउँपालिका र नगरपालिकामा प्राविधिक पुगेपछि भूकम्पपीडितमा उत्साह थपिएकोे र पुनःनिर्माणले पनि गति लिएको उनले बताए ।
भूकम्पपीडितका गुनासा सुन्न र समस्या समाधान गर्ने उद्देश्यले स्थलगत अनुगमनका क्रममा प्राधिकरणको एक टोलीसहित एकसाता लामो जिल्ला भ्रमणमा निस्कनुभएका कार्यकारी अधिकृत भुसालले गुल्मीमा लाभग्राही, स्थानीय जनप्रतिनिधि, राजनीतिक दल र स्थानीय सञ्चार माध्यमसँगको अन्तर्क्रिया कार्यक्रममा उक्त कुरा बताएका हुन् ।
कतिपय ठाउँमा प्राविधिकहरु समयमा जान ढिलो गरेका कारण पीडितले आफ्नै तरिकाले घर बनाइसकेको हुँदा त्यसलाई कसरी सम्बोधन गर्ने भन्नेबारेमा पनि पुनःनिर्माण प्राधिकरणले केही पुनर्विचार गर्न लागेको उनले बताए ।
प्राधिकरणले गति लिन नसकेको मूल समस्या भनेको प्राविधिक कर्मचारीहरु स्थानीय तहमा गएर भूकम्पपीडितलाई दोस्रो किस्ता निकाल्नका लागि सहजीकरण गर्न नसकेको उनको भनाइ थियो ।
उक्त समस्या समाधानका लागि अहिले गाउँपालिका र नगरपालिकाअन्तर्गत कर्मचारी खटाइसकेको र प्राविधिकले गाउँगाउँमा पुगेर आफ्नो काम शुरु गरेको हुँदा अहिले पुनःनिर्माणले तीव्रता लिएको उनको दाबी थियो । अनुगमनका क्रममा कतिपय ठाउँमा कामदारको अभाव रहेको देखिएको भुसालले बताए ।
गुल्मीमा लाभग्राही सूचीमा परेका भूकम्पपीडितको संख्या चार हजार १४४ रहेकामा हालसम्म तीन हजार ५६८ जनाले पहिलो किस्ताबापतको रकम सम्झौता गरेर लगिसकेको जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत शंंकरप्रसाद गौतमले जानकारी दिएका छन् ।
जिल्लाको मदाने, धुर्कोट, तम्घास र पूर्तिघाटमा सम्पन्न अन्तक्र्रिया एवं छलफल कार्यक्रममा लाभग्राही एवं स्थानीय जनप्रतिनिधिले पुनःनिर्माण कार्य ढिलो भएको बताउँदै यसलाई तीव्रता दिनुपर्नेमा जोड दिएका थिए ।