
बैठकमा पहिलो वक्ताका रुपमा सांसद शिवचन्द्र चौधरीले मुलुकमा विकास निर्माणको काममा निकै सुस्त गतिमा भइरहेको गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो – “जनकपुर र काठमाडौँको विमानस्थलको टर्मिनल निर्माण एकैचोटि सुरु भएकामा काठमाडौँको सकिएको वर्षांै भइसके पनि जनकपुरको भने निर्माण कार्य सुरु पनि भएको छैन ।”
सांसद श्रीमाया थकालीले राष्ट्रपति, न्यायाधीश र सभामुख महिला भएको मुलुकमा दिनदिनै महिला हिंसाका घटना भइरहेकोतर्फ सदनको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले भन्नुभयो – “नेपालगन्जमा अनिशा खटीको महिला हिंसामा परेर ज्यान गएको छ । उक्त घटनाका दोषीमाथि कडा कारबाही होस् ।”
सांसद हरिप्रसाद नेपालले निर्वाचनसम्बन्धी विधेयक पारित भएपछि मात्रै निर्वाचन घोषणा गर्नु उपयुक्त हुने बताउँदै राज्य व्यवस्था समितिबाट त्यससम्बन्धी विधेयक छिटो पारित गराउन राजनीतिक दलले सांसदलाई निर्देशन दिन आवश्यक रहेको धारणा राख्नुभयो ।
सांसद हरिबहादुर राजवंशीले हुलाकी राजमार्गअन्तर्गतका विग्ही, कन्काई, कमलाजस्ता नदीमा अझै पनि पुल निर्माण नभएको र नदीमा तटबन्ध नबन्दा धेरै खेतीयोग्य जमिनको कटानी हुँदै आएकोतर्फ सदनको ध्यानाकर्षण गर्नुभयो । रासस