
काठमाडौं, १० माघ – निजीक्षेत्रबाट करीब एक वर्षअघिदेखि सञ्चालनमा आएको हिमालय एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सिंगो हवाई सुरक्षामा खतरा उत्पन्न हुनेगरी विमानस्थल परिसरभित्रै गैरकानूनी ढंगले भवन बनाएको खुलासा भएको छ ।
प्रचलित कानून, राष्ट्रिय सुरक्षा संवेदनशीलता र अवलम्बन गर्नुपर्ने प्रक्रियाको उल्लंघन गर्दै कार्यालय स्थापना गरेको विवरण लोकान्तरले प्राप्त गरेको छ ।
उक्त एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बोर्डको स्वीकृति नलिई चोरबाटोबाट भवन निर्माण गरेको खुल्न आएको हो । एयरपोर्टभित्र कुनै निजी एयरलाइन्सले मापदण्ड अनुसारको सानो टहरा निर्माण गर्न चाहेमा क्यानको बोर्डबाट स्वीकृति लिनुपर्छ ।
तर क्यानको बोर्डबाट हिमालय एयरलाइन्सलाई विमानस्थलभित्र कार्यालय स्थापना गर्न दिने सम्बन्धमा अहिलेसम्म कुनै आधिकारिक निर्णय भएको छैन । ‘अनुमति दिने त के यस सम्बन्धमा क्यान बैठकमा छलफलसम्म भएको छैन,’ पर्यटन मन्त्रालय स्रोतले लोकान्तरसँग भन्यो ।
क्यान बोर्डमा उक्त प्रस्ताव जानुअघि पर्यटन मन्त्रालयको उड्डयन सुरक्षा महाशाखाबाट कार्यालय स्थापना सम्बन्धमा टिप्पणी उठाउनुपर्ने प्रावधान छ । तर यी कुनै पनि प्रक्रिया एयरलाइन्सले पूरा गरेको छैन ।
एयरपोर्टभित्र विनास्वीकृति भवन निर्माण गर्दा त्यहाँभित्रको सिंगो हवाई सुरक्षामै चुनौती थपिएको मन्त्रालयका अधिकारीले बताए । ‘यस विषयमा हामीले क्यान पदाधीकारीसँग पनि सोधपुछ गरिरहेका छौं,’ मन्त्रालयका एक उच्च अधिकारीले भने ।
पर्यटन मन्त्रालय स्रोतका अनुसार नेपाल आयल निगमको हवाई इन्धन डिपो हटाउने कुरा चलिरहेकै बेला विमानस्थलको सुरक्षामा थप चुनौती थप्दै उक्त एयरलाइन्सले कार्यालय स्थापना गरेको हो ।
हवाई इन्धन डिपोका कारण विमानस्थलको सुरक्षामा चुनौती थपिएको भन्दै त्यहाँबाट त्यसलाई हटाउने बारेमा सरकारी अधिकारीहरूबीच छलफल चलिरहेको छ ।
‘जतिखेर हवाई इन्धन डिपो हटाउने कुरा चलिरहेको छ, उतिखेरै उक्त डिपोको आडमै उक्त एयरालाइन्सलाई कार्यालय स्थापना गर्ने अधिकार कसले दियो ?’ मन्त्रालयका ती अधिकारीको प्रश्न छ ।
निजी एयरलाइन्सलाई यसरी मनपरी गर्न किन छुट दिएको ? लोकान्तरको प्रश्नमा नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले निरीहता व्यक्त गरे । ‘त्यस्तो त नहुनुपर्ने हो । तर खै कसरी त्यस्तो हुन गयो, म बुझौंला,’ पोखरेलले थपे ।
क्यानको बोर्डबाट निर्णय नगराई किन त्यसरी एयरलाइन्सलाई भवन बनाउन अनुमति दिएको भन्ने प्रश्नमा पोखरेलको जवाफ छ, ‘क्यानको बोर्ड बैठक बसेर त्यस्तो अनुमति दिनुपर्ने हो तर यो प्रक्रियामा खै के भएको हो, म यसै भन्न सक्दिनँ ।’
सुरक्षा निकायको गम्भीर आपत्ति
नेपाली सेना र सशस्त्र प्रहरी बलको कार्यालय रहेको ठीक विपरीत दिशामा हिमालय एयरलाइन्सले कार्यालय स्थापना गरिदिएपछि ती दुवै सुरक्षा निकायले त्यसप्रति गम्भीर आपत्ति जनाउँदै सरकारी अधिकारीहरूको ध्यानाकर्षण गराएका छन् ।
उक्त भवनको पारिपट्टि नेपाली सेना र सशस्त्र प्रहरीका क्याम्प छन् । हिमालय एयरलाइन्सको कार्यालयले आफूहरूमाथि सुुरक्षा चुनौती थपेको भन्दै नेपाली सेनाले हालै यो विषयलाई रक्षा मन्त्रालय हुँदै मन्त्रिपरिषद् कार्यालयसम्म पु–याएको छ ।
‘नेपाली सेनाले उक्त एयरलाइन्सको कार्यालयले हवाई सुरक्षामा गम्भीर चुनौती थपेको भन्दै आपत्ति जनाएको छ र त्यहाँबाट उक्त कार्यालय हटाउन आग्रह गरेको छ,’ मन्त्रालयका एक अर्का अधिकारीले लोकान्तरसँग भने, ‘यसबारेमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । तर एयरलाइन्सले भनसुन, दबाब र प्रभावमा कार्यालय सार्न आनाकानी गरिरहेको छ ।’
हिमालय एयरलाइन्सले चक्रपथ नजिकै पर्ने गरी एयर पोर्टको कम्पाउण्ड भित्र कार्यालय स्थापना गरेको छ । ‘मुख्य सडकसँग नजिकै पारेर कार्यालय स्थापना गर्नु थप चुनौतीको विषय हो,’ स्रोतको दाबी छ, ‘हवाई सुरक्षा संवेदनशीलताको हिसाबले यस्तो कार्यलाई जोखिमपूर्ण ठानिन्छ ।’
हिमालय एयरलाइन्सको कार्यालय संवेदनशील क्षेत्र मानिने एयरपोर्ट भन्सार नजिकै खोलिएको छ । यसले भन्सार सुरक्षामा समेत असर गर्ने पर्यटन मन्त्रालयको भनाइ छ । ‘एयरपोर्टबाट भन्सार कार्यालयमा जाने बाटोनजिकै निजी विमान कम्पनीलाई कार्यालय खोल्न दिनु कुनै पनि हिसावले जायज छैन,’ ती अधिकारीले थपे ।
डिजाइन स्वीकृतिविनै भवन निर्माण विमानस्थलभित्र कार्यालय भवन निर्माणका लागि अर्थ मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग, विमानस्थल कार्यालय, र वडा कार्यालयबाट अनिवार्य रूपमा नक्सापास र डिजाइन स्वीकृति लिनुपर्छ । तर हिमालय एयरलाइन्सले यी कुनै पनि प्रक्रिया गरेको छैन ।
बुद्ध एयर लगायतले अर्थ मन्त्रालय, क्यान बोर्ड र अन्य सरकारी निकायको स्वीकृति लिएर मात्र यसअघि विमानस्थल परिसरभित्र साना कार्यालय स्थापना गरेका थिए ।
‘कुन शर्त राखेर उक्त भवन बनाउन दिइयो भन्ने क्यानको निर्णयमा खुलाइएको छैन,’ मन्त्रालय स्रोतको दाबी छ ।
यसमा क्यानका उच्चपदस्थ कर्मचारीको समेत मिलेमतो भएको हुन सक्ने मन्त्रालय स्रोतको दाबी छ ।
क्यान स्रोतका अनुसार, हिमालय एयरलाइन्सको फाइलमा ‘इन्जिनियरिङ मेन्टिनेन्सका लागि उक्त कार्यालय स्थापना गर्ने’ भन्ने सामान्य कारण खुलाइएको छ ।
‘इन्जिनियरिङ मेन्टिनेन्किा लागि भनिएको भवनमा कुनै चहलपहल छैन । के धन्दा हुन्छ उक्त कार्यालयबाट भन्नेमा हामी थप सशंकित भएका छौं,’ मन्त्रालय स्रोतले थप्यो ।
उक्त क्षेत्रमा भवन बनाएपछि विमानस्थल भएर आउने कार्गोका सामानको सुरक्षामा प्रश्न उठेको अधिकारीहरूको दाबी छ ।
विस्तृत विवरण छैन : एयरलाइन्स
यसैबीच हिमालय एयरलाइन्सकी ब्राण्ड र सेवा सुधार विभागकी प्रमुख उज्जाला डलीले यस विषयमा आफूलाई विस्तृत जानकारी नभएको प्रतिक्रिया लोकान्तरलाई दिएकी छन् । ‘इन्जिनियरिङ मेन्टिनेन्सका लागि सानो कार्यालय बनाएकोसम्म मैले सुनेकी छु । यसबारेमा मैले धेरै बताउन मिल्दैन ।
एयरलाइन्सको माथिल्लो तहका अधिकारीलाई सोधेर मात्र तपाईंलाई जवाफ दिन सक्छु या माथिल्लो तहका अधिकारीलाई सम्पर्क गराइदिन सक्छु,’ उनले भनिन् । तर उक्त एयरलाइन्सका माथिल्ला तहका अधिकारीहरू लोकान्तरको पटक–पटकको प्रयासका बाबजुद सम्पर्कमा आउन चाहेनन् ।
खराब पृष्ठभूमि
हिमालय एयरलाइन्स सञ्चालनको शुरुदेखि नै विवादमा तानिएको हो । उसले अन्तर्राष्ट्रिय उडानका लागि अनुमति नपाउँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै जहाजमा राखेर चीन भ्रमणमा लगेको थियो ।
नेपालका बहालवाला प्रधानमन्त्रीलाई चीन भ्रमणमा लानुअघि उक्त एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति लिएको थिएन । त्यो विषय सार्वजनिक भएपछि उक्त एयरलाइन्स विवादमा तानिएको थियो ।
अन्तर्राष्ट्रिय उडान भर्नका लागि एयर अपरेसन सर्टिफिकेट अर्थात (एओसी) लिनु पर्छ । तर क्यानबाट एओसी नै नलिई उक्त एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरेको थियो ।
अनुमति नै नलिई प्रभावमा पारेर प्रधानमन्त्रीलाई चीनमा भ्रमणमा लगेको र उक्त कार्य हवाई सुरक्षा मापदण्ड, प्रचलित कानून र नेपाली सुरक्षा व्यवस्थाको ठाडो उल्लंघन भएको भन्दै उक्त एयरलाइन्सको अनुमति नै खारेज गर्नुपर्नेसम्मका आवाज उठेको थियो ।