
अन्तर्राष्ट्रिय वेलनेस दिवसको अवसरमा ओमानको मस्कटस्थित नेपाली दूतावासले ‘डिप्लोमेटिक हाइकिङ’ आयोजना गरेको छ ।
बुधबार वादी कबीर पदमार्गमा आयोजित उक्त कार्यक्रममा स्वस्थ जीवनशैली प्रवर्द्धन र वेलनेससम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले राखिएको नेपाली दूतावासले जनाएको छ ।
हाइकिङ कार्यक्रममा नेपालका राजदूत डोरनाथ अर्याल, चीनका राजदूत ल्यु जियान, कूटनीतिक नियोगका प्रतिनिधि, सञ्चारकर्मी, नेपाली समुदायका सदस्य तथा ओमानी नागरिकको सहभागिता रहेको थियो ।
सगरमाथा आरोहण गर्ने पहिलो ओमानी महिला नधिरा अल हार्थी र एभरेष्ट आरोही सुलैमान अल नाबीको नेतृत्वमा करिब दुई घण्टा लामो पदयात्रा गरिएको दूतावासले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत अर्यालले संयुक्त राष्ट्रसंघको महासभाले १५ अप्रिललाई अन्तर्राष्ट्रिय वेलनेस दिवसका रूपमा घोषणा गरेको जानकारी दिए ।

उनले वेलनेसलाई शारीरिक, मानसिक, भावनात्मक, सामाजिक तथा वातावरणीय स्वास्थ्यसँग सम्बन्धित समग्र अवधारणा भएको उल्लेख गर्दै नेपाललाई वेलनेसको विश्वस्तरीय गन्तव्य बनाउने लक्ष्य रहेको बताए ।
कार्यक्रममा सहभागीहरूले हाइकिङमार्फत स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै वातावरण संरक्षणमा समेत योगदान दिएका दूतावासको भनाइ छ ।
पदमार्गमा भेटिएका प्लास्टिकजन्य फोहोर संकलन गरी सरसफाइ गरिएको थियो । दूतावासले उक्त कार्यक्रमले नेपाल र ओमानबीच आपसी सद्भाव तथा पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको समेत जनाएको छ ।