![सञ्चालनको पर्खाइमा नागढुंगा सुरुङमार्ग [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/Nagdhunga_Tunnel_7_kBXyRqY2Ha.jpg)
काठमाडौं–धादिङ जोड्ने नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको अन्तिम तयारीमा पुगेको छ ।
देशको यातायात पूर्वाधारमा नयाँ युगको शुरूआत गर्ने अपेक्षा गरिएको यस परियोजना बहुआयामिक महत्त्वको मानिन्छ ।
यस सुरुङमार्गको औपचारिक शिलान्यास २०७६ कार्तिकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली गरेका थिए ।
परियोजनाको शुरूआती लागत करिब २२ अर्ब रूपैयाँ अनुमान गरिएको थियो, तर निर्माणका क्रममा भूगर्भीय समस्या, डिजाइन परिवर्तन र अन्य कारणले लागत बढ्दै २७ अर्ब रूपैयाँभन्दा बढी पुगेको छ ।
जापान सरकारको सहुलियत ऋण सहयोगमा जापानी कम्पनी हाजमा–आन्दो जेभीले जिम्मा पाएको थियो ।

प्रारम्भिक रूपमा परियोजना करिब ४२ महिनामा २०७८/८० सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको थियो, तर विभिन्न प्राविधिक र भौगोलिक समस्याका कारण समय लम्बिँदै २०८२ सम्म आइपुग्दा निर्माण कार्य सम्पन्न भएको छ, भने धादिङ क्षेत्रमा पहिरो नियन्त्रण र टोल गेट निर्माण कार्य भइरहेको छ ।
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको ठेक्का भने चिनियाँ संलग्न ज्वाइन्ट भेन्चर कम्पनी युक्सिन–एआरटीले पाइसकेको छ ।
सडक विभागअन्तर्गतको परियोजना कार्यालयले सुरुङमार्ग सञ्चालनको ठेक्का पाँच वर्षका लागि युक्सिन–एआरटीलाई करसहित एक अर्ब १० करोड ४० लाख ३७ हजार रूपैयाँमा ठेक्का दिएको हो ।
यसका साथै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुंगा सुरुङ मार्गमा चल्ने सवारी साधनको शुल्क सार्वजनिक गरी सकेको छ ।

मन्त्रालयले राजपत्रमा सूचना जारी गरी मन्त्रिपरिषद्ले सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१)ले दिएको अधिकार प्रयोग गरी नागढुंगा सुरुङमार्ग खण्डमा चल्ने सवारी साधनबाट सुरुङमार्ग उपभोगबापत दस्तुर लिने निर्णयअनुसार दर सार्वजनिक गरेको जनाएको छ ।
मन्त्रिपरिषद्ले गत साउन २६ गते उक्त निर्णय गरेको र सोही आधारमा राजपत्रमा सूचना प्रकाशित गरी दर सार्वजनकि गरिएको हो ।
जसअनसुार कार, भ्यान, पिकअप ट्याक्टर, माइक्रो बस र अन्य हलुका सवारीसाधन काठमाडौं प्रवेश गर्दा ६५ रूपैयाँ र बाहिरिँदा ६० रूपैयाँ तोकिएको छ ।
मिनी बस, मिनी टिपर/ट्रकको प्रवेशका लागि ११५ र बाहिरिँदा ८० रूपैयाँ लाग्नेछ । बस, ट्रक (सिंगल रियर एक्सल) प्रतिसवारीसाधन प्रवेश गर्दा २६० र बाहिरिँदा २०० रूपैयाँ तोकिएको छ ।
मल्टी एक्सल ट्रक/सवारीसाधन तथा भारी उपकरणको हकमा प्रवेश गर्दा ६०० र बाहिरिँदा २५० रूपैयाँ तोकिएको छ












तस्वीर : प्रकाश चन्द तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी