२२ असार २०८३, सोमबार

चौध वर्षपछि पलेँटीमा पुन: पवन गोले

बैशाख ५, २०८३
काठमाडौं
चौध वर्षपछि पलेँटीमा पुन: पवन गोले

अंग्रेजी महिनाको अन्तिम शुक्रबार र शनिबार नेपालयको ‘आर’सालामा आयोजना हुँदै आएको पलेँटीमा यसपालि दार्जिलिङका प्रसिद्ध गायक पवन गोले प्रस्तुत हुने भएका छन् । पवनले आजभन्दा १४ वर्ष पहिले पनि पलेँटीमा आफ्नो गायन प्रस्तुत गरेका थिए ।

पवनले यसपालिको पलेँटीमा आफ्ना पुराना गीतका साथै नयाँ गीत पनि प्रस्तुत गर्नेछन् । नयाँ गीतमा सङ्गीतकार रमेश गुरुङद्वारा धुन भरिएका गीत समेटिएका छन् । 

जसका निम्ति हार्मोनियम समातेर रमेश गुरुङ र माइक समातेर पवन गोले अभ्यासमा जुटिरहेका देखिन्छन् । पलेँटीका कलाकारहरूले उनीहरूलाई साथ दिइरहेका छन् ।

पलेँटी कार्यक्रम नेपाली आधुनिक सङ्गीतलाई प्राथमिकता दिँदै शुरू भएको साङ्गीतिक कार्यक्रम हो । यो कार्यक्रम आजभन्दा २१ वर्ष पहिलेदेखि सञ्चालन हुँदै आएको हो ।

पवन गोले नेपाली साङ्गीतिक जगतका नेपालीभाषी श्रोता बीच परिचित नाम हो । खासगरी- ‘हावासँग बगूँ भन्छ, पातसँग बोलूँ भन्छ’ पवन गोलेको स्वरमा सर्वाधिक लोकप्रिय गीत हो । उनी दार्जिलिङको साङ्गीतिक जगतमा लामो समयदेखि क्रियाशील कलाकार हुन् ।

दार्जिलिङमा उहिले 'सङ्ग एण्ड ड्रामा युनिट' नामको संस्था हुने गर्थ्यो । उतिबेला पश्चिम बंगाल सरकारको मातहतको त्यो संस्था पछि गएर जीटीए (गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसन) अन्तर्गत समायोजन भयो ।

जसको नाम 'इन्फरमेसन एण्ड कल्चर डिपार्टमेन्ट' रह्यो । पवन गोलेले त्यही संस्थामा कलाकारको रूपमा सेवारत रहेर सन् २०२१ मा अवकास प्राप्त गरे । तर सङ्गीतको मोहबाट उनी अहिले पनि अवकास लिन रुचाउदैनन् । त्यसैले गायनमा क्रियाशील रहिरहेका छन् ।

सङ्गीतकार सुवर्ण लिम्बूको धुनमा सजिएको गीत 'हावासँग बगूँ भन्छ' गीतबाट नेपाली सङ्गीत जगतमा चिनिएका पवनले अनगिन्ति गीत गाएका छन् तर उनको गायन, आम नेपाली श्रोतामाझ मनग्य हुनेगरि प्रस्तुत भएका छैनन् । त्यही यथार्थलाई अनुभूत गरेर पलेँटीले यसपालि उनलाई दोहोर्‍याएर काठमाडौं निम्त्याएको हो ।

पवनले यसपालि सुवर्ण लिम्बूको नयाँ धुनका साथै पारस गजमेर, बसन्त छेत्री, प्रदीप छेत्री र रमेश गुरुङले सङ्गीत भरेका गीतहरू प्रस्तुत गर्नेछन् । पवनको पलेँटीमा समेटिएका गीतकारमा शिवशंकर थापा, नरदेन रुम्बा, जितेन्द्र बर्देवा, जस योञ्जन प्यासी, पुरन गिरि, सुरेन थिङ, संजय बान्तवा, संजय बिष्ट, कालूसिंह रनपहेली, प्रमोद स्नेही र अरुण तिवारी रहेका छन् ।  

पवन गोले सन् २०१२ मा पनि पलेँटी कसिसकेका गायक हुन् । उतिबेला उनले विभिन्न सङ्गीतकारका धुनहरूमा सजिएका गीत सुनाएका थिए । यसपालिको पलेँटीमा आधा पुराना र आधा नयाँ सङ्गीतहरू समेटेका छन् । नयाँ धुनहरूमा सङ्गीतकार रमेश गुरुङको साथ रहनेछ ।

पहिलो पल्ट सन् २०१२ मा पलेँटी कसेको सम्झना गर्दै पवन गोले भन्छन्- ‘यसभन्दा पहिले पलेँटीमा आउँदाको सुन्दर अनुभूति मनबाट नमेटिँदै फेरि पनि यो मञ्चमा आएको छु । झन् यसपाली साथमा सङ्गीतकार रमेश गुरुङ भाइ छन् । आशा छ मेरो सृजनाकर्ममा नयाँ पुराना दर्शक, श्रोताको मनग्य माया पाउनेछु ।’

पलेँटी कार्यक्रम यही अप्रिल महिनाको अन्तिम शुक्रबार; २४ तारिख; र २५ तारिख; शनिबारका दिन आयोजना हुनेछ । कालिकास्थानस्थित नेपालयको 'आर'सालामा हुने यस कार्यक्रमको टिकेट www.paleti.com.np मा प्रवेश गरेर अनलाइनबाट नै प्राप्त गर्न सकिन्छ ।

‘आर’सालामा उपस्थित हुन असमर्थ सङ्गीतप्रेमीका निम्ति अनलाइनबाटै प्रत्यक्ष हेर्न Pay-Per-View को व्यवस्था पनि गरिएको छ । 

त्यसका निम्ति पलेँटीको वेबसाइटमा रहेको Purchase Live Access बटनमा क्लिक गरेर आफ्नो वालेट प्रयोग गर्नुपर्ने हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्