
काठमाडौं, २१ पुस– वाम गठबन्धनले नयाँ सरकार गठनका लागि आवश्यक पर्ने सबै तयारी पूरा गर्ने जिम्मा सरकारलाई दिएको छ । राष्ट्रियसभाको निर्वाचन, प्रदेश प्रमुखको नियुक्ति, अस्थायी राजधानी तोक्नेलगायतका काम गर्ने जिम्मा सरकारलाई दिएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार आह्वान गरेको सर्वदलिय बैठकमा वाम गठबन्धनले प्रदेश प्रमुख तोक्ने सर्वाधिकार सरकारलाई नै सुम्पेपछि यसको तयारी शुरु भएको छ ।
प्रदेश प्रमुखको नियुक्ति बिना नयाँ सांसदहरुको सपथ ग्रहण नै रोकिने भएपछि वाम गठबन्धनले विवाद नहुने गरी प्रदेश प्रमुख तोक्ने जिम्मेवारी दिएको हो । बैठकमा सहभागी एमाले नेता भीम रावलले २०–२५ दिनभित्रै राष्ट्रियसभाको निर्वाचन सम्पन्न गरेर नयाँ सरकार गठनका लागि मार्ग प्रसस्त गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताए । आउँदो मन्त्रिपरिषदको बैठकबाट राष्ट्रियसभाको निर्वाचन मिति, प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने देउवाको तयारी छ ।
न्यायाधीश सिफारिस– न्याय परिषद्ले विभिन्न उच्च अदालतमा ४ जना न्यायाधीशको नाम सिफारिस गरेको छ । परिषदको बिहीबार बसेको बैठकले सर्वोच्च अदालतका मुख्य रजिष्टार नहकुल सुवेदीलाई उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीशका लागि सिफारिस गरेको हो ।
यस्तै उच्च अदालत जनकपुरको मुख्य न्यायाधीशमा उदयप्रसाद चापागाई, सुर्खेतमा हरिप्रसाद पोखरल र दिपालयको मुख्य न्यायाधीशमा यज्ञ वस्याललाई सिफारिस गरेको छ । यसैबीच न्याय परिषदको निर्णयमा सर्बोच्च अदालतका बरिष्ठ न्यायाधीश दीपकराज जोशीले असन्तुष्टि जनाउँदै नोट अफ डिसेन्ट लेखेका छन् ।
एनएस चिहृन आवश्यक– सरकारले गुणस्तर मापदण्ड (एनएस) चिहृन नलिने ग्यास उद्योगलाई बन्द गर्ने चेतावनी दिएको छ । उद्योगीको लापरवाहीका कारण ग्यास सिलिण्डर विस्फोटनका घटना बढ्न थालेपछि गुणस्तर तथा नापतौल विभागले बोटलिङ प्लान्टमाथि कडाई गरेको हो ।
विभागले गत वर्ष कात्तिकमा तीन महिनाभित्र अनिवार्य रुपमा एनएस चिहृन लिन बोटलिङ प्लान्टलाई आग्रह गरेको थियो । तर, एक वर्ष वितिसक्दा पनि आग्रह पालना नगरेपछि कडा रुपमा प्रस्तुत हुन बाध्य भएको विभागको भनाई छ ।
विभागका अनुसार हालसम्म ४ वटा यस्ता बोटलिङ प्लान्टलेमात्र गुणस्तर चिहृन लिएका छन् । नेपालमा ५५ वटा ग्यास उद्योग छन् ।
एकता प्रक्रिया जारी छ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठनको बाटो खुलिसकेकोले दुवै दलका नेताहरु पार्टी एकीकरणमा केन्द्रित भएको बताएका छन् । प्रेस चौतारी चितवन र प्रेस सेन्टर चितवनले संयुक्त रुपमा भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नयाँ सरकार गठनअघि नै नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणमा जोड दिइएको बताए ।
अध्यक्ष दाहालले पार्टी एकीकरणका विषयमा एमाले र माओवादी केन्द्रमा कुनै मतभेद नभएको भन्दै भएका छलफलहरु सकारात्मक रहेको पनि दाबी गरे ।
राष्ट्रपति र आयोगबीच छलफल– राष्ट्रपति विद्यादेवी भण्डारी र निर्वाचन आयोगका पदाधिकारबीच भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा आयोग पदाधिकारीले राष्ट्रियसभाको निर्वाचन नभइ प्रतिनिधि सभाको नतिजा सार्वजनिक गर्न नमिल्ने जानकारी गराएका थिए ।
उनीहरुले राष्ट्रियसभा निर्वाचनको तयारी बारे पनि राष्ट्रपतिलाई जानकारी गराएका छन् । आयोगले प्रतिनिधिसभाको सम्पूर्ण नतिजा राष्ट्रपतिलाई बुझाएपछि मात्र नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्ने संवैधानिक व्यबस्था छ ।
सात चेलीको उद्दार– मानव बेचबिखनमा संलग्न दलालको जालोमा पुगेर अफ्रिकी मुलुक केन्या पुगेका ७ नेपाली चेलीको उद्दार भएको छ । भारतीय उच्च आयोगको पहलमा ७ नेपालीसँगै ३ भारतीय युवतीको उद्दार भएको हो । नैरोवीमा रहेको भारतीय उच्च आयोगले भारत हुँदै केन्या लैजान लगिएका युवतीको उद्दार गरेको हो ।
भारतीय उच्च आयोग र केन्या प्रहरीको संयुक्त अपरेसनबाट नेपाली र भारतीय गरी १० युवतीको उद्दार गरिएको हो ।
घनले हानी दुई साथीको हत्या– पोखरा लेखनाथ महानगरपालिका–१८, सराङकोटस्थित निर्माणाधीन माउन्टेन रिसोर्ट एण्ड स्पा भवनमा गत आइतबार गरिएको दुईजनाको हत्या सँगै सुतेको साथीले गरेको पुष्टि भएको छ । मोबाइल चोरको दोष लगाएपछि धनकुटाको छथर जोरपाटी गाउँपालिका घर भई सो रिसोर्टमा काम गर्ने मजदुर पूर्णबहादुर लिम्बूले घनले हान्दा दुईजनाको मृत्यु भएको र एकजना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
चारजना खाना खाएर संगै सुतेकोमा चोरको आरोप लगाएको रिसको झोँकमा घनले हान्दा भोजपुर षडानन्द नगरपालिकाका १९ वर्षीय निमा शेर्पा र ३७ वर्षीय आङलाक्पा शेर्पाको घटनास्थलमा मृत्यु भएको थियो भने अर्का साथी २७ वर्षीय आङदावा शेर्पा गम्भीर घाइते भएका थिए ।
घोषणा पत्र– कास्कीको ल्वाङ होमस्टेमा सम्पन्न नयाँ शक्ति नेपालको ३ दिने विस्तारित बैठकले १० बुँदे घोषणा पत्र जारी गरेको छ । चुनावमा अपेक्षाकृत परिणाम पाउन नसकेपछि समिक्षा गर्न तीन दिनसम्म बसेको बैठकले पार्टीलाई सशक्त बैकल्पिक राजनीतिक शक्तिका रुपमा विकास र विस्तार गर्नेसहित १० बुँदे घोषणा पत्र जारी गरेको हो ।
साथै, बैठकले पार्टीलाई बैकल्पिक राजनीतिक शक्ति बनाएरै छाड्ने संकल्प गरेको संयोजक डा. बाबुराम भट्टराईले बताए । कांग्रेससँग मुद्दामा सहकार्य हुन सक्ने तर, नयाँ शक्ति पार्टीलाई अलग्गै धार र स्वतन्त्र पहिचानसहित अघि बढाउने उनले बताए ।
विद्यार्थी र प्रहरीबीच झडप– पेट्रोलियम पदार्थमा भाउ बढाएको भन्दै आन्दोलनमा उत्रिएका नेकपा एमाले र माओवादी केन्द्र निकटका युवा तथा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । बढेको मूल्य तत्काल फिर्ता गर्न माग गर्दै नेपाल आयल निगमका अधिकारीहरुलाई ज्ञापनपत्र बुझाउन काठमाडौंको बबरमहल पुगेका विद्यार्थी र प्रहरीबीच झडप भएको हो ।
कार्यालयभित्र प्रवेशमा प्रहरीले रोकेपछि आक्रोशित विद्यार्थी र प्रहरीबीच झडप भएको थियो
यसैबीच, अखिल छैठौले राजधानीको रत्नपार्कमा मूल्यवृद्धिको विरोधमा सभा गरेको छ ।
काँग्रेससँगको तालमेल नै पराजय– राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा बोल्ने अधिकांश नेताले निर्वाचनमा नेपाली काँग्रेससँग तालमेल गर्नु नै पार्टी पराजय हुनुको मुख्य कारण भएकोमा जोड दिएका छन् । पार्टी प्रवक्ता भुवन पाठकका अनुसार बैठकमा नेताहरुले प्रतिनिधिसभा चुनावमा देशका १६५ स्थानमध्ये पाँच स्थानमा मात्र उम्मेदवारी दिएकाले पार्टीले न्यूनतम मतसीमा प्राप्त गर्न नसकेको विचार व्यक्त गरे ।
बुधबारदेखि जारी बैठकमा ५८ नेताले धारणा राखेको र केही नेताले बोल्न बाँकी रहेकाले शुक्रबार बिहान ९ बजेसम्म बैठक स्थगित गरिएको छ ।
नेविसंघको विरोध– नेपाल विद्यार्थी संघले काँग्रेसले निर्वाचनमा कमजोर नतिजा ल्याउँदा पनि पार्टीभित्र समीक्षा बैठक नबसेको भन्दै विरोध जनाएको छ । नेविसंघले बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी नेतृत्वले निर्वाचन सकिएको यति धेरै समय हुँदासम्म पनि बैठक नबोलाएको भन्दै मुखमा कालोपट्टी बाँधेर आधा घण्टा मौन विरोध जनाएको हो ।
निर्वाचनमा कमजोर नतिजा आउनुको नैतिक जिम्मेवारी कसले लिने, पार्टीभित्र समीक्षा बैठक हुन नसकेको भन्दै नेतृत्वको ध्यानाकर्षणका लागि मौन विरोध गरिएको नेविसंघले जनाएको छ ।
गाँजासहित पक्राउ– प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका–६ बाट १३ किलो ५ सय ग्राम गाँजासहित एक जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ३९ वर्षीया पूर्णिमाया तामाङ छिन् । घरमा गाँजा संचित गरी बिक्री वितरणको कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले घरमा लुकाई राखेको गाँजासहित उनलाई पक्राउ गरेको हो ।
विदेशका खबर– दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले दोस्रो विश्वयुद्धका समयमा जापानले यौनदाशीका रुपमा पीडित बनाएका दक्षिण कोरियाली महिलालाई राष्ट्रपतीय कार्यालयमा आमन्त्रण गरेका छन् । जापानी सेनाले यौनदाशीका रुपमा राखेर पीडित बनाएका ती महिलासँग माफी माग्न राष्ट्रपतिले उनीहरुलाई आमन्त्रण गरेका हुन् ।
उनीहरुको समस्या समाधान गर्ने विषयमा सन् २०१५ मा जापानसँग एक सम्झौता भएको थियो ।
खेल खबर– धनगढी प्रिमियर लिग (डिपिएल) को दोस्रो संस्करण आउँदो चैत १७ गतेबाट सुरु हुने भएको छ । प्रतियोगितामा ६ वटा टिम सहभागी हुनेछन् । विजेताले २५ लाख रुपैयाँ सहित उपाधी पाउने प्रतियोगितामा ६ शहरका ६ वटा टिम सहभागी हुनेछन ।
–नामिबियामा हुने आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन टु क्रिकेट प्रतियोगिताका लागि प्रारम्भिक राष्ट्रिय टोलीको घोषणा गरिएको छ । पारस खड्का नेतृत्वमा रहेको २१ सदस्यीय टोली बन्द प्रशिक्षणमा सहभागी हुनेछन् ।