
काठमाडौं, २१ पुस - स्वास्थ्यमा समस्या देखिएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि बैंकक जाने भएका छन् । उनी पुस २६ गते बेंकक जाने भएका हुन् ।
नियमित स्वास्थ्य परीक्षण गर्दै आएका ओली फलो अपका लागि बैंकक जानका लागेका उनको सचिवालयले जनाएको छ ।
मृगौला प्रत्यारोपण गरेसँगै ओली नियमित चेक जाँचका लागि बैंकक जाने गरेका छन् ।
चुनाव अघि नै फलो अपका लागि जानु पर्ने भएपनि व्यस्तताका कारण उनी उपचारका लागि जान सकेका थिएनन् । तर पछिल्लो केही दिन देखि स्वास्थ्यमा समस्या देखिएसँगै ओली घरमै आराम गरिरहेका छन् ।
ओली बैंकक जाने भएसँगै नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता प्रकृयासमेत अवरुद्ध हुने भएको छ । उनको स्वास्थ्यमा समस्या आएसँगै माओवादी केन्द्रका अध्यष प्रचण्डसँग बुधबार हुने भनिएको भेटवार्ता समेत हुन सकेको थिएन ।